Like us!
Follow us!
Connect us!
Watch us!

दसैँ चाड : एक बहस र चलायमान अर्थतन्त्र

शनिबार, २५ असोज २०७६, १९ : ०३ मा प्रकाशित

दसैँ चाड : एक बहस र चलायमान अर्थतन्त्र

निनाम कुलुङ ‘मंगले’

दसैँ चाड हिन्दु धर्मालम्बीहरुको मात्रै हो कि ? सम्पूर्ण नेपालीहरुको ? वास्तवमा दसैँ कसको हो ? अनेकखाले बहस र तर्कहरु भै रहेको छ । अझ आजभोलि त यसबारेमा भुइँ तहबाटै बहस र छलफल भैरहेको छ ।

दसैँ कसको चाड ? वा भनौं नेपालका कुनकुन जातजाति, समुदाय या वर्गहरुको चाड वा पर्व हो ? भनी विगतमाभन्दा बढ्तै अथवा सघन ढंगले छलफल र बहस चली रहेको देखिन्छ । जुन बहस र छलफललाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । हुन पनि नेपाल १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बीहरुको देश हो । त्यसो भएपछि प्रश्न उठ्छ कि, विगतमा हिन्दुहरुले ‘हिन्दुहरुको मात्र महान चाड बडा दसैँ !’ पत्रपत्रिका, रेडियो र टेलिभिजनहरुमा प्रचारित–प्रसारित भएको/हुने शुभकामना विज्ञापन र सन्देशहरु हामीले भुलीसकेको छैन ।

यसरी हेर्दा दसैँ नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरुको चाड वा पर्व हो ? किटेर यसै भन्न नसकिने भएको छ ! किनभने, कोही दसैँ चाड हिन्दुहरुको मात्रै हो भन्छन् । कोही हिन्दुहरुको पनि होइन भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले २ अक्टोबर २०१९ मा एक अनलाइनमा ‘दसैँ–तिहार हिन्दुहरुको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख लेखेका थिए ।

उता १२ असोज २०७६ मा एक दैनिक पत्रिकामा डा.मदन रिमालले ‘हिन्दुको मात्रै होइन दसैँ’ शीर्षकमा लेख लेखेका छन् । त्यस्तै एक राई सरलेचाहिँ ‘दसैँ किराती राई ! हरुको चाड’ भनी एक अनलाइनमा लेख लेखेका थिए । कोही दसैँ आदिवासी जनजातिहरुले मनाउने चाड होइन भन्छन् ।

यसरी हाल आएर दसैँ चाडबारे अहिले नेपालमा खुबै बहस र छलफल भैरहेको छ । दसैँ चाड कसको हो, होइन ? भनी बहस र छलफल गर्ने क्रममा विभिन्न तथ्य, तर्क, आधार, उदाहरण र प्रमाणहरु दिने प्रयास पनि जारी नै छ । यसलाई एक हिसावले रामै्र मान्नुपर्ने हुन्छ । 

तर, खासखास तथ्य, प्रमाण, उदाहणहरु र परम्पराहरु हेर्दा दसैँ भनेको बिना कुनै धकचक हिन्दु धर्मालम्बीहरुको महान चाड हो भन्न सकिन्छ । जस्तै आर्य र खस समूहका मान्छेहरुले (खासगरी बाहुन क्षेत्रीहरुले) दशमीको दिन रातो रंगले मुसेको चामलको टिको लगाउँछन् भने, उनीहरु दशमीलाई दवजया दशमी भन्छन् । जो आदिवासी जनजतिहरुले दसैँ मनाउँछन्, उनीहरुले दहीले मुसेको सेतो टिको लगाउने गर्छन् भने कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदिले त दसैँ मनाउदैन थिए/मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ ।

त्यति मात्रै होइन, हिन्दुहरुले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा (पहिलेपहिले चैत महिनामा दसैँ मान्ने गरिन्थ्यो) अहिले पनि गाऊँघरमा सो तिथिलाई चैते दसैँ भन्ने गरिन्छ ।

त्यस्तै दसैँ आर्य खस वा बाहुन क्षेत्रीहरुले मनाउने चाड हो कि ? आदिवासी जनजातिहरु लगायत सबै नेपालीहरुले मनाउने चाड हो ? भनी बेजोडले बहस र छलफल चल्दै गरेको त माथि नै उल्लेख भएको छ । हुन पनि दसैँ कसरी सबै नेपालीको चाड हुन सक्ला ? किनभने, यहाँ इस्लाम धर्मालम्बीहरुको बसोबास छ । किरात धर्मालम्बीहरुको बसोबास छ । बौद्ध धर्मालम्बीहरुको बसोबास छ । प्राकृतिक धर्मालम्बीहरुको बसोबास छ । त्यस्तै क्रिश्चियन धर्मालम्बीहरुको पनि ठूलै संख्या छ, नेपालमा । अब हामी आफैलेसोचौं त !  माथि उल्लेखित सबै धर्मालम्बीहरुको चाड वा पर्व बडा दसैँ हुन सक्ला ?

यसरी आजभोलि दर्सैं कसको चाड हो ? भनी भुइँ तहसम्मै खुबै बहस र छलफल भइरहेको देखिन्छ । निश्चय नै यसरी बहस र छलफल हुनु राम्रो हो । हुन पनि केही दशक अघिसम्म नेपालको राज्य शंयन्त्र अन्तर्गग रहेको अर्थात् सरकारी सञ्चारमाध्यमहरु जस्तै रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ को अवसरमा हार्दिक मंगलमय शुभकमना व्यक्त गरिन्थ्यो ।

तर, आजभोलि माथि उल्लेखित सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजन बाहेक निजी क्षेत्रबाट पनि प्रशस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरु निक्लन्छन् । साथै निजी क्षेत्रबाट सञ्चालित ती टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडा दसैं लगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडहरुको अवसरमा छापिने, प्रसारित हुने र दृश्यमा देखिने शुभकामना विज्ञापन र सन्देशहरुमा  मा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ को सट्टामा ‘हिन्दुहरुको महान चाड बडा दसैं !’ को अवसरमा वा पावन अवसरमा ! शुभकामना विज्ञापन र सन्देशहरु छाप्ने, प्रसारित गर्ने र दृश्यमा देखाउन थाले ।

शुभकामना विज्ञापन र सन्देशहरु समय साक्षेप मान्न सकिन्छ । तर, केही अतिवादी हिन्दुहरुले निजी क्षेत्रको सञ्चारमाध्म जस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडा दसैं लगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडहरुको अवसरमा छाप्ने, प्रसार गर्ने र दृश्यमा देखाउने ती शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ नभनेकोमा आक्रोशपूर्ण लेखहरु लेख्ने, प्रतिक्रिया दिने गर्थे/गर्दैछन् ।

देशमा गणतन्त्र आएको, देश धर्म निरपेक्ष भएको संकेत गर्छ ? सायद विसं २०७२ असोजमा जारी भएको नेपाल र दक्षिण एसियाकै उत्कृष्ट संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको ... ’ भनी ब्याख्या थप्नु वा भनौं प्रस्टीकरण दिनुको कारण हाल खुल्दै छ । 
विसं २०६२÷०६३ मा जनताको बलमा भएको अभूतपूर्व राजनैतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दु जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैm पनि विभिन्न कार्यक्रमहरुमा पाँचजना बाहुन (बटुक भनिन्छ होला) ! हरुलाई मात्रै मन्त्रोत्उच्चारण गराईन्छ । त्यो पनि नेपालमा कुनै पनि जातवा जातिले मातृभाषाका रुपमा नबोल्ने संस्कृत भाषामा ।

के देश धर्म निरपेक्ष भएको प्रमाण यही हो ? कि भने माथि उल्लेख गरिएझैं नेपालका अन्य धर्मालम्बीका प्रतिनिधिहरुलाई पनि बोलाएर समावेश गरेर हरेक कार्यक्रममा गर्नुपर्यो । ! किनभने, त्यसो गर्दा सबै धर्मालम्बीहरुलाई समेटिएको देखिन्छ भने समावेशी पनि देखिन्छ । तर, मुखले जे सुकै भनिए तापनि एकल हिन्दुवादीहरुकै हाली मुहाली भएर पनि होला, जहिले पनि  ५ जना बटुकहरुलाई मात्रै बोलाएर शान्ति स्वस्तीका लागि संस्कृत भाषामा मात्रै मन्त्रोच्चारण गराउने गर्छन् । वा भनौं पूजा पाठ गराउँछन् । हुन त यो देशमा स्वघोषित विद्धानहरु नभएका होइनन् । तर, उनीहरुले पनि यस विषयमा खासै कुरा उठाउँदैनन् ।

हुन त राज्यको स्रोत, साधन, पहुँच र मिडियाहरु पनि उनीहरुकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समावेशीता, धर्म निरपेक्षता लगायत उत्पीडितहरुको पक्षमा खासै वकालत गर्दिने मान्छेहरु वा भनौं विषय विज्ञ, विद्धान, प्रा.डा., विश्लेषक, लेखक, पत्रकारहरु भेटिदैनन् ।  

त्यसैले के भन्न सकिन्छ भने, नेपालका थोरै हिन्दु अतिवादका मान्छेहरुले अझै पनि आफ्नो  पूरानो ढर्रा वा बिरासतलाई नै यो वा त्यो नाममा कायमै राख्न चाहन्छन् । देशका अन्य जात, जाति, समुदाय, भाषाभाषी, धर्म, सम्प्रदाय आदिलाई जोर–जबरजस्ती ! हिन्दु धर्म, हिन्दु संस्कार, हिन्दु संस्कृतिआदि लाद्न चाहन्छन् । उनीहरु अभैm पनि देशको वास्तविक धरातललाई स्वीकार्न तयार छैनन् ।

हुन पनि ती अतिवादी हिन्दु समूहका मान्छेहरु दशैं–तिहारलाई केवल हिन्दुहरुको मात्रै चाड हो भनी विभिन्न मिडियाहरुमा शुभकामना सनदेश निक्लन थालेकोमा र, सोही बमोजिम प्रचारप्रसार गर्ने गरेकोमा समेत रिसाउने वा भनौं असन्तुष्ट हुने गरेका छन् । यता आदिवासी जनजाति मानिसहरु जो क्षणिक राजनैतिक स्वार्थ र, व्यक्तिगत स्वार्थ बोकेका छन्, उनीहरुले पनि दसैं–तिहारलाई हाम्रो चाड होइन पनि भन्ने तर, त्यही दसैं–तिहारको उपलक्ष्यमा टन्न मासुभात र, जाँडरक्सी पनि खान छाड्दैनन् । झन् तिहारमा देउसी–भैलो खेल्न त तछाड–मछाड नै चल्छ ।  

 जे होस्, दसैं–तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले कथित् नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरु दिए । साथै हिन्दु धर्म अनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरुलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरुले पनि हिन्दु धर्म मान्नु पर्ने र, रैती अर्थात् ज्यमी, जमी वा जिमीहरुलाई पनि बडादसैंमा टीको–जमरो लगाईदिएर हिन्दु धर्म मान्नै पर्ने वाध्यतात्मक परिस्थिति सिर्जना गराईयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ । तर, यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाईन्थ्यो ।

त्यसरी घुमाई सकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाको रगतमा चोपलेर पञ्जा छाप लगाउनु हुन्थ्यो । बालापन न हो, हामीलाई कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाईएला, टन्न मासु भात खान पाईएला, रोटेपिङ खेल्न पाईएला, बजार जान पाईएला र, रमाईलो गर्न पाईएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाण्डौ आएर केही बुझ्ने भएर गाउँ फर्कँदा (२०४६ को परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो– ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ।’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डित प्रति लक्षित थियो ।

त्यसैले नेपाल जस्तो १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बी बसोबास गरेको देशमा हिन्दु धर्म नै राष्ट्रिय चाड हुन सक्छ कि सक्दैन ? अभैm पनि व्यापक रुपमा बहस र छलफल हुनु पर्छ । साथै तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजाति लगायत जात जातिका मान्छेहरुले मान्ने र उनीहरुका चाडबाड, संस्कार–संस्कृतिहरुलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय चाडको रुपमा मान्यता दिनु पर्ने हुन्छ । हुन त त्यही भएर पनि होला, राज्यले विगतमा हिन्दुहरुको महान चाड बडा दसैंमा दिदै आएको लामो विदा कटौती गरेर छोट्याएको पनि छ ।

त्यसो त जसले जे भने तापनि दसैँ चाडको अवसरमा दसैँ आसपासको ३ महिनामा मात्रै मात्रै देशको वर्षभरिको सम्पूर्ण आर्थिक कारोबरको आधा रकम बराबारको व्यापार हुने गरेको भनी केही समयअघि कारोबार दैनिकमा आएको समाचारमा उल्लेख थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको