हास्य कलाकारद्वय सुरेन्द्र केसी (मुला साग) र शिवशंकर रिजाल (जोगिन्दर पानवाला) विगत आठ वर्षदेखि सँगै काम गरिरहेका छन् । यी दुईले ०६६ मा राष्ट्रिय सभागृहमा सँगै गाईजात्रा गरेपछि बनेको जोडीलाई अहिलेसम्म निरन्तरता दिइरहेका छन् । एक्लाएक्लै कलाकारितामा पाइला राखे पनि यी दुईले ‘जोडी बाँधेपछि’ ‘लक’ लागेको मान्छन् । कार्यक्रमको सिलसिलामा यो जोडी देशका अधिकांश जिल्ला पुगिसकेको छ । त्यस्तै, उनीहरूले २९ देशमा प्रस्तुति दिइसकेका छन् । जोडी भएर काम गर्दा के–कस्ता अनुभव बटुलेका छन् त यी दुईले रु दुवैलाई सँगै राखेर उनीहरूको अनुभव र सुख–दुःखका क्षणबारे दुईले समय–समयमा एक–अर्कालाई हेर्दै, कतिपय सन्दर्भमा हाँस्दै त्यस्ता अनुभव सुनाए :
मुला साग– शिवशंकर र मेरो चिनजान त पहिलेदेखि नै थियो । तर, हामीले सँगै काम गरेका थिएनौँ । ०६६ सालमा प्रज्ञा भवनको गाईजात्रामा म अटाएको थिइनँ । शिवशंकर पनि अटाएका रहेनछन् । त्यतिवेला दमन रुपाखेतीले ‘ल, तपाईंहरू मिलेर एउटा प्रहसन गर्नुस् त’ भन्नुभयो । त्यसपछि म र शिवशंकर मिलेर पहिलोपटक ‘मेरो बुद्ध मेरो देश’ नामक प्रहसन राष्ट्रिय सभाको गाईजात्रामा प्रस्तुत गर्यौँ । त्यसपछि हामीले सँगै काम गर्न थाल्यौँ, जोडी बाँधियो ।
जोगिन्दर– सुरेन्द्र दाइ मभन्दा धेरै सिनियर । उमेर र कलाकारितामा प्रवेशको हिसाबले पनि मभन्दा धेरै जेठो हुनुहुन्छ । मैले उहाँका कतिपय फिल्म हेरेको थिएँ । मैले पनि ०५६ सालदेखि कलाकारिता सुरु गरेँ, फाट्टफुट्ट काम गर्न थालेँ । संयोगवश हामी दुईले ०६६ सालको गाईजात्रामा सँगै प्रस्तुति दिन पायौँ । यही कार्यक्रमपछि हाम्रो आत्मीयता बढ्यो, सोच र विचार मिल्दै गयो । अनि त हामीले सँगै काम गरिरहेका छौँ ।
मुला साग– जोडी बाँधेपछि गरेका सबै काम सफल भएका छन् । त्यसअघि त के–के गरियो, खासै उल्लेख्य प्रगति भएको थिएन । जोडी बनेपछि ‘लक’ लागेको अनुभव मलाई छ ।
जोगिन्दर– जोडी बनेर कलाकारिता अघि बढाएको दिनदेखि हामीले पछाडि फर्किएर हेर्नुपरेको छैन । कामैकाम छन् । महिनामा बीस दिनभन्दा बढी हामीसँगै हुने गर्दछौँ । यसर्थमा हाम्रो जोडी ‘लक्की’ साबित भइरहेको छ ।
मुला साग– शिवशंकर र मैले गरेको पहिलो प्रहसन ज्यादै चर्चित भएको थियो । मेरो बुद्ध मेरो देश हामीले झन्डै सात वर्षसम्म निरन्तर प्रस्तुत गर्यौँ । नेपालीको मनमा रहेको राष्ट्रियताको विषय उठाइको सो प्रहसन हामीले मोफसलमा पहिलोचोटि सुर्खेत महोत्सवमा प्रस्तुत गरेका थियौँ । तत्कालीन राष्ट्रपति डा। रामवरण यादवको उपस्थितिमा हामीले प्रस्तुत गरेको सो प्रहसन हेरेर दर्शक मात्र होइन, आयोजक पनि निकै खुसी हुने गरेका थिए । प्रहसनले सुरुमा हँसाए पनि अन्त्यमा भने दर्शकलाई रुवाउने गर्दछ ।
जोगिन्दर– मेरो बुद्ध मेरो देश स्टेजमा यति लोकप्रिय भयो कि हामी जहाँ जाँदा पनि त्यही प्रहसनको माग हुन्थ्यो । जसकारण हामीले कुनै कार्यक्रममा थप मिहिनेत गर्नुपर्दैनथ्यो । कमेडी पन्च भए पनि अन्त्यमा बुद्धको जन्मभूमि र राष्ट्रियताको कुराले दर्शकलाई रुवाउँथ्यो । प्रहसन हेरिसकेपछि कतिपय हामीलाई भावविह्वल हुँदै बधाई दिन्थे । त्यसकारण नै हामीले सो प्रहसन धेरै समयसम्म गरिरह्यौँ ।
मुला साग– जोडी बनेर गरेका कामले सफलता पाउँदै गए । पहिलो वर्ष मेरो देश मेरो बुद्ध प्रहसन प्रस्तुत गरेका हामीले त्यसपछिका दिनमा डाक्टरले छोयो कि गयो, गब्बर कालिया, जोगिन्दर पानवालालगायतका थुप्रै प्रहसन प्रस्तुत गर्यौँ । नक्कली प्रमाणपत्रधारी डाक्टरको विषयमा गरिएको प्रहसन डाक्टरले छोयो कि गयो पनि ज्यादै हिट भएको थियो । त्यसैगरी, मधेस र मधेसी जनतामा रहेको राष्ट्रप्रेमको विषयको जोगिन्दर पानवालाले पनि दर्शकको मन जितेको थियो । हामीले हाम्रा प्रहसनमा खालि हँसाउने, व्यंग्य हान्ने मात्र होइन कि समाजलाई केही सकारात्मक सन्देश पनि दिने कोसिस गरेका छौँ ।
जोगिन्दर– हाम्रा प्रत्येक प्रहसन र प्रस्तुति सन्देशयुक्त हुने गरेका छन् । दर्शकले रमाइलोका साथै त्यसबाट केही समाजोपयोगी सन्देश पनि लिन सकून् भन्ने ध्यये हाम्रो हुने गर्दछ । हामी समसामयिक विषयलाई प्रस्तुत गर्ने गर्दछौँ । दुवैजना मिलेर कन्सेप्ट तयार गर्छौं र त्यसलाई सशक्त ढंगले प्रस्तुत गर्न धेरै मिहिनेत गर्छौँ । दर्शकसामु जानुअघि हामीले थुप्रैपटक रिहर्सल गरेर प्रस्तुति तयार गर्ने गरेका छौँ । त्यसकारण हाम्रो प्रस्तुति प्रभावशाली हुने गर्दछ ।
मुला साग– स्टेज सो, टेलिफिल्म, विज्ञापनमा जहाँ पनि अफर आउँछ, हामी जोडी नै जान्छौँ । अफर गर्नेले पनि जोडीलाई नै गर्छन् । कहिलेकाहीं एक्लाएक्लै पनि गर्नुपर्ने हुन्छ । तर, त्यसमा पनि हामी दुवै जाने जोड हुन्छ । जोडी बाँधेपछि विरलै मात्र एक्लै प्रोग्राम गरिएको होला । सिरियलमा भने हामी पछिल्लो समय ट्वाक्क टुक्क रिटन्र्समा सँगै अभिनय गरिरहेका छौँ ।
जोगिन्दर– धेरैजसो काम त सुरेन्द्र दाइकै तर्फबाट आउने गरेको छ । तर, उहाँ दाजुभाइ नै जानुपर्छ भन्नुहुन्छ । त्यसैले जोडी भएर काम गर्न थालेदेखि छुट्टाछुट्टै काम गरेको घटना निकै कम छ । आयोजकले हामी दुवैलाई बोलाउँछन् । कुनैमा एकजनाको मात्र काम छ भने पनि हामी सकभर ‘म्यानेज’ गर्ने कोसिस गछौँ । भएन भने पनि समस्या हुँदैन । हाम्रो मान्यता सधैँ सँगै काम गरौँ भन्ने हो । तर, कुनै कार्यक्रममा उहाँ एक्लै या कुनैमा म एक्लै भएँ भने पनि बुझ्ने गरेका छौँ ।
मुला साग– हामी सबै हास्य जोडीलाई आइडल मान्छौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी, किरण केसी र शिवहरि पौडेलको जोडी, दीपकराज गिरी र दीपाश्री निरौलाको जोडीदेखि दमन रुपाखेती र जितु नेपाल अनि केदार घिमिरे र सीताराम कट्टेलको जोडी । सबै जोडीको प्रभाव हामीमा छ । कतिपय जोडीमा कालान्तरमा गएर मनमुटाव भएको छ । तर, हाम्रो जोडीमा त्यस्तो हुने छैन भन्ने पूर्ण विश्वास छ ।
जोगिन्दर– हामी अग्रज सबै हास्यजोडीबाट प्रभावित र प्रेरित छौँ । उहाँहरूको संयुक्त कलाकारिताको अवधारणाले नै हामीलाई जोडी बनाएको हो । कतिपय जोडीमा कुनै समयमा खटपट भएर छुट्टिएको पनि देखिएको छ । तर, हाम्रो त्यस्तो हुनेछैन । किनभने, हामीलाई एक–अर्काप्रति पूर्ण विश्वास छ । पारदर्शिता, आत्मीयता र सम्मान भाव अटल रहेकाले हाम्रो जोडी जीवन रहेसम्म रहनेछ ।
मुला साग– केही हास्य जोडीमा आएको, आउने गरेको समस्याले गर्दा चार–पाँच वर्षअघिसम्म हाम्रो जोडीलाई कसैले भाँडिदिन्छ कि, कुरा लगाएर, उचालेर मनमुटाव गराइदिन्छ कि भन्ने लाग्थ्यो । शिवशंकरले मलाई र मैले शिवशंकरलाई राम्रोसँग बुझिसकेका छौँ । त्यसैले अब इन्द्रको बाउ चन्द्र आए पनि हाम्रो जोडी फुटाउन सक्दैन । फुट आउने प्रमुख कारण विचार र पैसा हो । हामी यी दुवै मामिलामा एकदमै क्लियर छौँ ।
जोगिन्दर– पहिला लाग्थ्यो, कुनै समस्या आएर, कसैको षड्यन्त्रले जोडीमा फुट आउँछ कि भन्ने । तर, अहिले त्यस्तो केही डर लाग्दैन । सुरेन्द्र दाइ र ममा सबै कुरा मिल्छ । कुनै पनि प्रोग्राममा जाँदा आफ्नो खर्च आफैँ व्यहोर्छौं । एक रुपैयाँ पनि बाँडेर लिन्छौँ । कुनै काम पनि सल्लाह नगरी गर्दैनौँ । दुवैलाई चित्त नबुझेसम्म काम गर्दैनौँ । त्यसैले यो जोडी छुट्ने चान्सै छैन।
मुला साग– एकचोटि हामी दाजुभाइले मात्र युरोपका ११ वटा देशका कार्यक्रम धानेका थियौँ। युरोप टुरमा हिँड्यौँ । विभिन्न मुलुकमा कार्यक्रम भए । त्यहाँ शिवशंकर र म मात्र थियौँ । तीन–साढे तीन घन्टासम्म हामी दुईले कतिवेला प्रहसन गर्ने, कतिवेला नाच्ने त, कतिवेला एकल प्रस्तुति दिएर भए पनि कार्यक्रम रोमाञ्चक बनाइरह्यौँ ।
जोगिन्दर– आयोजकले हामी दुईले मात्र कार्यक्रम होल्ड गर्नुपर्ने प्रस्ताव राखे । सुरुमा त स्टेजमा तीन–साढे तीन घन्टा के गरेर बिताउने भन्ने तनाव भयो । तर, सुरेन्द्र दाइ र मैले सल्लाह गर्यौँ । त्यसपछि स्टेजमा उत्रियौँ । कतिवेला नाच्यौँ, कतिवेला दुवैले प्रहसन गर्यौँ त, कतिवेला गीत गायौँ, दर्शकलाई कत्ति पनि बोर हुन दिएनौँ ।
मुला साग– हामी कार्यक्रमको सिलसिलामा मोफसलका थुप्रै जिल्ला बाइकमै पुगेका छौँ । पोखरा, लम्जुङ, गुल्मी, स्याङ्जा, तानसेनदेखि लिएर बुटवल, दाङसम्म पनि बाइकमै कुदेका छौँ । तर, मलाई शिवशंकरको र उसलाई मेरो बाइकको पछाडि बस्न बहुत डर लाग्छ । त्यसैले आ–आफ्नो बाइक लिएर जाने गरेका छौँ ।
जोगिन्दर– म दाइले हाँकेको बाइकमा बस्न डराउँछु । दाइ मेरोमा बस्न डराउनुहुन्छ । त्यसैले हामीले आ–आफ्नो बाइक लिएर हिँड्ने गरेका छौँ । हामी रातारात पनि बाइकमा कुद्ने गरेका छौँ । अनकन्टार जंगल भए पनि दुईजना भएपछि डर लाग्दैन ।
मुला साग– हामी दुवै हनुमानका कट्टर भक्त हौँ । हनुमान चालिसा नजपी हामी पानीसमेत पिउँदैनौँ । हरेक काम गर्नुअघि हनुमानजीलाई सम्झन्छौँ । हामीलाई केही समस्या पर्यो भने हनुमानजीले टारिदिनुभएको छ । एकचोटि बुटवलबाट एकजना मित्रको बाइक लिएर राति दुई दाजुभाइ गुल्मी गइरहेका थियौँ । रुपाकोटको जंगलमा बाइकको चेन चुँडियो । अब के गर्ने रु हामीले हनुमानजीलाई पुकार्यौँ– हे हनुमानजी, हामीलाई १० मिनेटमा उद्धार गरिदिनुस् । त्यसपछि सरर हनुमान चालिसा जप्याँै । त्यसको केही मिनेटमै एकजना एक्सल बाइकमा त्यो बाटो हुँदै आए । उनीसँग बाइक मिस्त्रीको नम्बर रहेछ । फोन गरिदिए । हामी बाइक धकेल्दै अलि पर गएर बस्यौँ । केही समयपछि ती मिस्त्री आएर चेन जोडिदिए । यसरी हाम्रो संकट हनुमानजीले हरण गरिदिनुभएको छ ।
जोगिन्दर– सधैँ आ–आफ्नो बाइकमा हिँड्थ्यौँ । त्यो दिन बुटवलबाट साथीको बाइक लिएर गयौँ । तर, रुपाकोटको अनकन्टार जंगलमा चेन चुँडियो । राति, त्यो पनि बाघभालु आउने जंगलको बीचमा हामीलाई संकट आइपर्यो । हामीले हनुमानजीलाई १० मिनेटको समय दिएर जप्यौँ । हनुमानजीले ती बाइकवाला पठाएर उद्धार गरिदिनुभयो । त्यसैलै हामी कुनै समस्या परिहाल्यो भने हनुमानजीलाई पुकार्ने गर्छौं । उहाँले हाम्रो उद्धार गर्ने गरेको अनुभव हाम्रो छ ।
मुला साग– शिवशंकरको खराब भनेर उल्लेख गरिहाल्नुपर्ने बानीचाहिँ केही देख्दिनँ म । मलाई दाइ भनेर सम्मान गर्छन् । हरेक कुरा सेयर हुन्छ । कुनै काममा पनि समयमा नपुग्ने बानी भने अलि नराम्रो छ उनको । कसो–कसो ढिला भइहाल्छन् । त्यसकारण कहिलेकाहीँ मेरो हप्की पनि खाने गरेका छन् ।
जोगिन्दर– सुरेन्द्र दाजु साह्रै सफा मनको हुनुहुन्छ । तर, कहिलेकाहीँ झनक्क रिसाउनुहुन्छ । पूरा कुरा नबुझी रिसाएर फन्किनुहुन्छ । तर, केही मिनेटमै कुल भइहाल्नुहुन्छ । योचाहिँ उहाँको कमजोरी हो, अरू बानी त सबै ‘फस्ट क्लास’ छन् ।
लक्ष्मण सुवेदी÷ नयाँ पत्रिका
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस