सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आज देखि सर्वसाधारणका लागि प्राथमिक सेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
अनुमति पाएको उक्त सेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८५ हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । अब भने कम्पनीले दोस्रो चरणमा १७ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
सो आईपीओमा असार २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असार ११ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको ‘मेरो सेयर’ वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । सोभन्दा बढीका लागि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । पछिल्लो समय माग भन्दा निकै धेरै आवेदनहरु पर्ने गरेकाले यो कम्पनीमा पनि धेरै आवेदन पर्ने निश्चित छ । यसरी हेर्दा यो कम्पनीको आईपीओमा आवेदन दिने आवेदकमध्ये ७० हजार ५५० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्न सक्नेछन् । यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नहुने भएकोले लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ ।
साधारण सेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ पुस ८ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो ।
कस्तो कम्पनी हो ?
सर्वोत्तम पेन्टस् ईण्डष्ट्रिज २०७१ माघ ९ गते प्रा.लि.को रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७९ असार ३१ गतेदेखि प्रा.लि.बाट पब्लिक लिमिटेडमा परिणत भई कारोबार सञ्चालन गरिरहेको छ । सो सम्बन्धमा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयको २०७९ असार ३० गते पत्र प्राप्त भएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रचलित कानुन तथा नियमानुसार आवश्यक प्रक्रिया पूरा गरी २०७१ माघ ९ कारोबार सञ्चालन गर्ने आधिकारिक स्वीकृति प्राप्त गरेको थियो र सोही स्वीकृतिको आधारमा कम्पनीले आफनो व्यवसायिक गतिविधिहरु सञ्चालन गर्दै आएकोे छ ।
कम्पनीको रजिष्टर्ड कार्यालय (कर्पोरेट कार्यालय) कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नं. २ (साविकको मालाखेती गा.वि.स. वडा नं. ४) मा रहेको छ । कम्पनीले कैलाली जिल्लाको साविकको मालाखेती गा.वि.स.वडा नं.४ हाल गोदावरी नगरपालिका वडा नं.२ मा विभिन्न रङ उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यको उद्योग स्थापनार्थ प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन नेपाल सरकार, उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विभागबाट २०७२ असार ३० गते स्वीकृत प्राप्त गरेको थियो । यसको पेटेण्ट, डिजाईन ट्रेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम ब्रान्डनेम ‘सर्वोत्तम पेन्ट्स’ रहेको छ।
कम्पनीले २०७४ सालमा आफ्नो टिन्टिङ्ग सिस्टम र जी–डाटा विकास गर्दै एउटा अटोमेटिक र १२ वटा म्यानुअल मेशिनहरु सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँका डिलरहरुमा जडान गरी ग्राहकको रोजाई अनुसारका रङहरु तयार गर्ने गरेको छ । सोही वर्षको अन्ततिर कम्पनीले सुदुरपश्चिम प्रदेश बाहिर कर्णाली, लुम्बिनी तथा बागमती प्रदेशको काठमाडौंसम्म डिलर सञ्जाल विस्तार गरी डिलर टिन्टिङ्ग मेसिनको संख्या ६० वटा अटोमेटिक तथा ६५ वटा म्यानुअल मेशिनहरु मार्फत ग्राहकको रोजाईका रङहरु उपलब्ध गराई रहेको छ ।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग हुन्छ ?
आईपीओ निष्काशनबाट प्राप्त हुने पूँजी रकमलाई कम्पनीले हेटौँडा औद्योगिक क्षेत्र तथा गोदावरी नगरपालिका, हरैया, कैलालीमा भवन निर्माण, मेशिन तथा उपकरण खरिद र जडान कार्य गर्न र सामान ओसारपसार तथा ढुवानीका साधन खरिद गर्न प्रयोग गर्ने जनाएको छ ।
कम्पनीको वित्तीय अवस्था
यो कम्पनीको वित्तीय अवस्था हेर्दा गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा २ करोड ५९ लाख ३४ हजार रुपैयाँ थियो । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ १७ पैसा रहेको थियो भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५८ पैसा थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा ४ करोड १८ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
संक्षिप्त वित्तीय विवरण
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ करोड १० लाख २ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ९४ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस