आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । निकै आशा र अपेक्षा बीच यो पटक अघिल्ला वर्षहरुको तुलनामा भिन्न मौद्रिक नीति आयो । अघिल्ला वर्षहरुमा निकै लामो फेरिस्त प्रस्तुत गरिने गरिएको भए पनि यो पटक भने राष्ट्र बैंकले निकै छोटो र सकुलर मार्फत कार्यान्वयन गर्ने गरि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले कुनै ठोस कुरा तोकेर भन्दा पनि सुधारका लागि गर्नु पर्ने कामहरुलाई अघि बढाउने कुरालाई केन्द्रमा राखेर यो पटकको मौद्रिक नीति सार्वजनिक गरिएको छ ।
४ पेज र २७ बुँदाको मौद्रिक नीतिमा सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पुग्ने गरि ल्याएको राष्ट्र बैंकले जनाएको छ । आम रुपमा अर्थतन्त्रलाई नै सहि दिशामा ल्याउने गरि मौद्रिक नीति आएकाले यसले समग्र सेयर बजारलाई पनि सकारात्मक असर पार्ने लगानीकर्ताहरुको विश्वास छ ।
लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई दोस्रो बजारमा सक्रिय बनाउने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने, बैंक तथा वित्तीय संस्थामाथि सेयर बजारमा लगानी गर्न लगाइएका सीमा पुनरावलोकन गर्ने, बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई बजारमा थप सक्रिय बनाउने व्यवस्था गरिने अपेक्षा गरेका थिए । तर राष्ट्र बैंकले यसपटक पूँजीबजारलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नेभन्दा पनि बैंकिङ प्रणाली सुधार, कर्जा प्रवाह विस्तार, तरलता व्यवस्थापन र उत्पादनशील क्षेत्रमा लगानी परिचालनलाई बढी महत्व दिएको देखिएको छ ।
सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी न्यून लागतको अर्थतन्त्र कायम राख्ने, निजी क्षेत्रको मनोबल बढाउने र बैंक तथा वित्तीय संस्थामा रहेको तरलतालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउने नीति राष्ट्र बैंकले लिएको छ । यसले तत्काल सेयर बजारलाई प्रत्यक्ष उत्साह नदिए पनि बैंकिङ प्रणाली सहज हुँदै जाँदा पूँजीबजारमा अप्रत्यक्ष सकारात्मक प्रभाव पर्न सक्ने लगानीकर्ताको भनाइ छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई दुई तरिकाले हेर्नु पर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सिनाको भनाइ छ । उनले यो मौद्रिक नीतिलाई सकारात्मक रुपमा हेर्दा रिफर्मका रुपमा हेर्नु पर्ने नकारात्मक कुरा नै गर्ने हो भने ब्याक गेयरमा मौद्रिक नीति भन्दा हुने बताए । सबै कुरालाई रिफर्म गर्ने गरि मौद्रिक नीति आएले यसको प्रभाव देखिनका लागि केही समय लाग्ने उनको भनाइ छ । ‘हामीले रिफर्मका लागि नै बढी प्राथमिकता दिएर यो मौद्रिक नीति ल्याएका छौँ । यसलाई तत्काल केही भएन भनेर तपाइहरुले ब्याक गेयरमा भनेर पनि लेख्न सक्नुहुन्छ,’ उनले भने ।
मौद्रिक नीतिका कारणले नै पुँजी बजार बढ्ने वा घट्ने भन्दा पनि अर्थतन्त्र राम्रो भएको खण्डमा मात्रै पुँजी बजारमा सकारात्मक असर पर्ने अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । अहिलेको मौद्रिक नीतिले कर्जा धमाधम जान्छ र अर्थतन्त्र निकै माथि पुगिहाल्छ भन्ने अवस्था नरहेको उनको भनाइ छ ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले मौद्रिक नीति मिश्रित आएको प्रतिकृया दिएका छन् । मौद्रिक नीतिमा धेरै अपेक्षा नरहेकाले समग्र अर्थतन्त्र सुधार हुँदा त्यसको प्रभाव पुँजी बजारमा पनि पर्ने उनको भनाइ छ । राष्ट्र बैंकले यस अघि नै पुँजी बजारका लागि लचक नीति लिइसकेकाले तरलता व्यवस्थापन, मुद्रास्फीति लगयतमा काम गर्नु पर्ने उनको भनाय छ । ‘लगानीकर्ताको धेरै अपेक्षा पनि थिएन । समग्र अर्थतन्त्र सुधा गर्ने भन्ने विषय मौद्रिक नीतिले लिएको छ । समग्र अर्थतन्त्र सुधार भएमा पुँजी बजारमा पनि त्यसको असर पर्छ,’ उनले भने ।
मौद्रिक नीतिमा तोकेर भन्दा पनि गरिने छ भन्ने कुरा धेरै आएकाले सकुलरको प्रतिक्षा गर्नु पर्ने अर्का लगानीकर्ता जगन्नाथ ढुंगेलको भनाइ छ । ‘मौद्रिक नीतिमा नराम्रो केही पनि छैन । अब सर्कुलर कसरी र कस्तो आउँछ भन्ने नै हो,’ उनले भने । अर्थतन्त्रलाई बलियो बनाउने गरि मौद्रिक नीति सार्वजनिक गरिएको भनिएकाले यसले पुँजी बजारलाई पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनको भनाइ छ । मौद्रिक नीति लचक आएको र बजेटसँग तादाम्यता मिलाएर कार्यान्वयन भएमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ता नयन बास्तोलाको भनाइ छ । ‘अहिलेको मौद्रिक नीति कोभिड पछि जस्तै आएको । कार्यान्वयन राम्रोसँग भयो भने यसले सकारात्मक प्रभाव पार्छ,’ उनले भने । समग्र अर्थतन्त्रमा नै सुधार आएको खण्डमा बजारमा पनि सुधार हुने उनले बताए ।
मौद्रिक नीतिले सेयर धितो कर्जामा सबै कम्पनीलाई एउटै मापदण्डमा राख्ने पुरानो अभ्यास भन्दा जोखिम–आधारित मूल्यांकनलाई प्राथमिकता दिएकाले यसले बलियो वित्तीय अवस्था, राम्रो सुशासन र पारदर्शिता भएका कम्पनीका सेयरमा कर्जा प्रवाह सहज हुने वातावरण बनाउने नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष तारा प्रसाद फुल्लेलको भनाइ छ । मौद्रिक नीति कार्यान्वयन भएको खण्डमा कमजोर आधार भएका कम्पनीमा अत्यधिक उतार –चढाव स्वतः नियन्त्रण हुने उनको विश्वास छ ।
यस्तो व्यवस्थाले गुणस्तरीय कम्पनीतर्फ लगानी आकर्षित गर्दै बजारलाई हल्ला र अफवाह भन्दा कम्पनीको वास्तविक वित्तीय अवस्थाको आधारमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । ‘दीर्घकालमा यसले बजारको विश्वसनीयता, संस्थागत लगानीकर्ताको सहभागिता र वित्तीय स्थायित्वलाई बल पुर्याउनेछ । स्वस्थ प्रतिस्पर्धा, विवेकपूर्ण कर्जा प्रवाह र गुणस्तरीय लगानी संस्कृतिको विकासमार्फत नेपालको पुँजीबजारलाई अझ पारदर्शी र दिगो बनाउने दिशामा यो नीति सकारात्मक कदमका रूपमा लिन सकिन्छ,’ उनले भने ।
मौद्रिक नीतिले पुँजीबजारका संरचनागत मागहरु सम्बोधन नगरे पनि तरलता सहज राख्ने, कर्जा विस्तार गर्ने, ब्याजदर स्थिर राख्ने र बैंकिङ प्रणालीलाई बलियो बनाउने बाटो लिएको छ । पुँजी बजारमा यसको तत्काल असर नदेखिए पनि विस्तारै यसको प्रभाव देखिन सक्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस