अर्थ संसार, हेटौँडा –सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
लामो समयदेखि मर्मत एवं जीर्णोद्धार नगरेका कारण उद्योगका मेशिन पुरानो भइसकेको र उत्पादन क्षमताको कमी आएकाले त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार एवं विकास गर्न लागेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताउनुभयो ।
उद्योगलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मकरुपमा विकास गर्न र क्षमता सुधार्नका लागि रु एक अर्ब खर्च लाग्ने भएकाले त्यसअनुरुप रकम जुटाउने प्रयास भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।
‘‘हेटाँैडा सिमेन्ट उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि र मूल्य घटाउन लागेको र उद्योगको भट्टीका सामान प्रविधियुक्त जडान गर्नेतर्फ समेत लागेका छौँ’’ महाप्रबन्धक सिंहले भन्नुभयो । २०४२ सालमा जडान गरेको मेशिनबाट उत्पादन घट्दै गएकाले धेरै समस्या थपिँदै गएको त्यहाँका कर्मचारी बताउँछन् । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मर्मतपछि दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ ।
लामो समयदेखि विभिन्न कारणले घाटामा रहेको उद्योग दुई वर्षदेखि मुनाफामा छ । हेटौँडा उपमहानगरपालिका–९ मा सञ्चालित सो उद्योगको उत्पादन गुणस्तरीय भएकाले यसको माग सर्वसाधारणमा अत्यधिक रहेकोहेटौँडा का सिमेन्ट व्यवसायी अजय अग्रवालले बताउनुभयो । निजी क्षेत्रका धेरै उद्योग खुले पनि यसले आफ्नो उत्पादन क्षमताको विकास गरेमा बजारमा सबैभन्दा बढी यो सिमेन्ट नै बिक्री हुने इञ्जिनीयर हरि पोखरेलले दाबी गर्नुुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस