अर्थ संसार, काठमाडौँ- शुक्रवार रातिदेखि हिले वर्षा भएको छ । धूलोको कणका कारण वर्षाको पानी हिलो तथा पहेँलो रङको देखिएकाले सर्वसाधारण आत्तिएका छन् । मौसमविद्हरूले भने धूलोका कण पानीमा मिसिएर यस्तो वर्षा भएको भन्दै नआत्तिन आग्रह गरेका छन् ।
मौसमविद्हरुले घरायसी काममा अहिलेको वर्षाको पानी प्रयोग नगर्न समेत सचेत गराएका छन् । जल तथा मौसम विज्ञान विभागले समेत मनसुन सक्रिय नभएसम्म वर्षाको पानी प्रयोग नगर्न सर्वसाधरणलाई सार्वजनिक आह्वान गरेका हुन् ।
जलवायुविद् विनोद पराजुलीले भारतीय मरुभूमिका धूलोका कणसहित अरब सागर र भूमध्य सागरबाट तीब्र गतिमा आएको हावा नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको हुनाले शुक्रबारदेखि हिले र पहेँलो वर्षा (डस्ट स्ट्रोम) सुरु भएको बताउनुभयो । यस्तो वर्षा अझै दुई तीनदिन पर्न सक्ने अनुमान रहेको उहाँले बताउनुभयो ।
नेपालमा सन् १९४० को दशकमा मौसम मापन सुरु भएको हो । यो बेलादेखि अहिलेसम्म पहिलो पटक वर्षाको पानीमा यति मात्रामा धूलोको कण देखिएको जलवायुविद् पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुन सुरु भइसकेपछि बङ्गालको खाडी हुँदै पूर्वी भूभाग भएर (साउथ–वेष्ट मनसुन) हावा नेपाल प्रवेश गर्दछ तर बङ्गालको खाडी नभएर मरुभूमिका धूलोका कणसहित अरब सागर र भूमध्य सागरबाट तीब्र गतिमा आएको हावा नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको हुनाले हिले वर्षा सुरु भएको हो ।
मरुभूमिमा रहेको रातो, पहेँलोलगायत विभिन्न रङका धूलोको कण हावामा मिसिएका कारण अहिले वर्षाको पानी पहेँलो देखिएको उहाँले स्पष्ट पार्नुभयो । पश्चिमी हावाको प्रवेश कमजोर तथा दक्षिण पूर्वी मनसुनी हावा (साउथ–वेष्ट मनसुन) को प्रभाव बलियो भएपछि विस्तारै मौसम सफा हुने उहाँले बताउनुभयो ।
खासगरी मनसुन पूर्वबाट नेपाल प्रवेश गर्नुपर्ने हो तर यस पटक पूर्वतिरको मौसम कमजोर देखिएको हुनाले पश्चिमबाट नेपालमा प्रवेश गर्दा हावामा धूलोको कण मिसिँदा हिलो पानी परेको उहाँले स्पष्ट पार्नुभयो । यो वर्षा भारतको हिमाञ्चल प्रदेश, उत्तर प्रदेश, विहार, दिल्ली, पश्चिम वङ्गालसहित नेपालको तराई क्षेत्र र तल्लो पहाडमा परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको हिमाली भूभागमा भने यो पानी परेको छैन ।
प्रयोग नगर्न आग्रह
सरुवा रोगविज्ञ डा। शेरबहादुर पुनले यसप्रकारको वर्षाको पानीमा अम्लीय पदार्थ ९एसिड० मिसिएको हुन सक्ने भएको हुनाले अहिलेको वर्षाको पानीको प्रयोग नगर्न सबैसँग आग्रह गर्नुभएको छ । यस प्रकारको पानीको प्रयोगले मानव र पशुपंक्षीमा गम्भीर समस्याहरु ल्याउन सक्ने उहाँले जानकारी दिनुभयो ।
अन्य मुलुकमा यसप्रकारको वर्षाले मानिसमा छाला र आँखाको समस्या अत्यधिक मात्रामा देखिएको तथा मुटु रोगी, दमको समस्या तथा फोक्सोको समस्या भएका विरामीलाई थप असर गरेको पाइएको उहाँले बताउनुभयो ।
यस प्रकारको वर्षा नेपालको सन्दर्भमा नौलो भएको तथा यस वर्षामा अरब सागर र भूमध्य सागरको धूलोको कण मिसिएको बताइएको हुनाले यस वर्षामा के कस्ता रसायन तथा जीवाणु मिसिएका छन् भन्ने पत्तालगाउन छिटोभन्दा छिटो यसको परीक्षण गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस