नेपाल धितोपत्र बोर्ड (सेबोन)मा जारी कर्मचारी आन्दोलन २० दिनमा प्रवेश गरेको छ। अर्थ मन्त्रालयले आफ्नो निर्णयमा कुनै परिवर्तन नगर्ने स्पष्ट सन्देश दिएपछि आन्दोलन झन् जटिल बन्दै गएको छ।
अर्थ मन्त्रालयको तर्फबाट बोर्ड सञ्चालक बनेका सहसचिव उत्तर खत्रीले आज बसेको बोर्ड बैठकमा मन्त्रालयको अडान प्रष्ट पारेका छन्। उनका अनुसार, सेबोनको कर्मचारी कल्याण कोष (२०७१) र कर्मचारी सुरक्षा कोष (२०७५) खारेज गर्ने निर्णय फिर्ता गर्ने कुनै योजना मन्त्रालयसँग छैन।
दशैं बिदापछि कार्यालय खुले पनि सेबोनका कर्मचारीहरूले निरन्तर कार्यबहिष्कार गर्दै आएका छन्। उनीहरू कार्यालयमा उपस्थित भए पनि नियमित काम ठप्प छ। अर्थ मन्त्रालयको असोज २ गतेको पत्रलाई उनीहरूले बोर्डको स्वायत्ततामाथि ठाडो हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।
आजको बोर्ड बैठकका क्रममा कार्यालयको वातावरण थप तनावग्रस्त बनेको थियो। सहसचिव खत्रीले मन्त्रालयको अडान सुनाएपछि केही समयमै कार्यालय छोडेका छन्। त्यही बेला बाहिर लगानीकर्ताहरूले सेबोन कार्यालय घेराउ गर्दै तत्काल माग पूरा गर्न दबाब दिइरहेका थिए।
अध्यक्ष सन्तोष नारायण श्रेष्ठ कार्यालयमै रहेका बेला बोर्डको मुख्य गेट लगानीकर्ताले ताला लगाएका थिए। यसबीचमा सेबोन कर्मचारीहरू नैतिक रूपमा कमजोर बनेका छन् र आन्दोलनको आगामी रणनीति भोलि निर्धारण गर्ने तयारीमा छन्।
कर्मचारी आन्दोलनसँगै लगानीकर्ताको दबाब र मन्त्रालयको कडाइका कारण सेबोन कार्यालयको वातावरण पछिल्ला दिनमा निकै तनावपूर्ण बनेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस