अर्थ संसार, काठमाडौं - गत असोज मसान्तदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ । मंगलवार बसेको मन्त्रीस्तरीय बैठकले सेबोनको अध्यक्ष छनोट गर्न अर्थ मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएपछि बुधवार समिति गठन गरिएको हो ।
आयोगका सदस्य डा। रामकुमार फुँयाल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका राजस्वसचिव शिशिर ढुंगाना र विज्ञको रूपमा स्वतन्त्र व्यक्ति कृष्ण आचार्य सदस्य रहेका छन् । निवर्तमान अध्यक्ष डा। रेवतबहादुर कार्कीको पदावधि गत असोज ३० गते सकिएपछि उक्त पद खाली थियो ।
समितिका अनुसार बिहीवार प्रारम्भिक बैठक बस्नेछ । ‘अध्यक्षको पद खाली भएको धेरै समय भइसक्यो । अब धेरै ढिला गर्नुहुँदैन । समितिले कार्यविधि बनाएर छिटै छनोट प्रक्रिया अघि बढाउँछ,’ समितिका एक सदस्यले भने । संस्था हाँक्न सक्ने, अनुभवी, दक्ष र बहुआयामिक व्यक्तिलाई अध्यक्ष बनाउने तयारी गरिएको उनको भनाइ छ ।
समितिले अध्यक्ष चयनका लागि आवेदन खुलाउने वा अन्य प्रक्रिया अपनाउने भन्नेबारे निर्णय गर्न बाँकी छ । उक्त पदका लागि सेबोनकै पदाधिकारी, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक, आईक्यानका पूर्वअध्यक्ष लगायतले इच्छा व्यक्त गरेको पाइएको छ । सेबोनमा २३ वर्षदेखि कार्यरत कार्यकारी निर्देशक नीरज गिरी र १६ वर्षदेखि कार्यरत डेपुटी कार्यकारी निर्देशक डा। नवराज अधिकारी अध्यक्षको दाबेदारी गर्ने मनस्थितिमा छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस