Like us!
Follow us!
Connect us!
Watch us!

नारायणगढ–मुग्लिन सडकको तीनमध्ये एक खण्डको काम सकियो

बुधबार, १६ जेठ २०७५, १९ : २९ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडकको तीनमध्ये एक खण्डको काम सकियो

अर्थ संसार, चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सकिएको छ । पाचौं पटक थपिएको मिति बुधबार सम्पन्न भए पनि बाँकी दुई खण्डको काम भने सकिएको छैन ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०।७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको छ ।

सो सडकको काम हाल सम्पन्न भए पनि एक वर्षसम्म भत्के बिग्रिएमा हेर्नुपर्ने भएकाले बजेटको हिसाबले शतप्रतिशत सम्पन्न भएको देखिदैन ।

खनालका अनुसार आँपटारीदेखि दासढुंगासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।

यसमध्ये बीचको खण्ड उडहिल लामा जेभीले काम सम्पन्न गरेको हो । उसले ९७ प्रतिशत काम सम्पन्न गरेको छ भने पहिलो खण्ड बिएलए श्रेष्ठ जेभीले ८९।६ प्रतिशत र तेस्रो खण्ड सुप्रिम रौताहा जेभीले ८४ प्रतिशत काम सम्पन्न गरेका छन् । समग्रमा ८९।८ प्रतिशत काम सम्पन्न भएको खनालले बताए ।

सो सडकको पाँचौँ पटक थप गरिएको मिति पहिलो खण्डको मे १०, दोस्रो खण्डको मे २० र तेस्रो खण्डको मे ३० मा सम्पन्न भएको छ । पुनः मिति थपका लागि तीनवटै कम्पनीले परामर्शदाता कम्पनीलाई आग्रह गरिसकेका छन् । हाल सो सडकको ४५० मिटरबाहेक अन्यत्र एक तह र कतिपय तेस्रो तहको कालोपत्रको काम सम्पन्न भएको छ ।

सो सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार तेस्रो खण्डको चेपाङ डाँडामा बुधबार साँझसम्ममा भित्तो काट्ने काम सकिन्छ भने दुई दिनमा कालोपत्रको पहिलो तह सम्पन्न हुने बताए ।

तेस्रो खण्डकै एङ्कर वाल उठाउने काम बाँकी रहेकाले झण्डै तीन हप्ता सो कामका लागि समय लाग्ने अनुमान गरिएको छ । सो सडक हेर्दै आएका प्रविधिज्ञले असार मसान्तसम्ममा अन्य दुई खण्ड पनि सम्पन्न हुने अनुमान गरेका छन् । चाँडै वर्षात् भएकाले काममा केही ढिलाइ भएको जनाइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको