Like us!
Follow us!
Connect us!
Watch us!

“मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?”

आइतबार, २४ चैत्र २०७५, १५ : ०८ मा प्रकाशित

“मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?”

कैदीबन्दीको बाक्लो उपस्थितिले भरिभराउ सभा कक्ष । कक्षको एक छेउ नेपालका  लेखकका कृतिले भरिएका दराजले हलको सौन्दर्य थपेकै थियो । कारागारमा पुस्तकालय स्थापनाको मूल क्षण पर्खेर बसेका कैदीबन्दी साहित्यकारको प्रवेशले थप हौसिए । 

औपचारिक रुपमा पुस्तकालय उद्घाटन र छोटा भाषण सकिएलगत्तै शुरु भयो ‘कैदीबन्दीसँग साहित्यकार’ । त्यसपछि शुरु भयो साहित्यकारसँग कैदीबन्दीको बहस । “तपाईं घर होइन घाट मन पराउनुहुन्छ किन ? मीरा भट्टराईलाई अहिले पनि प्रेम गर्नुहुन्छ ? व्यक्तिको जीवनलाई ‘डेथ इज टोटल कम्प्लीट वेष्ट टाइम’ भनी किन व्याख्या गर्नुभएको हो ?” दैलेख कारागारका कैदीबन्दीले लेखक कुमार नगरकोटीलाई सोधे ।

“जीवन बाँचुञ्जेल केही गर्ने हो, हामी काम गर्दैछौं भने समय पुग्यो भनेर लिन आएको यमराजलाई एकछिन बाहिर पर्ख भन्न सकिन्छ” नगरकोटीले भन्नुभयो ।  “मीरा भट्टराई विवाहित थिइन् तर म प्रेम गर्थँे र अहिले पनि गर्छु भनेर ‘मिष्टिका’ मा लेखेंँ, त्यो पढेपछि एक जना अविवाहिताले विवाहको प्रस्ताव राखिन् । विवाह भयो, डेढ महीना टिकेन, सम्बन्धविच्छेद गरेर बसेंँ । मेरो स्वभावै असाधारण छ, त्यही किसिमले सोच्छु अनि लेखनीमा पनि आउँछ”, नगरकोटीले आफ्नो साहित्यिक लेखनबारे व्याख्या गर्नुभयो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयको आह्वानमा कारागारलाई किताब कार्यक्रमको उद्घाटनपछि उहाँका शब्द शब्द कैदीबन्दीले एकोहोरो सुनिरहे । कर्णाली प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहको अवधारणाअनुसार तीन महीना लामो प्रयासपछि कर्णाली प्रदेशका १० जिल्लामा कारागारलाई किताब हस्तान्तरण गरिएको छ । शाह मदन पुरस्कार विजेता लेखक हुन् । 

पुस्तकालयमा कैदीबन्दीले आफ्नो कैद भुक्तान मात्रै होइन, जीवन उपयोगी ज्ञानसमेत प्राप्त गर्नेछन् । कारागारलाई सुधारगृह बनाउने उद्देश्यसहित पुस्तकालय स्थापना गरिएको हो । कैदीबन्दीको सुधार र सामाजिक पुनःस्थापनाका लागि कारागारमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको हो । दैलेख कारागारमा भने तीन वर्ष पहिलेदेखि कारागारको आन्तरिक स्रोत र शुभेच्छुकको सहयोगले दैलेख सुधारगृह पुस्तकालय नाम दिई झण्डै सय जति किताब व्यवस्था गरी पुस्तकालय सञ्चालन भएकाले अरु जिल्ला भन्दा कार्यक्रम विशेष बन्यो ।

 पहिलेदेखि नै पुस्तकालय भएको र कैदीबन्दीमा पनि पढ्ने बानी बसिसकेका कारण शनिबार १० वटै जिल्लामा तय गरिएको ‘कारागारलाई किताब’ कार्यक्रमको उद्घाटन कार्यक्रम र कैदीबन्दीसँग अन्तक्र्रिया भिन्न र विशिष्ट रह्यो । उद्घाटनपछि किताबबारे कैदीबन्दीसँगको अन्तक्र्रिया कार्यक्रममा अर्का लेखक शेखर खरेलले एक वर्षअघि ‘सदृष्य अनलाइन डट कम’ मा लेखिएको ‘कार्ल माक्र्स, कम्युनिष्ट र कालभैरव’ लेखबारे कैदी नाइके मानबहादुर नेपालीले पढेको प्रसङ्ग सुनाएपछि इण्टरनेट सेवा उपलब्ध नहुने कारागारका कैदीबन्दीले पढेको अचम्मित भएको बताउनुभयो । 

उहाँले लेखेको मैले नदेखेको हिप्पीबारे पनि कैदीबन्दीले प्रश्न गरिदिएपछि कारागारलाई किताब अभियान नहुँदै पनि दैलेख कारागारका कैदीबन्दीले किताब पढ्ने, किताबबाट ज्ञान लिने र ज्ञान बाँड्ने गरेको पुष्टी गरेको टिप्पणी गर्नुभयो ।

अन्तक्र्रियामा ‘मोक्षान्त काठमाण्डु फिवर’, ‘फोसिल’, ‘अक्षरगञ्ज’, ‘मिष्टिका’, ‘घाटमाण्डू’ र  ‘दोचा’ कृतिका भित्री कथावस्तुबाट कैदीबन्दीका प्रश्न, उत्सुकता र टिप्पणी सुनेपछि दैलेख कारागारमा किताब पढ्ने मात्र होइन लेख्न सक्ने क्षमताको पनि विकास भएको आफूलाई लागेको नगरकोटीले  सुनाउनुभयो । 

अन्तक्र्रिया अघि पुस्तकालयको औपचारिक उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँसकोटाले पुस्तक पढ्ने बानीले सकारात्मक सोच र कल्पनाशील क्षमताको विकास हुने बताउनुभएको थियो । कारावास अवधिमा कैदीबन्दीलाई सिर्जनात्मक काममा लाग्न सिकाउने  तथा समाजमा पुनःस्थापना हुन सघाउने उद्देश्यले ‘कारागारलाई पुस्तक’ कार्यक्रम ल्याइएको उहाँले प्रष्ट्याउनुभयो । ‘कारागारलाई किताब’ उपसमितिका संयोजक जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज ठाकुरप्रसाद पोखरेल, जेलर जीतबहादुर खत्री, प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य र  कारागार बुक क्लबका अध्यक्ष मानबहादुर नेपालीले पनि पुस्तकको महत्वबारे प्रकाश पार्नुभएको थियो । कारागारलाई पुस्तक अभियानका लागि विभिन्न स्थानीय तह, नागरिक समाज र शुभेच्छुकसमेतको सहयोगमा किनिएका ६१४ नयाँ किताब र पुरानासमेत दैलेख कारागारमा अब ८७६  किताब व्यवस्था भएको जनाइएको छ । 

दैलेख कारागारमा १०९ पुरुष र १६ महिला तथा आश्रित तीन बालबालिका छन् ।  कैदीबन्दीको प्रयासमा कारागार हाताभित्रै भलिबल र  सरस्वती मन्दिर निर्माण गरिएको छ । सकारात्मक भावना विकास गर्न कारागारभित्रै योगाभ्यास गराइने जेलर खत्रीले बताउनुभयो ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको