अर्थ संसार, काठमाडौं– गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो ।
गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रहेको छ । विगतमा गुरुखोलादेखि खालसम्म सडकको सर्वे भएको र त्यतिबेला सर्वे भएका अरु ठाउँमा सडक पुगे पनि आफ्नो गाउँमा सडक नपुग्दा अनशन बसेको उहाँले भन्नुभयो ।
“सडकका लागि विनियोजन भएको रकम अन्यत्रै रकमान्तरण गरिन लागेको सुन्नमा आएकाले अनशन बसेको हुँ”, उहाँले बताउनुभयो । उता गुरुखोलादेखि खालसम्मको सडक निर्माण गर्न रु १४ लाख ५० हजार विनियोजन गरिएको र स्थानीयले जग्गा दिन नमानेपछि सडक खन्न शुरु नभएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनप्रसाद भट्टले बताउनुभयो ।
रकम विनियोजन भएको १० महिना बितिसकेको र पटकपटक जग्गावालासँग छलफल गर्दासमेत उनीहरू सडक खन्न सहमत नभएका कारण सडक निर्माण कार्य अगाडि बढ्न नसकेको हो, उहाँले भन्नुभयो ।
“अझै पनि जग्गावाला जग्गा दिन सहमत भएमा सडक निर्माण कार्य अगाडि बढाइनेछ”, उहाँ भन्नुहुन्छ । यता अनशनरत वृद्धले भने सडक निर्माण कार्य शुरु नहुँदासम्म अनशन जारी राख्ने बताउनुभएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस