Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको सफ्टवेयर खरीदमा अनियमितता भएकाे धितोपत्र बोर्डकाे दाबी

शुक्रबार, १७ माघ २०७६, १२ : २७ मा प्रकाशित

नेप्सेको सफ्टवेयर खरीदमा अनियमितता भएकाे धितोपत्र बोर्डकाे दाबी

अर्थ संसार, काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन सञ्चालनका लागि सफ्टवेयर खरिद गर्दा अनियमितता भएकाे पाइएकाे छ । 

छानबिन समितिले निकालेकाे निष्कर्ष अनुसार सार्वजनिक खरिद ऐनको उल्लंघनका साथै कम गुणस्तरको सफ्टवेयर खरिद गरिएको  छ ।

त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा धितोपत्र बोर्डले गठन गरेको ‘नेप्सेको विद्युतीय प्रणाली तथा डिस्प्ले बोर्ड खरिदसम्बन्धी छानबिन’ समितिले स्वचालित विद्युतीय कारोबार प्रणालीका लागि सफ्टवेयर खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको जानकारी आएकाे छ ।

यस्तै, नेप्सेले खरिद गरेको सफ्टवेयरबाट २०७५ साल कात्तिक २० गते देखि कारोबार सुरु गर्दा समस्या देखिएपछि अख्तियारले अध्ययन गर्न बोर्डलाई निर्देशन दिएको थियो । बोर्डले छानबिन गरी प्रतिवेदन समेत अर्थ मन्त्रालयमा पेस गरिसकेको छ ।

उक्त प्रतिवेदनमा उल्लेख भए अनुसार ‘नेप्सेबाट विद्युतीय कारोबार प्रणाली स्थापना गर्ने क्रममा सार्वजनिक खरिद ऐन नियमका व्यवस्था पूर्ण रूपमा पालना गरी स्तरीय प्रणाली, सफ्टवेयर तथा डिस्प्ले बोर्ड खरिद गर्न खुला, पारदर्शी, वस्तुनिष्ठ तथा विश्वसनीय प्रक्रिया अवलम्बन गरेको नदेखिएको,’ छ ।

अनलाइन सञ्चालनका लागि खरिद गरिएकाे उक्त सफ्टवेयर करिव सवा ११ करोड रुपैयाँ लागतमा वाइको प्रालिले बनाएको हो ।

यसैगरी, सेयर कारोबारबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सार्वजनिक स्थानमा राखिएको विद्युतीय बोर्ड (डिस्प्ले) खरिदमा पनि अनियमितता भएको प्रतिवेदनको निष्कर्ष रहेकाे छ ।

‘अनलाइन प्रणाली सञ्चालनमा ल्याएको लामो समयसम्म पनि प्रयोगकर्ता स्वीकार परीक्षण (युजर एसेप्टेन्स टेस्ट– यूएटी) कै चरणमा रहेको तथा गम्भीर प्रकृतिका कमीकमजोरी देखिएको,’ प्रतिवेदनमा उल्लेख छ, ‘ग्राहकले धितोपत्र खरिदबिक्रीका लागि आदेश दिएपछि ग्राहकको बैंक खाता तथा डिम्याट खाताको वास्तविक स्थितिअनुसार आदेश कार्यान्वयन हुनुपर्नेमा सो पूर्ण रूपमा हुन नसकेकाले नेप्सेले खरिद गरेको सफ्टवेयर स्तरीय भन्न सकिने अवस्था नभएको ।’

 ‘डिस्प्ले बोर्ड खरिद गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ को उपनियम (१) बमोजिमको व्यवस्थाको पालना नगरेको र खरिद गरिएका मध्ये पहिलो डिस्प्ले बोर्डले कारोबारसम्बन्धी वास्तविक समय जानकारी (लाइभ तथ्यांक) सम्प्रेषण नगरेको,’ प्रतिवेदनमा भनिएको छ । दोस्रो डिस्प्ले बोर्ड सञ्चालनमा नरहेकाले सम्पत्तिको समुचित उपयोग गरेको नपाइएको समितिको ठम्याइ छ ।

यस्तै, पुरानो कारोबार प्रणाली हटाई नयाँ नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) लागू गर्नुपर्नेमा पुरानैलाई नयाँले प्रतिस्थापन गरेको निष्कर्ष पनि प्रतिवेदनले निकालेको छ । 

‘नट्समा अविलम्ब लगानीकर्तालाई दिइएको सीमासम्म मात्र लगानीकर्ताले कारोबार गर्न सक्ने प्रणालीले नै सुनिश्चित गर्नुपर्ने, धितोपत्रको बिक्री आदेश राख्दा प्रणालीले नै ग्राहकको सेयर खातामा सेयरको उपलब्धता एकिन गरेर मात्र प्रणालीमा बिक्री आदेश प्राप्त हुने र कारोबार डिम्याट खाता तथा बैंक खातासँग पूर्ण रूपमा एकीकृत हुनुपर्ने भनिएतापनि नट्समा धेरै समस्या देखिएको,’ प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

त्यस्तै, नट्स खरिद प्रक्रियामा पनि पूर्ण प्रतिस्पर्धा नगराई आफूले चाहेको कम्पनीलाई जिम्मा दिएकाले सार्वजनिक खरिद ऐनविपरीत भएको प्रतिवेदनले देखाएको छ । -  कान्तिपुर (माघ १६ गते, बिहीबार)

                  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको