Like us!
Follow us!
Connect us!
Watch us!

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

अर्थ संसार

बुधबार, २४ असार २०८३, १९ : ४२ मा प्रकाशित

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। कम्पनीका अनुसार हालसम्म आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने निर्माणका विभिन्न चरणहरू समानान्तर रूपमा सञ्चालन भइरहेका छन्।

गण्डकी प्रदेशको लमजुङ जिल्लाको बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन आयोजनामा सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल तीनवटै क्षेत्रको काम सन्तोषजनक रूपमा अघि बढिरहेको कम्पनीले जनाएको छ।

आयोजनाको इन्टेक तथा डिसेन्डर (Desander) क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। डिसेन्डरको मुख्य संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ भने आवश्यक कङ्क्रिट ढलान, संरचनागत निर्माण तथा गुणस्तर परीक्षणको काम निरन्तर भइरहेको कम्पनीले जनाएको छ। यसअघि रातिको समयमा समेत कङ्क्रिट ढलान गरी निर्माणलाई निरन्तरता दिइएको थियो।

यस्तै, आयोजनाको पावरहाउस निर्माणका लागि आवश्यक उत्खनन (Excavation) कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ। पावरहाउस क्षेत्रको भू–संरचना अनुसार कटिङ, ढलान व्यवस्थापन तथा स्थायित्व कायम गर्न आवश्यक पूर्वाधार निर्माण जारी रहेको छ। आयोजनाको निर्माण तालिकाअनुसार पावरहाउस क्षेत्रलाई प्राथमिकतामा राखेर काम हुने कम्पनीको भनाइ छ।

सिभिल निर्माणसँगै हाइड्रो–मेकानिकलतर्फ पनि महत्वपूर्ण प्रगति भएको छ। आयोजनामा जडान हुने हाइड्रो–मेकानिकल उपकरणहरूको फेब्रिकेसन (Fabrication) कार्य हेटौंडास्थित उत्पादन केन्द्रमा सुरु भइसकेको छ। आवश्यक स्टिल संरचना, गेट, पाइप तथा अन्य मेकानिकल उपकरणहरू डिजाइनअनुसार निर्माण भइरहेको कम्पनीले जनाएको छ।

त्यसैगरी, आयोजनाका लागि आवश्यक इलेक्ट्रो–मेकानिकल उपकरणहरूको उत्पादन प्रक्रिया पनि सुरु भएको छ। यसअघि अन्तर्राष्ट्रिय कम्पनीसँग भएको सम्झौताअनुसार उपकरणहरूको डिजाइन तथा उत्पादन कार्य युरोप र भारतस्थित उत्पादन केन्द्रहरूमा अगाडि बढाइएको छ। उपकरण निर्माण सम्पन्न भएपछि नेपाल ल्याएर आयोजना स्थलमा जडान गरिनेछ।

यसअघि कम्पनीले आयोजनाका लागि आवश्यक ७ अर्ब ५० करोड रुपैयाँ सह–वित्तीयकरण कर्जा सुनिश्चित गरिसकेको छ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेका छन्। आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जसमा बाँकी रकम कम्पनीले स्वपूँजीमार्फत व्यवस्थापन गरिरहेको छ।

आयोजनाबाट उत्पादन हुने विद्युत् आयोजनास्थलबाट करिब ८ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी उदिपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) यसअघि नै सम्पन्न भइसकेको छ।

आयोजनामा प्रभावित स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ। स्थानीय बासिन्दाले उत्साहपूर्वक आयोजना क्षेत्रमा लगानी गरेका छन्, जसले आयोजनाप्रति समुदायको विश्वास र अपनत्वलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ।

साथै, कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारीस्वरूप आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।

 

6a4e582d71b04.jpg 6a4e582dd6d37.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको