अर्थ संसार, काठमाडौं – डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.को आयोजनामा यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ हुने भएको छ । बुधबार आयोजक संस्था डिएआर मुभिजले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी दिएको हो ।
‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित उक्त महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक नवराज ढुंगानाले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा आयोजक संस्थाको तर्फबाट संयोजक ढुंगानाले नै विज्ञप्ती वाचन गरेका थिए ।
यसैगरी, पत्रकार सम्मेलनमा महोत्सवका परिकल्पनाकार माधव थापा, संचार संयोजक चन्द्रमणि गौतम, निर्णायक संयोजक नवराज घोरासैनी, निर्णायक मण्डलकी अध्यक्ष सीता थापा, सांस्कृतिक संयोजक अमृत खाती र अतिथि संयोजक भीमसेन खतिवडाको उपस्थिति रहेको थियो ।
उनीहरूले उक्त महोत्सव भव्य रूपमा सफलताका साथ सम्पन्न गरिने विश्वास दिलाएका छन् । आयोजकका तर्फबाट उक्त महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराईएको छ । पत्रकार सम्मेलनको संयोजन तथा सञ्चालन भने डिजिटल मिडिया संयोजक राजु बोहराले गरेका थिए ।
उक्त महोत्सवको उद्घाटनमा नेपाल सरकारका उप–प्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र समापन समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, समापन समारोहमा संस्कृतविद् सत्यमोहन जोशीको पनि उपस्थिति रहने आयोजक संस्थाले जानकारी दिएको छ । उक्त प्रतियोगितामा कुल ७४ टिम सहभागी रहने छन् ।
यस्तै, उक्त महोत्सवको आयोजना गर्नुको मुख्य उद्देश्यमा मेलापातमा झुण्डिएका तर डिजिटल बजारमा व्यवसायीक रूपमा अगाडि आउन नसकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज समग्र लोक सांगीतिक क्षेत्रले बिर्सिएको छ । त्यस्ता मौलिक काँठे गीत संगीतलाई प्रवद्धन गर्ने नै रहेको छ ।
त्यस्तै, नेपाल सरकारको योजना नेपाल भ्रमण वर्ष–२०२० को पवद्धन गर्ने, काँठ क्षेत्रमा रहेको ऐतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाद्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगायतको प्रवद्धन गर्ने, काँठ क्षेत्रका विभिन्न मौलिक गीत संगीतका श्रष्टा सर्जकहरूको प्रस्तुतिका साथै विभिन्न मौलिक नृत्य सहितको साँस्कृतिक कार्यक्रम गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण गर्ने, कार्यक्रमस्थलमा निःशुल्क रूपमा धेरैभन्दा धेरै दर्शकलाई प्रवेश गराई काँठ क्षेत्रको मौलिक पुरातात्विक कला संस्कृति, भेष–भुषा, रहन–सहन, हस्तकाला, खान–पिन को बारेमा जानकारी गराई कार्यक्रमको अवलोकन गराईने र काँठ क्षेत्रका बहु चर्चित सयौंभन्दा बढि मौलिक काँठे लोक भाकाहरू छनोट गरि लोकदोहोरी प्रतियोगिता गराई प्रतियोगि घोषणा गर्ने पनि अन्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
त्यसैगरी, उक्त महोत्सवमा प्रथम हुनेलाई नगद ३ लाख, मेडल, प्रमाणपत्र १, अन्य पुरस्कारहरू, दोस्रो हुनेलाई नगद २ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरू, तेस्रो हुनेलाई नगद १ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरू, सान्त्वना पुरस्कार नगद ५० हजार प्रमाणपत्र १ अन्य पुरस्कारहरू, उत्कृष्ट गायकलाई नगद रू १० हजार र प्रमाणपत्र, उत्कृष्ट गायिकालाई पनि नगद रू १० हजार र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस