अर्थ संसार, काठमाडौँ – वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिनुभयो ।
“वर्षा र हावाहुरीले पोल भत्किँदा र तार चुडिँदा विद्युत् प्रसारणमा समस्या आएको छ”, प्रमुख साहले भन्नुभयो, “हल्दीबारीको जलथल क्षेत्रमा बढी समस्या देखिएको छ, पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध हुन दिएका छैनौँ ।”
आफ्नो क्षेत्रमा विद्युत्मा समस्या आए तुरुन्तै कार्यालयमा जानकारी गराउनसमेत उहाँले आग्रह गर्नुभयो । सकेसम्म छिटो मर्मत गरेर विद्युत् सेवा सुचारु गर्न प्रयास भइरहेको कार्यालयले जनाएको छ ।
हावाहुरीका कारण भद्रपुर सवस्टेशनअन्तर्गतको क्षेत्रमा नौ वटा पोल भाँचिएको र एउटा २५ केभीएको ट्रान्सिमिटर जलेको छ । जसबाट रु चार लाख बराबरको क्षति भएको प्रमुख साहले जानकारी दिनुभयो ।
शनिबार राति चट्याङसँगै परेको पानीले बिर्तामोडस्थित अनारमनी सवस्टेशनबाट भद्रपुर सवस्टेशनतर्फ जोड्ने ३३ केभी प्रशारण लाइनमा समस्या आएका थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस