Like us!
Follow us!
Connect us!
Watch us!

विशाखापटनम बन्दरगाहमा समस्या समाधान आग्रह

मंगलबार, १८ बैशाख २०७५, ११ : २९ मा प्रकाशित

विशाखापटनम बन्दरगाहमा समस्या समाधान आग्रह

अर्थ संसार,काठमाडौ - तेस्रो मुलुकसँग वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यले नेपालले प्रयोग गर्न थालेको भारतको विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या चाँडो हल गर्न आग्रह गरिएको छ ।

कागजी प्रक्रियामा झन्झटिलो भएका कारण व्यापारमा ढिलाइ हुनाका साथै सामान छुटाउन कठिनाइ हुने तथा बढी खर्चिलो हुने समस्या देखापरेको छ । परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक र भारतको बन्दरगाहबीचमा सही सहकार्य र सहजीकरणमा समस्या आएका कारण पनि व्यापारमा कठिनाइ भएको व्यापारी तथा भारतीय अधिकारीको भनाइ छ ।

राष्ट्र बैंकले प्रतीतपत्र जारी गर्नका लागि अनुमति दिएको भए पनि त्यसलाई प्रविधियुक्त र छरितो बनाउन नसकेको र विशाखापटनममा भारतस्थित नेपाली राजदूतावासको उपस्थिति नहँुदा प्रलेखीकरणमा ढिलाइ भई सामान निश्चित समयमा छुटाउन समस्या परेको उनीहरुको गुनासो छ ।

 

        विशाखापटनम र त्यहाँको कन्टेनर कर्पोरेशन अफ इन्डियाका अधिकारीसहित वाणिज्य मन्त्रालय र इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले आज नेपाल व्यापारीसँग गरेको अन्तक्र्रियाका सहभागीबाट त्यस्तो गुनासो आएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सामान छुटाउन कम समय लाग्ने र यातायातका लागि पनि सहज हुने तथा भौतिक दूरीभन्दा पनि ढुवानी समय र लागत कम हुने भएकाले कोलकाता र हल्दियाभन्दा विशाखापटनम उपयुक्त बन्दरगाह हुने भएकाले त्यसको सदुपयोग गर्न व्यापारीलाई आग्रह गर्नुभयो ।

 

        नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केन्द्रीय बैंकले व्यापार सहजीकरण र भुक्तानीमा हुने समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा राष्ट्र बैंकबाट भएको ढिलाइ सम्बोधन गरिने बताउनुभयो ।

 

        नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले लामो छलफलपछि विशाखापटनम बन्दरगाह नेपाली व्यापारीले प्रयोग गर्न पाउनु सकारात्मक भएको बताउँदै नेपाली पक्षले त्यहाँ सम्पर्क कार्यालय सञ्चालन गर्नुपर्ने र भारतीय पक्षले पनि सहजीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोलकाता बन्दरगाहमा जस्तै विशाखापटनम बन्दरगाहमा पनि विभिन्न शुल्क लगाउन नहुनेप्रति भारतीय अधिकारीलाई ध्यानकर्षण गराउनुभयो ।

 

        विशाखापटनमका पोर्ट अथोरिटी एमटी कृष्णबाबुले अन्य बन्दरगाहभन्दा छिटो र सहज रुपमा नेपाली व्यापारीका सामग्रीलाई नेपाल पठाउन सकिने बताउँदै विशाखापटनमा सम्पर्क कार्यालय राख्न र प्रलेखीकरणलाई छरितो बनाउन आग्रह गर्नुभयो ।  कन्टेनर कर्पोरेशन अफ इन्डियाका महाप्रबन्धक यलभेन्द्र यादवले विशाखापटनबाट सामग्री आयात गर्दा पारवहन समय कम लाग्ने र  अन्य अतिरिक्त शुल्क तिर्नुपर्दैन भन्दै नेपाली व्यापारीले फाइदा लिन सक्ने बताउनुभयो । राष्ट्र बैंक, भारतस्थित नेपाली राजदूतावास र बन्दरगाहबीचमा सही सहकार्य र प्रलेखीकरण द्रुत गरिदिनुपर्नेमा उहाँको जोड थियो ।

 

        कार्यक्रममा इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका सल्लाहकार हिमाल थापाले लामो दूरी, आपूर्तिकर्ता, बैंक र भारतस्थित नेपाली दूतावास, भन्सारका कर्मचारी र बन्दरगाहका अधिकारीबीच सही सहकार्य नहुने चुनौतीपूर्ण भएको बताउनुभयो । इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले सो बन्दरगाहबाट सामान आयात गर्दा व्यापारीलाई सहज हुने भएकाले त्यसतर्फ ध्यान दिन व्यापारीलाई आग्रह गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको