अर्थ संसार
काठमाडौं–सगरमाथा पोल्यूशन कन्ट्रोल कमिटी (एसपीसीसी)सँगको सहकार्यमा तारा एयरले सोमवारदेखि सगरमाथा क्षेत्रमा फोहर ब्यवस्थापना शुरु गरेको छ । एसपीसीसीले बार्षिक रुपमा करिव १२ टन फोहर संकलन गर्ने योजना बनाएको थियो ।
एसपीसीसीले सगरमाथा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र अन्तर्गतका चौरिखर्क, नाम्चे र खुम्जुङ गरी तीन गाबिसबाट २ दशमलव ६ टन मात्र फोहर संकलन गरेको छ । यसरी संकलित फोहर एसपीसीसीले लुक्लामा सञ्चय गर्ने गरेको छ । तारा एयरले एसपीसीसीसँग सहकार्य गर्दै लुक्लामा संकलित फोहर जम्मा गरी काठमाडौंमा ब्यवस्थापन गर्न निःशुल्क सहयोग उपलब्ध गराउने छ ।
कम्पनीका अनुसार यसका लागि उपयुक्त तरिकाले लुक्लाबाट काठमाडौं उडानको ब्यबस्था मिलाइएको छ । पर्यटनबाट यस क्षेत्रमा हुने नकारात्मक वातावरणीय असरलाई न्यूनिकरणमा टेवा पुर्याउने सोचका साथ ताराले यस क्षेत्रबाट सम्भव भएसम्म फोहर हटाउने प्रयासको थालनी गरेको जनाएको छ ।
सन् २००८ को बसन्तमा एसपीसीसी र स्थानिय वातावरण सम्बन्धित गैह्र सरकारी संस्था द हिमालयन क्लबसँगको सहकार्यमा तारा एयरले करिव १७ टन बियरका खाली बोतल लुक्लाबाट काठमाडौंमा उतारेको थियो ।
सन् १९९१ देखि एभरेष्ट क्षेत्रको फोहर समस्याको सम्बोधन गरिरहेको एसपीसीसी फोहर ब्यवस्थापन समाधान तथा वकालतका लागि नमुनाका रुपमा स्थापित भइसकेको छ ।स्थानिय समूदायहरुको प्रत्यक्ष समन्वयमा यसले प्रमुख बासस्थान तथा ट्रेकिङ ट्रेल्समा रहेका फोहर ब्यवस्थापन गरिरहेको छ ।
एसपीसीसी खुम्बी क्षेत्रलाई सफा राख्न दिगो फोहर ब्यवस्थापन योजना विकास गर्ने कार्यमा केन्द्रित रहेको छ । अभियानले पर्यटकका साथै स्थानीयमा उच्च हिमालय क्षेत्रको पारिस्थितिक सन्तुलनको महत्वबारे जागरुकता ल्याइ यसको थप विकासमा उल्लेख्य तेवा पुर्याउने दुबै संस्थाले विश्वास लिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस