Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जामन्त्री पुन र बेलायती संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

सोमबार, २४ बैशाख २०७५, १४ : २४ मा प्रकाशित

ऊर्जामन्त्री पुन र बेलायती संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

अर्थ संसार, काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग बेलायती संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । 

ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको हो । नेपालको संघीय संसद्को निमन्त्रणामा भ्रमणमा आएको बेलायती संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गर्नुभएको छ । 

भेटमा ऊर्जामन्त्री पुनले बेलायत नेपालको पुरानो विकास साझेदार मुलुक रहेको भन्दै आगामी दिनमा पनि दुवै देश बीच सुमधुर सम्बन्ध रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेलायतले नेपालको शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरेको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो । 

ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा समेत सहकार्य गर्न सरकार तयार रहेको धारणा व्यक्त गर्दै मन्त्री पुनले ऊर्जा मन्त्रालयको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना रहेको र त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । 

“अहिले हामीसँग एक हजार मेगावाट आसपासमात्रै बिजुली उत्पादन हुन्छ, तर हामीसँग एक लाख मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ । दश वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्नका लागि हामीलाई निजी क्षेत्र तथा विदेशी लगानीकर्ताको जरुरी हुन्छ” मन्त्री पुनले भन्नुभयो । उहाँले नेपालमा लगानीको वातावरण रहेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभएको थियो । 

भेटमा बेलायती सांसदहरुले नेपालको जलविद्युत्, सौर्य ऊर्जा र जलस्रोतको क्षेत्रमा सरकारी नीति र योजनाबारे चासो राख्नुभएको थियो । बेलायती सांसद निजेल इभान्सले नेपालको विकासमा बेलायत सहयोग गर्न तयार रहेको धारणा राख्नुभएको थियो । उहाँले बेलायत युरापेली संघबाट अलग भएपछि यस्ताखालका द्विपक्षीय भ्रमण अझै बढ्ने र त्यसले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने बताउनुभयो । 

भेटमा बेलायती सांसदहरुले नेपालमा बिजुलीको अवस्था, जलविद्युत्ले वातावरणमा पारेको असर र त्यसको रोकथामका लागि सरकारले अघि सारेका कदमहरुका बारेमा समेत चासो राख्नुभएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको