अर्थ संसार, काठमाडौँ– गत वर्ष भन्दा चालु आर्थिक वर्षको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ ।
सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ मेगावाट विद्युत् उत्पादन भएको उल्लेख गरेको छ । आर्थिक वर्ष २०७३÷७४ को सोही अवधिमा कमूल १०५.३ मेगावाट विद्युत् उत्पादन गरेको थियो ।
गत वर्ष भन्दा यस वर्ष विद्युत् उत्पादन बढी हुनुपर्ने भएपनि यस वर्ष जलविद्युत् आयोजना तोकिएको समयमा सम्पन्न हुन नसक्दा उत्पादनमा कमी आएको हो ।
गत वर्ष माथिल्लो मस्र्याङदी ए बाट ५० मेगावाट र अन्य आयोजनाबाट ५५.३ मेगावाट विद्युत् उत्पादन भएको थियो ।
गत वर्ष ज्याग्दी खोला दुई मेगावाट, ठुंगन– ठोस्ने ४.३६ मेगावाट, दरौदी खोला ६ मेगावाट, खानी खोला दुई मेगावाट, मिया खोला एक मेगावाट, माथिल्लो मोदी २५ मेगावाट र हेवा खोला ए १४.९ मेगावाट सम्पन्न भएको थियो ।
चालु आवको आठ महिनामा भने अपर माई सि ५.१ मेगावाट, ढुंगे जिरी ०ं६ मेगावाट, सभा खोला चार मेगावाट, पुवा खोला चार मेगावाट, फावाखोला पाँच मेगावाट, थापा खोला १३.६ मेगावाट। सर्दिखोला चार मेगावाट, चाकेखोला २.८ मेगावाट, मिदिमखोला तीन मेगावाट, स्यौरीभूमि ०.२ मेगावाट र चमेलिा ३० मेगावाट गरी कूल ७२.१ मेगावाट क्षमताका आयोजना मात्रै सम्पन्न भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनी मार्फत सरकारको समेत लगानी रहेका ७१० मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् ।
२९२ किलोमिटर प्रसारण लाइन थप
गत वर्षको आठ महिना भन्दा चालु आवको आठ महिनामा २९२ किलोमिटर प्रसारण लाइन थप भएको छ । गत वर्ष विद्युत् प्रसारण लाइन तीन हजार २०४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएकोमा यस वर्षको आठ महिनामा तीन हजार ४९६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा विद्युत् प्रसारण लाइन दुई हजार ८४८ सर्कट किलोमिटर रहेको थियो । प्रसारण लाइन निर्माणमा जोड दिएको बताएपनि वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जा वितरणमा देखिएको समस्या तथा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन नसकेको हो । प्राधिकरणले प्रसारण लाइन निर्माणमा विशेष जोड दिएको बताएपनि रणनीतिक महत्वका ४५ प्रसारण लाइन निर्माणमा गति पैदा हुन सकेको छैन ।
अधिकाशं प्रसारण लाइनमा समस्या देखिएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा जग्गा प्राप्तिमा रहेको समस्याका कारण प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन नसकेको हो ।
विद्युत्का ग्राहक ६ लाखले बढे
दुई वर्षको अवधिमा विद्युत् ग्राहकको संख्यामा ६ लाखले बढोत्तरी भएको छ । आव २०७२/७३ मा २९ लाख ६९ हजार ५७६ बाट ५.१ प्रतिशतले बढेर गत आवमा ३१ लाख २१ हजार ९०२ पुगेको थियो भने चालु आवको आठ महिनामा ३५ लाख ९२ हजार पुगेको छ ।
प्रत्येक वर्ष विद्युत्को ग्राहक बढ्दै गएकाले नेपाल भर नै विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य पूरा गर्न थप सहज हुने भएको छ । ग्रामीण क्षेत्रका कूल १० घर मध्ये तीन घरमा अझै पनि ऊर्जाको पहुँच नपुगेको सन्दर्भमा ती क्षेत्रका नागरिकलाई सहज विद्युत् आपूर्तिका लागि सरकारले अझै मेहनत गर्नुपर्ने देखिएको छ । ऊर्जा मन्त्रालयले केही समय पहिले सार्वजनिक गरेको श्वेतपत्रमा आगामी पाँच वर्षभित्रै विद्युत् सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस