Like us!
Follow us!
Connect us!
Watch us!

मस्र्याङदी करिडोरको विद्युत् खेर जान नदिन प्राधिकरण क्रियाशिल

सोमबार, १४ जेठ २०७५, २० : ०३ मा प्रकाशित

मस्र्याङदी करिडोरको विद्युत् खेर जान नदिन प्राधिकरण क्रियाशिल

रमेश लम्साल

अर्थ संसार – नेपाल विद्युत प्राधिकरणले मस्र्याङदी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले उत्पादन गर्ने एक युनिट पनि विद्युत खेर जान नदिने गरी तयारी गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएका भन्दै सो अवधिमा सव स्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्रतिवद्धता जनाउनु भएको छ ।

उहाँले प्रसारण लाइन तथा सव स्टेसनको काम द्रुत गतिमा अघि बढाउन प्रसारण लाइन आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ ।  

‘दोर्दी करिडोरमा निर्माणाधीन आयोजना सम्पन्न हुने तर प्रसारण लाइन नबनाइदिंदा विद्युत खेर जाने अवस्था रहेको गुनासो थियो, तर ती आयोजनाको निर्माण प्रगति हेर्दा त्यस्तो अवस्था नरहेको देखियो’,उहाँले  भन्नुभयो ‘ती आयोजनाभन्दा पहिले प्रसारण लाइन बनाउँछौ, प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन दिंदैनौं ।’

प्राधिकरणले प्रसारण लाइन समयमा नबनाइदिंदा विद्युत खेर जाने अवस्था आउन लागेको भन्दै निजी उत्पादकले आलोचना गरेपछि घिसिङ नेतृत्वको टोली निर्माणाधीन प्रसारण र जलविद्युत आयोजनाको अवस्था बुझ्न स्थलगत निरीक्षणमा गएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधान गर्न निर्देशन दिनु भएपछि कार्यकारी घिसिङ आयोजनाको अवस्था बुझ्न शनिबार र आइतबार स्थलगत निरीक्षणमा जानु भएको हो ।  

टोलीले लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा निर्माणाधीन सव स्टेसनको निरीक्षण गरेको थियो ।

यसैगरी, हिमालय पावर पार्टनरले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख र वुटवल पावर कम्पनीको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निरीक्षण गरेको थियो ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । सो प्रसारण लाइन आगामी  १८ महिनाभित्र भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले टावरको डिजाइन भइरहेको आयोजनाले जनाएको छ ।

कीर्तिपुरमा सव स्टेसन निर्माण हुने ४८ रोपनी जग्गामा २५ मेगावाटको माथिल्लो दोर्दी एले विद्युत गृह बनाउने ठाउँ खन्दा निक्लिएको ढुंगा माटो फालिदिएकाले प्राधिकरणले काम सुरु गर्न सकिरहेको छैन । यही कारण ठेकेदारलाई निर्माण स्थल उपलब्ध गराउन सकिएको छैन ।

‘सव स्टेसन बन्ने जग्गामा ढुंगा माटो फालेर हामीलाई काम गर्न नदिने अनि उल्टै प्राधिकरणले प्रसारण लाइन बनाइदिएन, विजुली खेर जाने भो भन्दै हल्ला गर्ने ?’घिसिङले आयोजनालाई निर्देशन दिंदै भने,‘तत्काल त्यसलाई हटाउनुहोस् नत्र तपार्इंहरुका कारण कति दिन काम ढिला हुन्छ गणना गरी जरिवाना तिराउँछौ ।’

माथिल्लो दोर्दी ए को प्रवद्र्धक कम्पनीका प्रवन्ध सञ्चालक डा.आत्माराम घिमिरे र सञ्चालक राम बहादुर पाण्डेले दुई महिनाभित्र ढुंगा माटो हटाउने प्रतिद्धता जनाउनु भएको छ । सो  आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत रहेको जानकारी दिंदै घिमिरेले  सन् २०१८ को अन्त्यसम्म आयोजना निर्माण सम्पन्न हुने दावी गर्नुभयो ।  

प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार आयोजनाको व्यावासायिकरुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति भने  अगस्ट २०१९ रहेको छ ।

हिमालय पावर पार्टनरका कार्यकारी निर्देशक गुरु ढकालले आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको जानकारी दिनुभयो । सम्झौता अनुसार, आयोजनाको विद्युत् उत्पादन मिति अगस्ट २०१९ नै रहेको छ ।

प्राधिकरणका प्रवक्ता एवं विद्युत ब्यापार विभाग प्रमुख प्रबल अधिकारीले स्थलगत निरीक्षणपछि दुवै आयोजनाको काम सक्न कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको बताउनुभयो ।  

दोर्दी करिडोरमा निर्माण भइरहेका आयोजनाको विद्युत प्रवाह गर्न उदिपुरमा सव स्टेसन निर्माण गर्नुपर्नेछ । सव स्टेसन निर्माणका लागि तीन महिनाभित्रमा ठेकेदार छनोट भइसक्ने आयोजनाले जनाएको छ ।

उदिपुर–मार्किचोक–भरतपुर प्रसारण लाइन निर्माणका लागि जनबरी २०१८बाट ठेक्का कार्यान्वयनमा गइसकेको छ ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको