आम रुपमा धेरै नेपालीले आशा गरे अनुसार अहिले एउटै पार्टी त्यो पनि नयाँ सोचका साथ अघि बढेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । यो सरकारप्रति आम जनाताको आशा र अपेक्षा रहनु पनि अस्वभाविक होइन । सेयर बजारका लगानीकर्ताहरुले पनि अहिलेको सरकाबारट धेरै ठूलो आशा र अपेक्षा गरेका थिए । तर, अवस्था भने त्यस्तो हुन सकेन । यसको परिणाम अहिले नेपाली पुँजी बजारमा परिरहेको छ ।
यो सरकार बनेपछि लगातार रुपमा घटिरहेको सेयर बजारले अहिलेको सरकार प्रति आम लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा रहेको पुष्टि हुन्छ । यो सरकार बन्नु भन्द ठिक एक दिन अघि नेपालको सेयर बजार २९५० विन्दुमा थियो । कारोबार पनि १२ अर्ब ९० करोड माथिको कारोबार भएको थियो । बालेन साहले प्रधानमन्त्रीका रुपमा सफथ खानु भन्दा अघिल्लो दिन नेप्से परिसूचक २९५०.१६ विन्दुमा रहेको थियो ।
७१ कारोबार दिनमा २६ दिन मात्रै बढ्यो
नयाँ सरकार बने पछि हालसम्म सेयर बजार ७१ दिन खुलेको छ । ७१ दिन मध्ये जम्मा २६ दिन मात्रै सेयर बजार बढेको छ । बाँकी ४५ दिन सेयर बजार घटेर कारोबार भएको छ । सरकार बने पछिको पहिलो कारोबार दिन नै सेयर बजार ७१ अंकले घटेर कारोबार भएको थियो । जुन आम लगानीकर्ताले अपेक्षा भन्दा भिन्न थियो । यो सरकार भने पछि सेयर बजारमा गत वर्षको चैत २३ गते ३.११ प्रतिशत अर्थात् ८३ अंकले बढेर कारोबार भएको थियो ।
३४८ अंकको गिरावट
सेयर बजारमा रास्वपाका नेता बालेन साहको नेतृत्वमा सरकार बने पछि हालसम्म सेयर बजारमा ३४८ अंकको गिरावट आएको छ । कारोबार रकममा पनि भारी गिरावट आएको छ । बलेन प्रधानमन्त्री बन्नु भन्दा पहिले २९५०.१६ विन्दुमा रहेको नेप्से परिसूचक आज (बिहीबार) को कारोबार बन्द हुँदा २६०१.९२ विन्दुमा झरेको छ । चैत १२ गते १२ अर्ब ९० करोड माथिको कारोबार भएको बजारमा आज भने ३ अर्ब ६१ करोड माथिको कारोबार भएको छ । यो अवधिमा सेयर बजारको कारोबारमा ८ अर्ब २९ करोड भन्दा माथिको गिरावट आएको छ ।
अहिलेको सेयर बजार र नीति बीचमा फरक दृश्य देखिएको नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेको भनाइ छ । सेयर बजारका लागि बजेट र मौद्रिक नीति पनि सकारात्मक नै रहेको भए पनि बजार घट्नुलाई उनले सेयर मार्केट केही गिरोहल चलाएको जस्तो देखिएको टिप्पणी गरे । जुन रुपमा सेयर बजारको उतारचढाब छ यसले गर्दा शंका गर्ने सकिने अवस्था देखिएको उनको भनाइ छ । नीति र बजारको तालमेल नमिलेको जस्तो भइरहेको छ । काम एकातिर छ । बजार एकातिर छ । कहाँनेर समस्या हो बुझ्नु पर्छ,’ उनले भने । अहिले तरलता पनि प्रशस्त मात्रामा रहेको र ब्याजदर पनि कम भएको अवस्थामा बजार घट्नुलाई स्वभाविक रुपमा लिन नसकिने उनको भनाइ छ ।
मौद्रिक नीतिले सेयर बजारका लागि तोकेर अहिले केही पनि नआएको र ल्याउने मात्रै भनेकोले अहिले नै सकारात्मक वा नकारात्मक भन्न सकिने अवस्था नरहेको अर्का लगानीकर्ता जगन्नाथ ढूंगेलको भनाइ छ । अहिलेको मौद्रिक नीतिमा धेरै कुरा गरिने छ भनिएकाले यो मौद्रिक नीति उधारो जस्तो देखिएको उनको भनाइ छ । उनले अहिले बजार प्यानिक अवस्थामा रहेको भन्ने अवस्था नरहेको उनको भनाइ छ । यो सरकार बन्नु भन्दा पहिले पनि बजार तल्लो विन्दुमा पुगेको अवस्था रहेको ढंगेलको भनाइ छ ।
सेयर बजार मौद्रिक नीति र बजेटले बढ्ने भन्दा पनि समग्र अर्थतन्त्रमा सुधार नहुँदासम्म पुँजी बजारले गति लिन नसक्ने अर्थविद् डा.चन्द्रमणी अधिकारीको भनाइ छ । ‘हाम्रो अर्थतन्त्र राम्रो नहुँदा पुँजी बजार पनि कमजोर भयो । यसका लागि समग्र अर्थतन्त्र नै सुधार हुनु पर्छ,’ उनले भने । सेयर बजारमा सबै भन्दा ठूलो हिस्सा रहेको बैंक तथा वित्ती क्षेत्र कजमारे र संकुचनको अवस्थामा रहेका बेला पुँजी बजार बढ्छ भन्ने आशा गर्नु नै गलत हुने उनको तर्क छ ।
पछिल्लो सयम पुँजीगत लाभकर पनि बढेकाले लगानीकर्ताहरु निराश भएको अधिकारीको भनाइ छ । समग्र अर्थतन्त्रमा सुधार गरियो र सबै कम्पनीको अवस्था राम्रो भए पछि मात्रै बजार बढ्ने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस