Like us!
Follow us!
Connect us!
Watch us!

तिहार अघि नेप्सेमा सूचीकृत २५ कम्पनीले गरे लाभांश घोषणा, कसका सेयरधनी कति पाउँछ बोनस ?

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०८२, ०८ : २० मा प्रकाशित

तिहार अघि नेप्सेमा सूचीकृत २५ कम्पनीले गरे लाभांश घोषणा, कसका सेयरधनी कति पाउँछ बोनस ?

तिहार अघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २५ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । विभिन्न २५ कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । कार्तिक २ गतेसम्मको अवधिसम्ममा लाभांश घोषणा गरेका कम्पनीहरुले ५ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । यस वर्ष लाभांश घोषणा गरेका अधिकांश कम्पनीले बोनस सेयरमै जोड दिएको देखिन्छ । गत आइतबारसम्म नगद लाभांश घोषणा गरेका मध्ये माछापुच्छ्रे बैक, मञ्जुश्री फाइनान्स, सानिमा बैंक र भगवती हाइड्रोपावरले मात्रै साधारण सभा सम्पन्न गरेका छन् ।

अहिलेसम्म ७ वटा बैंक, ४ वटा विकास बैंक, ५ वटा हाइड्रोपावर, २ वटा इन्भेष्टमेन्ट कम्पनी, ३ वटा उत्पादनमूलक क्षेत्रको कम्पनी, २ वटा लघुवित्त कम्पनी र एक–एक वटा फाइनान्स र अन्य क्षेत्रको कम्पनीले लाभांश घोषणा गरेका छन् । सधैंजसो धेरै लाभांश घोषणा गर्ने कम्पनीमा युनिलिभर नेपाल रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट १८ सय ४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले अहिलेसम्म बुकक्लोजको सूचना भने निकालेको छैन । अहिलेसम्म लाभांश घोषणा कम्पनीहरुमध्ये हाथवे इन्भेष्टमेन्ट नेपालले गत भदौ ३१ गते साधारण सभा सम्पन्न गरिसकेको छ भने माछापुच्छ्रे बैंकले असोज १० गते साधारणसभा गरेर नगद लाांश समेत वितरण गरिसकेको छ । कम्पनीले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनी लिमिटेडले असोज ८ गते बुक क्लोज गरिसकेको छ । कामना सेवाले असोज २४ गते तथा युनिभर्सल पावरले असोज २३ गते साधारण सभा गरिसकेको छ । त्यस्तै नेपाल ल्युव आयल लिमिटेडले असोज ३१ गते साधारण सभा गरिसकेको छ । यता सानिमा बैंकले कार्तिक २ गते साधारण सभा सम्पन्न गरेको छ । त्यस्तै भगवती हाइड्रोपावरले लाभांश घोषणासहित साधारण सभाको मिति पनि सार्वजनिक गरेको छ । कम्पनीले लगानीकर्तालाई १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश घोषणा गर्दै कार्तिक २ गते साधारण सभा गरेको छ । बुक क्लोज गरिसकेका कम्पनीमध्ये मुक्तिनाथ विकास बैंकले कार्तिक १५ गते र एभरेष्ट बैंकले कार्तिक १२ गते साधारण सभा गर्दैछ ।
धेरै लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये युनिलिभर पछि नेपाल ल्यूव आयलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीको १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनससहित कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सेबोनमा १ बराबर २ को अनुपातमा हकप्रद निष्काशन गर्ने आवेदन पेन्डिङमा छ ।

बैंकहरुमध्ये एभरेष्ट बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनससहित २० प्रतिशत लाभांश घोषणा गरेको छ । गत वर्षको नाफाबाट यस वर्ष सानिमा बैंकले ७.३७ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको छ भने सिटिजन्स बैंकले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । सिद्धार्थ बैंकले ५ प्रतिशत नगद र ५.५३ प्रतिशत १०.५३ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । ग्लोबल आईएमई बैंकले पनि लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश नै घोषणा गरेको छ । 

यता विकास बैकमध्ये मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनससहित १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ भने कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनससहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै गरिमा विकास बैंकले ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद गरेर कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ भने मितेरी विकास बैंकले १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यता फाइनान्स कम्पनीमध्ये मञ्जुश्री फाइनान्सले १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तमा अहिलेसम्म गुराँस र आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरेका छन् । गुराँसले १४.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करबापत् ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने आरएसडीसी लघुवित्तले ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । गुराँस लघुवित्तले कार्तिक १४ गते बुक क्लोज मिति घोषणा गरेर कार्तिक २३ गते साधारणसभा गर्नेछ । हाइड्रोपावर समुहका सबै कम्पनीले बोनस सेयर तथा बोनस सेयरको कर प्रयोजनको लागि थोरै मात्रामा नगद लाभांश दिएका छन् । सिक्लेस र मिडसोलु हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनससहित १५.७८९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत तथा युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद गरी ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ । भगवती हाइड्रोपावरले भने १४ प्रतिशत बोनस र ६ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश घोषणा गरेको छ । यता युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस र त्यसमा लाग्ने करबापतको लागि ०.४७ प्रतिशत नगद लाभांश गरेर कुल ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यता लगानी समूहबाट हाथवे इन्भेष्टमेन्ट नेपालले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद सहित १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरिसकेको छ । यता नेपालको एक मात्रै पूर्वाधार विकास बैंकले यस पटक लगानीकर्तालाई ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्ष लगानीकर्ताको हात खाली गरेको थियो । उत्पादनमूलक समूहतर्फ युनिलिभर नेपाल, नेपाल ल्युव आयलसँगै हिमालयन डिष्टिलरीले समेत लाभांश घोषणा गरेका छन् । हिमालयन डिष्टिलरीले लगानीकर्तालाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । अन्य समूहतर्फ अहिलेसम्म मुक्तिनाथ कृषि कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस र ०.४२प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको