Like us!
Follow us!
Connect us!
Watch us!

इरानद्वारा ‘स्ट्रेट अफ हर्मुज’ बन्दको घोषणा, विश्व बजारमा तेल आपूर्तिमा संकट

अर्थ संसार

विहीबार, २८ जेठ २०८३, १० : ५४ मा प्रकाशित

इरानद्वारा ‘स्ट्रेट अफ हर्मुज’ बन्दको घोषणा, विश्व बजारमा तेल आपूर्तिमा  संकट

अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ ।  जसका कारण विश्व बजारमा तेलको हाहाकार र गम्भीर आर्थिक संकटको जोखिम निम्तिएको छ ।

हालै भएका अमेरिकी हमला र इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीको जवाफमा यो कदम चालिएको स्पष्ट पार्दै इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) र संयुक्त सैन्य कमान्डले अब कुनै पनि जहाजले यो जलमार्ग पार गर्न खोजेमा लक्षित गरिने कडा चेतावनी दिएका छन् । फारसको खाडीबाट विश्व बजारमा तेल र ग्यास निर्यात गर्ने मुख्य लाइफलाइन मानिने यो मार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र ठूलो मात्रामा तरल प्राकृतिक ग्यास निर्यात हुने गर्दछ ।

जसमा साउदी अरब, इराक, कुवेत, यूएई र कतार जस्ता प्रमुख उत्पादक देशहरू पूर्ण रूपमा निर्भर छन् । इरानको यो नाकाबन्दीका कारण ब्रेन्ट क्रुडको मूल्य आकासिएर प्रति ब्यारेल १५० देखि २०० अमेरिकी डलरसम्म पुग्न सक्ने र यसले विश्वव्यापी रूपमा चरम महँगी र आर्थिक मन्दी निम्त्याउने विश्लेषकहरूको अनुमान छ । यस निर्णयले गर्दा भारत, चीन, जापान र दक्षिण कोरिया जस्ता एसियाली मुलुकहरू र युरोपमा इन्धनको चरम अभाव हुने देखिएको छ भने बीमा कम्पनीहरूले कभरेज अस्वीकार गरेपछि सयौँ ट्यांकरहरू समुद्रमै अड्किएका छन् ।

नेपाल प्रत्यक्ष रूपमा यस जलमार्गसँग नजोडिए पनि भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य वृद्धिको सीधा असर यहाँ पनि पर्नेछ । जसले गर्दा पेट्रोल, डिजेल र ग्यासको मूल्य बढेर ढुवानी, उद्योग र कृषि क्षेत्रमा ठूलो आर्थिक चाप थपिनेछ । अमेरिका र इजरायलसँगको तनाव चरम सीमामा पुगेको बेला चालिएको यो कदमले युद्ध अर्को भयानक चरणमा प्रवेश गरेको संकेत गरेको छ र सम्भावित विश्वव्यापी संकट टार्न अन्तर्राष्ट्रिय समुदायले तुरुन्त वार्ता र मार्ग खोल्न आह्वान गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको