Like us!
Follow us!
Connect us!
Watch us!

पुनःनिर्माणमा २ अर्ब लगानी

सोमबार, १० मंसिर २०७५, ०८ : १० मा प्रकाशित

पुनःनिर्माणमा २ अर्ब लगानी

अर्थ संसार, काठमाडौँ– बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब १७ करोड बराबरको कर्जा उपलब्ध गराएका छन् ।

पीडितलाई बढीमा दुई प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न सरकारले दिएको निर्देशनअनुसार उक्त परिमाणको लगानी भएको हो । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको तीन महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार २७४ रहेको उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई शून्य ब्याजदरमा पुनःकर्जा सुविधा उपलब्ध गराउने व्यवस्थाअन्तर्गत गत असोज मसान्तसम्ममा रु दुई अर्ब १७ करोड ऋण दिइएको हो । यस्तै सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या नौ हजार ५६३ जना रहेको छ । सो योजनाअन्तर्गत रु १४ अर्ब १२ करोड कर्जा बक्यौता रहेको छ भने रु ६७ करोड ९२ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।

पुर्नकर्जा उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुर्नकर्जाको उपयोग समीक्षा अवधिमा बढेको बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा बैंकको रु १८ अर्ब पाँच करोड पुर्नकर्जा लगानी भएको छ ।

यस्तै अन्तर–बैंक कारोबार आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा वाणिज्य बैंकले रु तीन खर्ब ३६ अर्ब ८७ करोड र अन्य वित्तीय संस्थाले रु ३२ अर्ब ४४ करोडको अन्तर–बैंक कारोवार गरेका छन् ।

अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकले रु दुई खर्ब दुई अर्ब ४० करोड बराबरको कारोवार गरेको थियो । यस्तै ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर १ दशमलव १८ प्रतिशत रहेकामा गत असोज मसान्तमा १ दशमलव ७७ प्रतिशत पुगेको छ ।

वाणिज्य बैंकबीचको अन्तर–बैंक कारोवारको भारित औसत ब्याजदर चालू आवमा १ दशमलव ८६ प्रतिशत पुगेको छ । यस्तै गत असोज मसान्तसम्म १६४ बैंक तथा वित्तीय संस्था गाभिने प्रक्रियामा सामेल भएका छन् । तीमध्ये १२२ संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको