Like us!
Follow us!
Connect us!
Watch us!

सानो कर्जाले दिलायो ठूलो सफलता

शुक्रबार, ०४ चैत्र २०७३, १० : १४ मा प्रकाशित

अर्थ संसार
काठमाडौ–राष्ट्रिय लघुवित्त सम्मेलनमा सहभागी सेवाग्राहीहरूले विभिन्न वित्तिय कम्पनीहरूबाट लिएको सानो कर्जाले जिवनमा ठूलो परिवर्तन ल्याएको बताएका छन् । चितवनकी चिजा पावेले २०५६ सालमा पहिलोपटक निर्धन उत्थान बैंकबाट ५ हजार रुपैयाँ कर्जा लिएर गाउँमै किराना पसल थाल्नु भएको थियो । आफू अहिले करिब ५ करोडभन्दा बढी सम्पत्तिको मालिक भएको उहाँ बताउनु हुन्छ ।

बैंकबाट कर्जा लिनुभन्दा पहिले आफू निकै गरिब भएको उहाँको भनाइ छ । गरिब भएकै कारण श्रीमानले उहाँलाई छोडेका थिए । बैंकबाट सानो कर्जा लिएर थालिएको व्यवसायबाट राम्रो आम्दानी भएपछि हेला गरी छोडेर हिँडेका श्रीमान्समेत घर फर्केको उहाँले बताउनु भयो ।

अहिले आफ्नो लगानीमा करिब साढे २ करोडको जग्गा खरिद गरी राम्रो आम्दानी गरिरहेको उहाँले बताउनु भयो । यसैगरी उहाँले सोही बैंकबाट थप कर्जा लिएर गाडीसमेत खरिद गरेको बताउनु भयो । लघुवित्तको सेवाले अहिले आफूलाई मात्र नभएर मुलुकभरका महिलालाई आत्मनिर्भर बन्न सफलता मिलेको उहाँले बताउनु भयो । यही लघुवित्त क्षेत्रको सहयोगले अहिले असंभवलाई संभव बनाएको भन्दै उहाँले निर्धन उत्थान बैंक आफूलाई जन्म दिने बाबुआमा भन्दा ठूलो भएको बताउनु भयो । 


यसैगरी, छिमेक लघुवित्त विकास बैंकबाट १० हजार रुपैयाँ कर्जा लिएकी इटहरीकी सुमित्रा खतिवडाले गाई पालेर जिवनमै ठूलो उपलब्धि हासिल गर्न सकेको बताउनु भयो । पहिले आफू अर्काको भरमा बाँच्नुपर्ने भएकैले लामो समय श्रीमान्ले छाडेको उहाँले सम्झनु भयो । बैंकबाट लिएको सानो कर्जाबाट थालिएको पशुपालन व्यवसायले राम्रो आम्दानी दिएपछि श्रीमान समेत घर फर्किएर आएकाले आफूले नयाँ जिवन पाएको अनुभव गरेको उहाँले सहभागीलाई सुनाउनु भयो ।

 
डिप्रोक्स लघुवित्त विकास बैंकबाट कर्जा लिएकी गोर्खाकी छन्दिपकुमारी गुरुङले ५० हजार रुपैयाँबाट थालेको बाख्रापालन व्यवसाय अहिले विस्तार हुँदै गएको बताउनु भयो । उहाँले छाडेर हिँडेका श्रीमान्समेत आफुले कमाएको पैसा देखेर १२ वर्षपछि घर फर्किएको बताउनु भयो । 

यसैगरि, स्वाबलम्बन विकास बैंकवाट सुरुमा ३० हजार कर्जा लिएर रंग लगाउने व्यवसाय सुरु गरेकी सीता खातुनले हाल ८०–८५ लाख सम्पत्तिको मालिक हुनु भएको छ । उहाँले लिएको कर्जावाट ललितपुरको ठैवमा टेकसटाईल व्यवसाय सञ्चालन गरिरहनु भएको छ । खातुनले हाल ६० जना स्थानिय महिलाहरूलाई रोजगारी दिईरहनु भएको छ । 

नेपाल ग्रामीण विकास बैंकवाट कर्जा लिएकी रुपन्देहीकी उमा ढकालको सफलताको कथासमेत उस्तै छ । सुरुमा उहाँले ४० हजार ऋण लिएर माछापालन व्यवसाय थाल्नु भएको थियो । अहिले वंगुर पालनसमेत थालेर उहाँले मासिक ५० हजार आम्दानी गर्न सफल भएको वतानु भयो । 

त्यस्तै स्वरोजगार लघुवित्त विकास बैंकवाट सुरुमा ३० हजार ऋण लिएकी गिता बालखीले कुखुरापालन व्यवसायवाट अहिले मासिक डेढ लाखसम्म आम्दानी गरिरहनु भएको छ । त्यस्तै महिला जनचेतना वचत तथा ऋण सहकारी संस्थावाट ऋण लिएकी हेटौंडाकी मञ्जु थिङले अहिले आँफै सहकारी सञ्चालन गरिरहेनु भएको छ । 

कार्यक्रममा नेपाल लघुवित्त संघका अध्यक्ष रामचन्द्र जोशीले सेवाग्राहीले दिएको प्रतिक्रियाले आफूहरुलाई थप उत्साहित बनाएको धारणा राख्नु भयो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको