कृष्ण न्यौपान
अर्थ संसार, काठमाडौं- बन्दीपुर केबलकार कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई शेयर प्रदान गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गादेखि वनको फेदीसम्मको जग्गा प्रयोग गरेबापत कम्पनीले स्थानीयवासीलाई शेयर प्रदान गरेको हो ।
केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने पाँच रोपनी जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिएको केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार ११ जना स्थानीयवासीलाई शेयरबापतको प्रवद्र्धक शेयर लगानी प्रमाणपत्र हस्तान्तरण गरिएको छ । 
उहाँका अनुसार बढी शेयर पाउनेले रु दुई लाख ५६ हजारसम्म पाएका छन् । पोल परेको जग्गालाई प्रतिआना रु एक लाख र तारमात्रै परेको जग्गालाई प्रतिआना रु ५० हजारका दरले मूल्याङ्कन गरी शेयरमा रुपान्तरण गरिएको शर्माले बताउनुभयो । शर्माका अनुसार एक जनालाई पनि रु एक लाख ४५ हजार नगद नै हस्तान्तरण गरिएको छ । 
केबलकार कम्पनीमा २२५ जना स्थानीयवासीले शेयर हालिसकेका छन् । स्थानीयवासीबाट केबलकार निर्माणका लागि करीब रु तीन करोड शेयर सङ्कलन भएको शर्माले जानकारी दिनुभयो । केबलकार निर्माणका लागि बन्दीपुर गाउँपालिकाले रु ५० लाख शेयर हालेको छ । “स्थानीयवासीका लागि रु १३ करोडका शेयर छुट्याएका थियौँ, अहिलेसम्म रु तीन करोड शेयर सङ्कलन भएको छ”, शर्माले भन्नुभयो, “स्थानीयवासीमा शेयरको आकर्षण बढिरहेको छ । अहिले पनि धेरैले चासो देखाइरहनुभएको छ ।” 
हाल केबलकारको पूर्वाधार निर्माणका कामलाई तीव्र पारिएको छ । केही दिनअघि मात्रै निर्माण शुरु भएको केबलकारको बटम स्टेशन भवनको काम पनि अगाडि बढेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ३८ करोड रहेको छ ।
    
केबलकारको टप स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । रु ८२ करोडको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, बेनक्युट हल र ८० कोठासहित स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार रेष्ट्रो जोन, सपिङ मल र केबलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच सय क्षमताको सभाहल उक्त भवनमा निर्माण गरिनेछ । 
प्रारम्भमा रु ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेपछि केबलकारको लागत वृद्धि भएको छ । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । 
ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । 
तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करीब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि केबलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबलकारमा दुई वटा सामान बोक्नेसहित १७ वटा बक्स रहनेछन् । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस