अर्थ संसार, दाङ - प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखोलामा निर्माण शुरु भएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम ४० प्रतिशत सम्पन्न भएको छ ।
चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको आयोजनाको साढे ५ किलोमिटर लामो सुरुङको काम सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकारी गणेश श्रेष्ठले जानकारी दिए।
नेपालमा पहिलो पटक टीबीएम मेशिनले सुरुङ मार्ग निर्माण गरिँदै आएको छ । नेपालमै पहिलो र नयाँ प्रविधिबाट निर्माण शुरु भएको सुरुङ मार्गमा प्रत्येक दिन ३० मिटर सुरुङ खन्ने काम भइरहेको श्रेष्ठले बताए। टनेलिङ प्रविधिबाट सुरुङ निर्माण भइरहेको छ ।
अमेरिकाबाट ल्याइएको सो मेशिनको प्रयोगले सुरुङ निर्माण गरिँदैछ । १२ किलोमिटर लामो सो सुरुङ सुर्खेतको भेरी गंगा नगरपालिकाको चिम्लेस्थित भेरी नदीसम्म निर्माण हुनेछ ।
“यही गतिमा काम भए अबको ६ महिनामै सुरुङ मार्ग निर्माण सम्पन्न हुन्छ,” जनसम्पर्क अधिकारी श्रेष्ठले भने । ४८ मेगावाट विद्युत् उत्पादन तथा बाँके– बर्दियाको ५१ हजार जमीनमा सिँचाइ गर्ने उद्देश्यले २०७१ माघदेखि सो आयोजना शुरु भएको थियो ।
१० अर्ब ५६ करोड रुपैयाँ भन्दा बढीको लगानीमा शुरु भएको उक्त आयोजना २०७५ फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल सुरुङ मार्ग निर्माणमा ८० चीनियाँ प्राविधिक र ५५० स्थानीयवासी संलग्न छन् ।
एउटा कामदारले मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् । नेपालमै नौलो प्रविधिबाट सुरुङ निर्माण भइरहेकाले दैनिक अवलोन गर्न आउनेको संख्या बढ्दै गएको छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस