Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सहभागि जनसंख्या २६ प्रतिशत बढी, डिम्याट खाता खोल्ने कति पुगे ?

अर्थ संसार

विहीबार, २८ जेठ २०८३, १५ : २३ मा प्रकाशित

सेयर बजारमा सहभागि जनसंख्या २६ प्रतिशत बढी, डिम्याट खाता खोल्ने कति  पुगे ?

सेयर बजारमा प्रवेश गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको देखिएको छ । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा डिम्याट खाता खोल्नेको संख्या ७९ लाख भन्दा माथि पुगेको हो । बोर्डको तथ्यांक अनुसार पछिल्लो ६ बर्षको अवधिमा डिम्याट खाता खोल्नेको संख्या ६२ हजार २ हजार ५७ ले बढेको देखिएको छ । 

बोर्डका अनुसार २०७७ सालको असार मसान्तसम्ममा १७ लाखको हाराहारीमा रहेको डिम्याट खाता खोल्नेको संख्या चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा आइपुग्दा ७९ लाख २ हजार ५७ पुगेको हो । पछिल्ला वर्षहरुमा नेपालीहरुमा पुँजी बजार प्रतिको चासो बढ्दै गएको पनि यो तथ्यांकले दर्शाउँछ । २०७७ को असार मसान्तसम्मा १७ लाखको ३५ हजारले डिम्याट खाता खोलेका थिए । त्यस पछिका वर्षहरुमा हरेक वर्ष डिम्याट खाता खोल्नेको संख्यामा उच्च वृद्धि देखिएको छ । 

बोर्डका अनुसार आव  २०७७/७८ को अन्त्यसम्ममा डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ३६ हजार ९ सय २६ पुगेको थियो । त्यस्तै आव २०७८/७९ को अन्त्यमा उक्त संख्या बढी ५१ लाख ५० हजार पुगेको थियो । । आव २०७९/८० को अन्त्यमा उक्त संख्या ५६ लाख ६५ हजार पुगेकोमा गत आ.व. २०८०/८१ को अन्त्यमा सो संख्या ६२ लाख ७२ हजार ३५१ पुगेको थियो । आ.व. २०८१/८२ को असार मसान्तसम्म डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या ६९ लाख ९७ हजार ९०० रहेकोमा चालु आ.व. को वैशाख मसान्तसम्म उक्त संख्या ७९ लाख २ हजार ५७ पुगेको छ । 

२६ प्रतिशतमा डिम्याट खाता, कुन प्रदेशमा कति ? 

नेपालको कुल जनसंख्याको २६ प्रतिशत भन्दा बढी नागरिकको डिम्याट रहेको देखिन्छ । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी बाग्मती प्रदेशमा ३३.८५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ३.०४ प्रतिशत खाता खुलेको देखिन्छ । त्यसैगरी कोशी प्रदेशमा १८.९४, गण्डकी प्रदेशमा १२.३४ प्रतिशत, लुम्बिनी प्रदेशमा १२.२०, मधेश प्रदेशमा १२.८१ र सुदुरपश्चिम प्रदेशमा ६.७४ प्रतिशत डिम्याट खाता खोलेको पाईन्छ ।

डिम्याट खाताको प्रवृत्ति विश्लेषण गर्दा नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताहरुको संख्या अत्याधिक रहेको छ । जसमा पुरुष ५७.२१ प्रतिशत, महिला ४२.६७ प्रतिशत रहेको सिडिएसको तथ्यांकले देखाएको छ । त्यस्तै उमेरका आधारमा डिम्याट खाताको अवस्थालाई हेर्दा नवजात देखि १८ वर्ष उमेर समूहका लगानीकर्ताको संख्या १२.३१ प्रतिशत, १९ देखि ३० वर्ष समूहका लगानीकर्ताहरुको ३०.१२ प्रतिशत, ३१ देखि ४० वर्ष समूहका २३.२४ प्रतिशत, ४१ देखि ६० वर्ष समूहका २५.८७ प्रतिशत, ६१ देखि ७० वर्ष समूहका ५.३८ प्रतिशत र ७१ वर्ष भन्दा बढी उमेर समूहका ३.०४ प्रतिशतको डिम्याट रहेको पाईन्छ ।

६८ लाख ६७ हजार पुगे मेरो सेयर खाता खोल्ने  

डिम्याटसँगै मेरो सेयर खाता खोल्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार २०७७ सालमा करिब ७ लाख मेरो सेयर खाता रहेकोमा चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा आइपुग्दा त्यो संख्या ६८ लाख ६७ हजार पुगेको छ । बोर्डका अनुसार २०७८ को असार मसान्तसम्मा मेरो सेयर खाता खोल्नेको संख्या २८ लाख ५१ हजार ८ सय ३ पुगेको थियो । आव २०७८/७९ को अन्त्यमा उक्त संख्या ४३ लाख ६८ हजार ६३९ पुगेको थियो । 

आव २०७९/८० को अन्त्यमा उक्त संख्या ४७ लाख ४१ हजार ५५ पुगेको देखिन्छ । आव २०८०÷८१ को अन्त्यसम्म उक्त संख्या ५३ लाख २२ हजार ९ सय ६९ पुगेको छ । बोर्डका अनुसार २०८१/८२ को अन्त्यसम्म ५९ लाख ७३ हजार रहेकोमा चालु आवको वैशाख मसान्तसम्म सो संख्या ६८ लाख ६७ हजार पुगेको छ । मेरा सेयर खाता खोल्नेको संख्या नेपालको कुल जनसंख्याको करिब २३ प्रतिशत हुन आउँछ ।

कतिले चलाउँछन् टिएमएस ? 

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि प्रत्येक लगानीकर्ताहरुले टिएमएस खाता खोल्नु पर्ने हुन्छ । पछिल्लो वर्षहरुमा यस्तो खाता खोल्ने  लगानीकर्ताको संख्यामा समेत उल्लेख्य वृद्धि आएको छ । २०७७ असारमा धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि टिएमएस खाता खोल्ने लगानीकर्ताको संख्या करिब ३५ हजार हारहारीमा रहेको थियो । 

त्यस्तै टिएमएस खाता खोल्नेको संख्या २०७८ असारमा ७ लाख ९५ हजार ९३४, आव २०७८/७९ मा १४ लाख ८५ हजार ४६० र आव २०७९/८० को अन्त्यसम्म १७ लाख ६३ हजार ३०१ रहेको थियो । २०८०/८१ को अन्त्यसम्म उक्त खाता खोल्नेको संख्या २२ लाख १६ हजार २४७ पुगेकोमा आव २०८१/८२ को अन्त्यसम्म २६ लाख ३३ हजार ५१० पुगेको छ । चालु आवको वैशाख मसान्तसम्म उक्त खाता खोल्ने लगानीकर्ताको संख्या ३२ लाख ७८ हजार पुगेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको