Like us!
Follow us!
Connect us!
Watch us!

दिलबहादुरको जीवन रक्षाका लागि आर्थिक सहयोग अभियान सुरु

बुधबार, २६ बैशाख २०७५, १८ : ३९ मा प्रकाशित

दिलबहादुरको जीवन रक्षाका लागि आर्थिक सहयोग अभियान सुरु

अर्थ संसार, काठमाडौं अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन उपराष्ट्रपति पुत्र दिपेश पुनको नेतृत्वमा आर्थिक सहयोग संकलन सुरु भएको छ ।

दिपेशको नेतृत्वमा गठित ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर आर्थिक संकलन अभियान शुरु भएको घोषणा गर्दै सहयोगका लागि सबैसँग अपील गरेको छ ।

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुईवर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैया क्षतिपूर्ति दिन फैसला गरेको छ ।

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक दिपेश पुनले दिलबहादुरको परिवारको आर्थिक अवस्था कम्जोर रहेकाले उनको जीवन रक्षाका लागि आफूहरुले अभियान सुरु गरेको बताए । ‘परिवारका मान्छे ढुक्क हुनुस्, हामी दिलबहादुरको जीवन रक्षा गरेर नेपाल फर्काउने छौँ, यसका लागि आजैबाट अभियान सुरु भयो,’ उनले भने, ‘म देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरुलाई दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्न अपील गर्दछु ।’

पत्रकार सम्मेलनमा दिलबहादुरकी पत्नी मनिका बुढाले आफ्नो श्रीमानको जीवन रक्षाका लागि सहयोग गर्न सबैसँग अपील गरिन् । ‘मेरो श्रीमान बचाउन सक्ने मेरो हैसियत छैन, सबैको सहयोगले मात्रै उहाँ बच्न सक्नुहुन्छ’, उनले भनिन्, ‘म सबैसँग सहयोग माग्छु ।’

नेपाल मगर संघका अध्यक्ष तथा जनजाति महासंघका उपाध्यक्ष नवीन रोकामगरले मगर संघ र जनजाति महासंघका सबै शाखाहरुलाई सहयोगका लागि निर्देशन दिए । रिपोर्टस् क्लवका अध्यक्ष ऋषि धमलाले दिलबहादुरको जीवन रक्षाका लागि आफूले पूर्ण सहयोग गर्ने बताए ।

अभियानले सहयोगका लागि बैंक खातासमेत सार्वजनिक गरेको छ । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढामगरको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंक, बालाजु शाखामा ११९००२८६०७१० नं। को खाता खोलिएको अभियानले जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको