अर्थ संसार, काठमाडौं– चालु आवको आठ महिनामा कूल १३ हजार ५९ जनालाई सीप विकास तालीम प्रदान गरिएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आइतबार संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणमा तीन हजार ५०९ महिला र नौ हजार ५५० पुरुषलाई व्यावसायिक तालीम उपलब्ध गराइएको उल्लेख छ । आव २०७३/७४ मा तालीम लिनेको कूल संख्या २० हजार ६६ थियो ।
देशमा रोजागारीको अवसर पर्याप्त नभएका कारण वैदेशिक रोजगारको आकर्षण बढेको पाइएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष ७४.५ प्रतिशत रहेका छन् । संस्थागतरुपमा ११० वटा देशलाई वैदेशिक रोजगारीका लागि खुला गरिएको जनाइएको छ । चालु आवमा जोर्डनसँग आप्रवासन श्रमसम्बन्धी सम्झौता भएको छ ।
पछिल्लो श्रमशक्ति सर्भेक्षणअनुसार नेपालमा बेरोजगारी दर २.३ प्रतिशत र अर्धबेरोजगारी दर ३० प्रतिशत रहेको अनुमान गरिएको छ । हाल दैनिक करीब एक हजार युवा वैदेशिक रोजगारीका सिलसिलामा विदेशिने गरेका छन् ।
आव २०७३/७४ मा एक हजार २४५ गैरनेपाली नागरिकलाई श्रम स्वीकृति प्रदान गरिएकामा चालु आवको आठ महिनामा एक हजार ३५ लाई स्वीकृति दिइएको छ ।
त्यस्तै वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमुखीकरण तालीम दिने १५८ संस्था रहेकमा काठमाडौँ उपत्यकामा मात्र सो संख्या ११६ छन् ।
आव २०७३/७४ मा ५७१ जनाको श्रम स्वीकृति नवीकरण गरिएकामा चालु आवको आठ महिनामा ५८८ जनालाई नवीकरण गरिएको छ । वैदेशिक रोजगारसँग सम्बन्धित आर्थिक कारोबार गर्ने प्रयोजनका लागि हालसम्म आठ वटा बैंक विद्युतीय प्रणालीमा आबद्ध भएका छन् । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्या २३४ पुगेको छ ।
आव २०७३/७४ सम्ममा वैदेशिक रोजगारमा जानेको संख्या ४० लाख तीन हजार ४७४ पुगेको छ, यसमध्ये ३८ लाख २८ हजार १७२ पुरुष र एक लाख ७५ हजार ३०२ महिला छन् ।
त्यसैगरी चालु आवमा मलेसिया र खाडी मुलुकमा १० वटा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्नका साथै विदेशमा मृत्यु भएका श्रमिकको क्षति क्षतिपूर्ति दाबीका लागि कानूनी र प्रक्रियागत सहजीकरण भएको छ ।
गत आवमा वैदेशिक रोजगारका क्रममा विदेशमा निधन भएका ७५५ जना मृतकका परिवारलाई आर्थिक सहायता रकम उपलब्ध गराइएकामा चालु आवको प्रथम आठ महिनासम्म सो संख्या ५५२ रहेको छ ।
गत आवमा विदेशमा बिरामी तथा अंगभंग भएका कामदारको संख्या २०६ रहेकामा चालु आवको प्रथम आठ महिनासम्म सो संख्या २२४ पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस