सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीबजारको विकास र लगानीकर्ताको मनोबल उच्च बनाउन महत्त्वपूर्ण नीतिगत सुधारको घोषणा गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार र कर प्रणालीमा परिवर्तन गर्ने बताएका हुन्।
बजेटमा समेटिएका पुँजीबजार र कर प्रणालीसम्बन्धी मुख्य बुँदाहरू
पुँजीगत लाभकर अब अन्तिम कर हुने
लामो समयदेखि सेयर लगानीकर्ताहरूले उठाउँदै आएको मुख्य मागलाई सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सम्बोधन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरेका छन् । यस निर्णयले कर प्रणालीलाई थप न्यायपूर्ण र लगानीमैत्री बनाउने विश्वास गरिएको छ।
दोस्रो बजारमा एनआरएनएलाई कानुनी बाटो खुल्ला
गैरआवासीय नेपाली (एनआरएनए) हरूलाई नेपालको धितोपत्र दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्थामा परिमार्जन गरिने भएको छ। विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई समयानुकूल बनाई एनआरएनए लगानी भित्र्याउने ढोका खुल्ला गरिएको छ।
व्यक्तिगत आयकरको अधिकतम दर २९ प्रतिशतमा झारियो
बजेटमार्फत व्यक्तिगत आम्दानीको कर संरचनामा पनि ठूलो हेरफेर गरिएको छ। सरकारले १० लाख रुपैयाँसम्मको व्यक्तिगत आम्दानीमा न्यून कर दर कायम गरेको दाबी गरेको छ। साथै, लगानीकर्ता र आम नागरिकलाई राहत दिने उद्देश्यले यसअघि कायम रहेको अधिकतम आयकर दर ३९ प्रतिशतबाट १० प्रतिशत विन्दुले घटाएर २९ प्रतिशतमा झार्ने घोषणा गरिएको छ।
नेप्सेको पुनर्संरचनासहित इन्ट्राडे र सर्ट सेलिङ सुरु गरिने
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्दै बजारमा इन्ट्राडे ट्रेडिङ (भित्रिदिनको कारोबार) र सर्ट सेलिङजस्ता अत्याधुनिक कारोबार प्रणालीहरू सुरु गर्ने घोषणा पनि बजेटमा गरिएको छ ।। यी समग्र व्यवस्थाले निजी क्षेत्रको मनोबल बढाउन र बजारलाई थप उत्पादनमुखी बनाउन मद्दत पुग्ने सरकारको विश्वास छ।
बजेटमा गरिएको व्यवस्थाले पुँजीबजार विस्तार, वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रको मनोबल बढ्ने अपेक्षा गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस