Like us!
Follow us!
Connect us!
Watch us!

सिंहदरबारमा ऊर्जा मन्त्री पुनले भने -‘बुढीगण्डकीको ठेक्का प्रक्रिया सुरु हुन्छ ’

बुधबार, २६ बैशाख २०७५, ०८ : ५६ मा प्रकाशित

सिंहदरबारमा ऊर्जा मन्त्री पुनले भने -‘बुढीगण्डकीको ठेक्का प्रक्रिया सुरु हुन्छ ’

अर्थ संसार, काठमाडौँ–सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु गर्दै आगामी आर्थिक वर्ष २०७५/७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ ।

लामो समयदेखि आयोजना कसरी निर्माण गर्ने भन्ने बारेमा अन्यौल रहेको बेला सरकारले ठेकेदार छनौट गर्ने तयारी गरेको जनाएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भन्नुभयो ‘ आगामी आवमा नै आयोजनाको निर्माण प्रक्रिया सुरु गर्ने गरी आवश्यक तयारी गरिएको छ ।’ कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना पूवर्तवती सरकारले नेपाली लगानीमा नै निर्माण गर्ने निर्णय गरेको थियो ।

आयोजनालाई लगानी योग्य बनाउन करिब रु एब खर्ब अनुदान दिने निर्णय समेत पूर्ववर्ती सरकारले गरेको थियो ।

आयोजनाको लागि चालु आवमा रु १० अर्ब बजेट विनियोजन गरिएकोमा त्यसबाट स्थानीय प्रभावितलाई मुआब्जा वितरण लगायतको काम जारी रहेको छ । यस्तै नेपाल आयल निगमले आयोजनाका लागि भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार करबाट हालसम्म र १८ अर्ब रकम जम्मा भइसकेको छ ।

आयोजनाको कूल लागत रु दुई खर्ब ७३ अर्ब रहेको छ । पत्रकार सम्मेलनमा मन्त्री पुनले आयोजना अरु कुनै विदेशी कम्पनी वा निकायलाई दिने बारे आफूले कुनै निर्णय नगर्ने बताउनुभयो ।

‘ नेपाल सरकारले नै आयोजना निर्माण गर्छ । त्यसको लागि आवश्यक तयारी भइरहेको छ । त्यसकारण अनावश्यक शंका वा आशंका नगर्न म सबैलाई आग्रह गर्दछु’ मन्त्री पुनले भन्नुभयो ।

आयोजनाबाट धादिङ र गोरखाका साविक २७ गाविस प्रभावित हुनेछन् । धेरै जसो प्रभावित क्षेत्रको मुआब्जाका बारेमा निर्णय भएपनि धादिङको खहरे बजार र गोरखाको आरुघाट बजारको भने हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन । ती स्थानको शिघ्र मुआब्ज निर्धारण तथा अन्य क्षेत्रको मुआब्जा वितरण प्रक्रिया अगाडि बढाउन माग गर्दै स्थानीयले आग्रह गर्दै आएका छन् ।

मुआब्जा पनि नपाउने र भूकम्पका कारण भत्किएका भवन तथा आवास समेत निर्माण गर्न नपाउने दोहोरो चपेटामा आयोजना प्रभावित रहेका छन् । सरकारले आगामी आवका लागि सो आयोजनामा रु १८ अर्ब बजेट उपलब्ध गराउने प्रस्ताव गरेको जनाइएको छ ।  मन्त्री पुनले आयोजना तयारी अवस्थामा रहेकाले निर्माण सुरु गरिने विश्वास दिलाउनुभयो ।

विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको आयोजना भएकाले पनि निर्माण सुरु गरिहाल्न कुनै समस्या नभएको मन्त्रालयको भनाइ छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको परियोजनामा राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको