Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुली महोत्सव ऐतिहासिक बनाउन लागिरहेका छौं

विहीबार, ०७ पुस २०७३, ११ : ४७ मा प्रकाशित

सिन्धुली महोत्सव ऐतिहासिक बनाउन लागिरहेका छौं

सिन्धुली उद्योग बाणिज्य सँघले आज (बिहीबार) देखि सिन्धुलीमाढीमा सिन्धुली महोत्सवको आयोजना गरिरहेको छ । आगामी १० दिनसम्म चल्ने महोत्सवको संयोजन उद्योग बाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठ गरिरहेका छन् । सिन्धुलीका लगनशिल युवा व्यवसायी  श्रेष्ठ लामो समयदेखि सिन्धुलीमाढीमा ब्यवसाय गर्दै ब्यवसायीको नेतृत्व गर्दै आएका छन् ।

उनी २०५७ सालमा उद्योग बाणिज्य संघ सिन्धुलीको सदस्य बनेका थिए । पौरखि, मिहेनती, इमान्दार र मिलनसार स्वभावका श्रेष्ठ २०६७ सालमा उद्योग बाणिज्य संघको उपाध्यक्षमा चयन भए । त्यसपछि २०७२ सालमा भएको अधिवेसनबाट उनी सिन्धुली उद्योग वाणिज्य संघको १३ औं अध्यक्षमा चयन भएका हुन् ।

उद्योग वाणिज्य संघको अगुवाईमा  हुने सिन्धुली महोत्सव–२०७३ को तयारीमा उनी लामो समयदेखि खटिरहेका छन । महोत्सवको आयोजना, उपलब्धि, सिन्धुलीको विकाससंग महोत्सवको सम्वन्ध लगायत अन्य विषयमा अध्यक्ष श्रेष्ठसँग नानिवावु अधिकारीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

महोत्सव सञ्चालन गर्न केके तयारी गर्नुभएको छ ?

सिन्धुलीको इतिहासमा यो चौथो महोत्सव हो । अहिलेसम्म महोत्सव सञ्चालनका लागि मुल आयोजक समिति, विभिन्न उपसमिति गठन भएर आ–आफ्नो जिम्मेवारी अनुरुप काम अघि बढिरहेको छ । महोत्सव स्थलमा भौतिक निर्माणको काम पूरा भएको छ । यसका साथै प्रचारप्रसार, स्टल बुकिङ, कलाकारहरुसँगको सम्झौता, पर्यटनसम्बन्धी कामहरु  टुङ्गो लागिसकेको छ । साथै महोत्वलाई भव्य र सभ्य बनाउन आवश्यक कामहरु सम्बन्धित क्षेत्रका प्रमुखहरुसंग हातेमालो गर्दै अघि बढेका छौं ।

महोत्सव केको लागि आयोजना गर्नुभयो ? यसको मुख्य उद्देश्य के हो ?

 विशेषगरी महोत्सव यस क्षेत्रको आर्थिक क्रियाकलाप, पर्यटनको प्रबर्धन, स्थानीय उत्पादनको प्रबर्धनका लागि नै हुने गर्दछ । महोत्सव सञ्चालनसँग आर्थिक पाटो पनि जोडिएको हुन्छ । कला सस्कृति तथा धार्मिक पहिचान झल्कने प्रदर्शनीका साथै सिन्धुलीलाई व्यवस्थित र विकसित वनाउन पनि महोत्सवको आयोजना गरिएको हो । स्थानीय उत्पादनको प्रर्वद्धन गर्न, स्थानीय कलाकारहरुलाई राष्ट्रिय स्तरसम्म पुग्न सहयोग पुर्याउन, महोत्सवले जिल्लाको विकासका लागि लगानीकर्ताहरुको ध्यान केन्द्रित गर्नुका साथै यहाँका पर्यटकीय स्थलहरुको पनि व्यापक प्रचारप्रसार गर्ने छ । विपि राजमार्ग निर्माणपछि केन्द्र वनेको सिन्धुलीलाई विकासको गतिमा लैजान टेवा पुर्याउने अपेक्षासहित महोत्सवको आयोजना गरिएको हो ।

महोत्सव पहिले पनि भएका थिए। पहिलेको र अहिलेको महोत्सवमा फरक के छ ?

यस बर्षको महोत्सवले सिन्धुली जिल्लालाई घुमफिर बर्षको रुपमा मनाउन सहयोग पुग्नेछ । यस बर्ष नेपाल सरकारले घोषणा गरेको घुमफिर बर्ष पनि परेकाले सम्बृद्ध सिन्धुली र उद्योग वाणिज्य संघ सिन्धुलीको सम्मन्वयमा ‘जाउँ है सिन्धुली’ भन्ने कार्यक्रम पनि सञ्चालन हुने छ । विगतका बर्षहरुमा भन्दा यो वर्षको महोत्सब धेरै भिन्न रहने छ । हामी घुमफिर बर्षलाई सदुपयोग गर्दै सिन्धुलीका ऐतिहासिक स्थल, धार्मीक स्थललगायत जिल्लाका महत्वपूर्ण स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने छ । यस महोत्सवमा उँट, संसारकै अग्लो चरा अष्ट्रिचलगायत यस महोत्सवमा आर्कषक रहनेछन् । कलाकारहरु पनि यस बर्ष धेरै नयाँ रहनेछन् । स्थानीय कलाकारहरुलाई विषेश प्राथामिकता दिईने छ ।

महोत्सवको आयोजना र यसको मूल उद्देश्यका बारेमा स्थानिय निकायसँग छलफल गरेरै यसले अन्तिम रुप पाएको हो । महोत्सवबाट भएको नाफाले सिन्धुली उद्योग वाणिज्य संघले व्यक्तिगत रुपमा कुनै पनि काम नगर्ने र स्थानिय निकाय तथा सरोकारवालाहरुसँगको समन्वय तथा सहमतिबाट कुनै उदाहरणिय काम गर्ने कुरा हामीले सार्वजनिक गरिसकेका छौँ ।

कति मानिसहरु महोत्सव अवलोकनका लागि आउँछन भन्ने अनुमान छ ?

एक लाखदेखि सवा लाखभन्दा बढीले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरेका छौं । अपेक्षा गरेअनुरुप नै तयारी र व्यवस्थापन गरिरहेका छौ ।

योभन्दा अगाडीको महोत्सवमा उठेको रकम केमा प्रयोग भयो ?

अहिलेसम्म सिन्धुलीमा तीन वटा महोत्सव सम्पन्न भैसकेका छन् । तर ती महोत्सवहरु घाटामा चलेका थिए । उठेको रकम व्यवस्थापनमै खर्च हुने गरेको थियो । महोत्सव विगतमा घाटामा चलेको भएता पनि यस बर्ष महोत्सव नाफामा हुनेमा म विश्वस्त छु ।

अहिले महोत्सवमा कतिसम्म रकम उठ्ने अनुमान गर्नुभएको छ ?

 महोत्सव भन्ने बित्तिकै रकमको बचत मात्रै नभएर यस क्षेत्रकै आर्थिक क्रियाकलापको बृद्धि, यस क्षेत्रमा रहेका पर्यटकीय स्थानहरुको प्रबर्धन, स्थानीय उद्यमीहरुबाट उत्पादित बस्तुहरुको प्रबर्धन लगायतका कुराहरु बुझ्न जरुरी ठानेका छौं । यस बर्षको महोत्सवमा ५ करोडको कारोबार हुने हामीले अनुमान गरेका छौ । महोत्सवमा ६७ लाख उद्योग वाणिज्य संघले कमाउने छ । यसमा ५७ लाख ब्यवस्थान गर्न विभिन्न शिर्षकमा खर्च भई १० लाखभन्दा बढी रकम बचत हुने अपेक्षा गरेका छौ ।

बचत भएको पैसा के गर्ने योजनामा हुनुहुन्छ ?

यस बर्ष हामी १० लाखभन्दा बढी रकम बचत हुनेमा विश्वस्त छौ । वचत भएको पैसाले सिन्धुलीमा रहेको खम्वे चौरीलाई सदुपयोग गरेर आधुनिक खेल मैदान वनाउने पक्षमा हामी छौ । वचत भएको पैसामा जिल्ला विकास समिति सिन्धुली, कमलामाई नगरपालिकालगायतको सहयोगमा खेल मैदान आवश्यक भएकाले निमार्ण गरिनु पर्छ भन्ने हाम्रो सोच हो । यसमा राजनैतिक दललगायत सरोकारवाला निकायहरुसँगको समन्वयमा लगानी गरिने छ । खेल मैदानको विकल्पको रुपमा सिन्धुलीमा सभाहल आवश्यक भएकाले आधुनिक सभाहल वनाउन पनि हामी पहल गर्ने छौ । जे वनाए पनि जिल्लाको पहिचान झल्कने गरि भौतिक संरचना निमार्ण गर्नुपर्छ भन्ने पक्षमा हामी रहेका छौ ।

मेलाको मुख्य आकर्षण केके छन ?

महोत्सवमा स्थानीय एवं केन्द्रीय कलाकारहरुको प्रस्तुती, बाल उद्यानमा नयाँ खेलहरु पनि रहनेछन् । विशेषत सिन्धुलीका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरुको अवलोकन नै मुख्य आकर्षणका रुपमा रहेका छन । यसका साथ साथै सिन्धुलीमा उँट, अष्ट्रिज चरा नै मुख्य आर्कषण रहने छन् ।

महोत्सवमा स्थानीय कलाकारलाई प्राथकिता राख्नुभएको छ कि राष्ट्रिय कलाकारलाई ?

 महोत्सवमा हामीले स्थानीय कलाकार र राष्ट्रिय कलाकारहरुलाई समानरुपमा प्राथमिकतामा राख्ने छौं । विषेशत यस बर्षको महोत्सवमा स्थानीय कलाकारहरुको बढी सहभागिता रहने छ । किनकी हामिले स्थानीय कलाकारहरुको कलालाई सम्मान गर्न एउटा फारम भर्न आह्वान गरेका थियौ । स्थानीय कलाकारहरुले अपेक्षा गरेभन्दा बढी फारम भरिसक्नु भएको छ । महोत्सवका लागि २१ टिम दर्ता भैसकेका छन् । प्रतियोगिता हुने भएकाले पहिलो हुने टिमलाई २५ हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १५ हजार र सानत्वना हुने दुई जनालाई ५÷५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

महोत्सवमा उठेको रकम कलाकारलाई दिएर सकेको खबर पटकपटक आउँछ यसपटक पनि त्यस्तै त हुँदैन ?

महोत्सवमा कलाकारहरुको प्रस्तुतिका लागि हामीले यसपटक प्याकेज सहितको सम्झौता गरेका छौं । यसले विगतमा  भएका गल्ती, कमिकमरीहरुलाई सच्याउनेमा हामी बिश्वस्त छौं । कलाकारहरु आउने जाने गाडी भाडा, खाना र उहाँहरुको पारिश्रमिकसहितको प्याकेज हामीले लागू गराउँदै छौं ।  कलाकारहरुलाई एक मुष्ट सहमति भएअनुसारको रकम उपलब्ध गराउने छौ । यसबाट विगतका महोत्सवमा हुने अनावश्यक खर्च कटौति हुने छ ।

सिन्धुलीमा धेरै महोत्सव भए तर जनतालाई प्रभाव पर्ने फाइदा केही भएको छ, छैन ?

    महोत्सवको विषयमा भन्नु पर्दा उद्योग वाणिज्य संघहरुले आयोजना गर्ने महोत्सव विशेष गरी आर्थिक क्रियाकलापलाई नै मुख्य जोड दिने गरिन्छ । यसका अलावा यस क्षेत्रका नव प्रतिभाहरुको उजागर गर्ने बिभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी पर्यटकहरुको आगमनलाई व्यापक बनाई यस क्षेत्रको आर्थिक क्रियाकलाप बृद्धि गरी यस क्षेत्रका नागरिकहरुको जीवनस्तरमा केही न केही यस महोत्सवले टेवा पुर्याईउनेमा हामी बिश्वस्त छौं ।

अन्तमा केहि भन्नु छ कि ?

यही पुष ७ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको महोत्सवमा सम्पूर्णलाई चुले निम्तो गर्न चाहन्छौं । यो महोत्सव सिन्धुली उद्योग वाणिज्य संघको मात्रै नभएर हामी सम्पूर्ण सिन्धुलीवासीहरुको भएकाले यसलाई भव्य र सभ्य बनाउन आ–आफ्नो क्षेत्रबाट योगदानका लागि हामी आह्वान गर्दछौं ।सिन्धुलीमा जन्मनु भएर कलाकारिता क्षेत्रमा लाग्नु भएका राष्ट्रिय स्तरका कलाकारहरुलाई सिन्धुली महोत्सवमा आउन आग्रह गर्दछौ ।

सवै कलाकारहरुलाई निमन्त्रणा गरिसकका छौं । यदी कोही छुट्नु भएमा महोत्सवमा आउनु हुन अनुरोध छ ।सिन्धुलीका उद्यमी, व्यवसायि बुद्धिजिवि एवं सिन्धुलीबासिलाई सिन्धुली महोत्सव २०७३ साल पुष ७ गते देखी १८ गते सम्म हुने जानकारी गराउद छु । सवै नागरिकलाई चुले निम्तो गर्न चाहन्छु । सिन्धुली महोत्सवलाई प्रचार प्रसार गर्न, थप व्यवस्थित गर्न अवसर दिनु भएकोमा धन्यवाद ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको