Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेशसँग साझेदारीका लागि पाँच योजना छनोट

कमला भुसाल

मंगलबार, ०७ जेठ २०७६, १० : ५५ मा प्रकाशित

प्रदेशसँग साझेदारीका लागि पाँच योजना छनोट

अर्थ संसार,दमौली- लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो । 

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले रु एक करोडदेखि तीन करोडसम्मका पाँच योजना छनोट गरी पठाएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । उनका अनुसार छनोट गरी पठाइएका योजनामा फोहरमैला सङ्कलन केन्द्र, बसपार्क निर्माण, वडा नं १ र २ जोड्ने गुबेखोलामा पक्की पुल, वडा नं ६ स्थित तीन खोलेदेवी मन्दिर जाने कुम्ले खोलाको पक्की पुल र वडा नं ८ र ९ जोड्ने सुरौदी खोलामा पक्की पुल रहेका छन् ।

यसैगरी बैठकले जेठ १२ गतेदेखि आर्थिक वर्ष २०७६÷७७ का लागि वार्षिक योजना तथा बजेट तर्जुमा शुरु गर्ने भएको छ । असार ५ गतेसम्म विभिन्न समितिको बैठक, टोल तथा वडा भेला गर्ने निर्णय भएको छ । असार ९ गते नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने र २३ गते नगरसभा हुनेछ । बैठकले यहाँका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग गरेर नयाँ समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

‘नगरवासीसँग नगर प्रमुख’ 

नगरवासीका गुनासो, विकास निर्माणमा भएका ढिलासुस्ती र नगरवासीको सुझाव सङ्कलन गर्ने उद्देश्यले नगरपालिकाले शुरु गरेको ‘नगरवासीसँग नगर प्रमुख’ संवाद कार्यक्रमको दोस्रो संस्करण सोमबार सम्पन्न भएको छ ।

सो अवसरमा व्यास नगरपालिका–४ स्थित हरिओम टोल विकास संस्थाका अध्यक्ष हरिशचन्द्र वाग्लेले वडामा सम्पन्न हुने योजनाको गुणस्तरबारे नगरपालिकाले बेला–बेलामा अनुगमन गर्नुपर्ने बताए । नगरपालिका–४ कै हरिशचन्द्र कार्कीले आफ्नो टोलमा सडक अत्यधिक धुलो हुने गरेकाले कालोपत्र गर्न नगरपालिकासँग अनुरोध गरे । सो अवसरमा कार्यवाहक नगरप्रमुख मीरा जोशीले नगरवासीका हरेक गुनासो समाधानका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै नगरका सबै वडामा समय मिलाएर योजनाको अनुगमन भइरहेको जानकारी दिए । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको