Like us!
Follow us!
Connect us!
Watch us!

तिनुकेनमा मुआब्जाको लफडा, कहिले बन्छ बुद्धको विशाल मूर्ती ?

सोमबार, २८ साउन २०७५, १० : ४७ मा प्रकाशित

तिनुकेनमा मुआब्जाको लफडा, कहिले बन्छ बुद्धको विशाल मूर्ती ?

अर्थ संसार, काठमाडौँ-  ‘तीनकुने शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवादका कारण काम अघि बढ्न सकेको छैन । तीन वर्ष पहिले नै काठमाडौँ महानगरपालिकाले नक्शाङ्कनको काम पनि सम्पन्न गरी तीन वर्षअघि नै सो मण्डल निर्माण गर्ने भनिएको थियो ।

तीनकुनेमा रहेको ५० रोपनी जग्गामा उक्त मण्डल निर्माण गर्ने तयारी कामपाको भए पनि स्थानीयवासीलाई दिइँदै आएकोे मुआब्जा विवादले गर्दा काम अघि बढ्न नसकेको कामपा, भौतिक पूर्वाधार महाशाखा प्रमुख रामबहादुर थापाले जानकारी दिनुभयो ।

अत्याधुनिक ‘तीनकुने शान्तिमण्डल’का लागि यसअघि दिइएको मुआब्जा आफूहरुलाई अपुग छ भन्दै स्थानीयवासीले अडान लिँदै आएका छन् । पच्चीस घरधनीले अहिलेसम्म मुअब्जा लिएका छैनन् । उनीहरुले पहिलेको मुआब्जा पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरेका छन । 

कामपाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ गौतमबुद्धको विशाल मूर्तिसहितको मण्डल निर्माण गर्न लागेको हो । पहिले नै कामपाले बोलपत्रको आह्वान गर्ने तयारीसमेत गरिसकेको थियो । प्रदेशसभा सदस्य पहिलो पटक केशव स्थापित कामपा प्रमुख भएका बेला उहाँले ‘काठमाडौँका निर्माता’ मञ्जुश्रीको शालिक राख्ने अडान लिनुभएको थियो ।

महानगरको योजनानुरुप आगामी २०७६ सालसम्ममा उक्त मण्डल निर्माण सम्पन्न गर्ने तयारी रहे पनि अहिलेसम्म कुनै काम अघि बढ्न सकेको छैन । योजनानुरुप सो शान्तिमण्डलको बीच भागमा बुद्धको विशाल मूर्ति हुनेछ । मण्डल हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने बताइएको छ । मण्डलको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति पनि राखिनेछ ।

मूर्तिको वरिपरि रूख–विरुवा रोपिने बताइएको छ । संरचनाको तीनवटै कोणमा चौबीसै घण्टा पानी आउने फोहरा निर्माणको योजना छ । हरेक वर्ष बजेट छुट्याउँदै आएको कामपाले चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन पनि गरेको छ ।

मुआब्जाका विषयमा कुरा मिलेको खण्डमा आवश्यकतानुरुप बजेट थप्न सकिने पनि कामपाले जनाएको छ । पुनः मूल्याङ्कन गर्न अदालतबाट आदेश भए पनि हुन सकेको छैन । कामपाले चालू आव २०७५÷७६ का लागि करीब रु १३ अर्ब दुई करोड बजेट प्रस्तुत गरेको छ । सोअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको