Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुबीच ब्याजदर नबढाउने सहमति, अब कति ?

शुक्रबार, ०६ पुस २०७५, ०८ : १८ मा प्रकाशित

बैंकहरुबीच ब्याजदर नबढाउने सहमति,  अब कति ?

अर्थ संसार, काठमाडौं– बाणिज्य बैंकहरुबीच निक्षेपमा ब्याजदर बढाउने प्रतिस्पर्धा चल्न थालेपछि राष्ट्र बैंक र अर्थ मन्त्रालयको आग्रहमा बाणिज्य बैंकहरुले बिहीवार बैठक बसेर ब्याजदर नबढाउने सहमति गरेका छन् ।

बिहीवार आकस्मिक रुपमा बसेको नेपाल बैंकर्स एशोसिएशनको बैठकले ब्याजदर नबढाउने सहमति गरेको छ ।

बढ्दो ब्याजदरले पूँजीबजारका साथै समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको भन्दै व्यापक विरोध र आन्दोलन नै भएपछि सरकार र केन्द्रीय बैंकलाई दबाब परेको थियो ।

त्यसैले अस्वाभाविक परिस्थिति रोक्नका लागि सरकारले अध्ययन समिति बनाएर राय लियो भने राष्ट्र बैंकले बैंकरहरूलाई दबाब सृजना गरिरह्यो । फलस्वरूप, बिहीवार बैंकर्स संघ र २८ वाणिज्य बैंकहरूका सीईओसँग छलफल गरेर ब्याजदर घटाउन सफल देखियो राष्ट्र बैंक ।

छलफलमा व्यक्तिगत मुद्दतीको ब्याजदर ९ दशमलव २५ प्रतिशतदेखि ९ दशमलव ७५ प्रतिशतसम्म र संस्थागततर्फ ८ दशमलव ५ प्रतिशत कायम गर्ने सहमति भएको बताइएको छ । बचत खातामा भने ६ दशमलव ५ प्रतिशत ब्याज दर कायम गर्ने सहमति भएको बुझिएको छ ।

नेपाल राष्ट्र बैंकको दबाबमा वाणिज्य बैंकहरू निक्षेपको ब्याजदरमा भइरहेको प्रतिस्पर्धाबाट पछि हटेका छन् । बैंकहरूले सहमति नगरी अभैm प्रतिस्पर्धामा उत्रिए हस्तक्षेप गर्ने केन्द्रीय बैंकको चेतावनीसँगै नेपाल बैंकर्स संघको पहलमा बचतको ब्याजदर १० प्रतिशतभन्दा कम राख्ने भद्र सहमति भएको हो ।

बिहीवार दिउँसो राष्ट्र बैंकले लञ्च मिटिङ (दिवाभोज) नै आयोजना गरेर वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई ब्याजदर बढाउने प्रतिस्पर्धा तत्काल रोक्न कडा आदेश दिएको थियो । त्यसपछि सबै वाणिज्य बैंकका सीईओको उपस्थितिमा बैैंकर्स संघले प्रतिस्पर्धा रोक्नुका साथै एकल अंकको ब्याजदर कायम गर्ने सहमति गरेका हुन् ।

सोही सहमतिपछि जनता बैंकले शुरु गरेको बार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना बन्द गरेको बिहीवार एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । ‘विगत केही समय देखि देखिएको बजारको तरलता अवस्थालाई ध्यान दिंदै यस बैंकद्वारा लागू बार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना आज देखि लागू हुने गरी बन्द गरिएको छ,’ बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस योजनामा अत्यन्त उत्साहका साथ सहभागी जनाउनुहुने ग्राहक महानुभावहरु प्रति आभारी हुंदै हार्दिक धन्यबाद ज्ञापन गर्दछौं ।’

बैंकले अन्य बचत योजनाहरु यथावत रहेका बताएको छ । जनता बैंक नेपाल लिमिटेडले मुद्दती खातामा बढाएको ब्याजदर बिहीवारबाट लागू हुने गरी फिर्ता लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको