Like us!
Follow us!
Connect us!
Watch us!

आज लक्ष्मीमाताको पूजा गरिँदै, लक्ष्मीलाई खुशी पार्न अपनाउनुहोस् यी विधि

अर्थ संसार

शनिबार, २९ कार्तिक २०७७, १३ : ४३ मा प्रकाशित

आज  लक्ष्मीमाताको पूजा गरिँदै, लक्ष्मीलाई खुशी पार्न अपनाउनुहोस् यी विधि

अर्थ संसार, काठमाडौं - तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइदैंछ' । आज बिहान  इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई पुजेर मीठो खानेकुरा खान दिएर कुकुर तिहार सम्पन्न गरिएको छ । यस वर्ष कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेकोले साँझ लक्ष्मी पूजा गरिँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आजको दिनको बिहानै नुवाईधुवाई गरी घर र घर वरिपरी सरसफाई गरी साँझ लक्ष्मिलाई बोलाइन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।

लक्ष्मी पुजाको दिन अर्थात् आजको दिनले विशेष महत्व राख्छ ।  लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

त्यति मात्र कहाँ होर आजको साँझ युवायुवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन्, यसले तिहारलाई अझै रमाइलो बनाइदिन्छ । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको र वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको किंवदन्ती रहेको छ । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको बताइन्छ।

ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीलाई खुशी पार्न अपनाउनुहोस् यी विधि 
१. सर्वप्रथम तामाको पात्रमा कलश स्थापना गर्ने, त्यसपछि त्यो कलशमा जल राखिसकेपछि रातो धजा वा रातो धागो बाध्नुपर्छ किनभने माता लक्ष्मीलाई रातो रंग असाध्यै मन पर्छ ।
२. कलशमा रातो र पहेंलो टिकाले स्वतिक चिन्ह बनाएर कलश रंग्याउने ।
३. त्यसपछि पानी भरिएको कलशमा एउटा सानो बेसारको टुक्रा राखिदिनुहोस्, एउटा सुपारी, एउटा सिक्का, थोरै नटुक्रिएको चामल, दुबो, गोमती चक्र राख्नुहोस् । 
४. काँचो एउटा नरिवल पनि आवश्यक पर्दछ ।
५. लक्ष्मीको साथमा गणेश पनि भएको एउटा तस्वीर पनि पुजा कोठामा राख्नुहोस् । विष्णु भगवानको पनिसँगै राख्नुस् ।
६. भगवानको दाहिनेतिर पारेर कशल स्थापना गर्नुपर्छ भने पुजा गर्ने मान्छे जहिल्यै पुर्व फर्कनुपर्छ ।
७ लक्ष्मीको पुजा सम्भव भएसम्म कमलको फूल पनि चाहिन्छत्यसैगरी रातो गुलाबको फूल र सयपत्री फूल पनि प्रयोग गर्न सकिन्छ ।
८. त्यसैगरी एक पाकेट ल्वाङ र सुकमेलको पनि आवश्यक पर्दछ, भने बेलपत्रको पत्ता पनि आवश्यक पर्दछ ।
९. लक्ष्मी माताको लागि शृंगारको सोह्र या ११ शृंगारका सामग्री पनि चाहिन्छ ।
१०. त्यसैगरी माता लक्ष्मीको स्नानको लागि पन्चामृत पनि तयार गर्नुहोला 
११. दुधबाट बनेको सेतो परिकार चढाउनुहोस्  ।
१२. धनियाँ, ११ वटा लक्ष्मी गौरी र ११ वटा गोमती चक्र पनि अनिवार्य चढाउनुपर्छ ।
१३.घरमा भएका सुन-चाँदी, पैसा, चेक, एटिएम, सबै कुरालाई पुजा कोठामा राख्नुहोस् ।
१४. बाँसको काठबाट बनाइएको अगरबत्ती भुलेर प्रयोग नगर्नुहोला बरु त्यसको साटोमा आफैले बनाएको बास्नादार धुप प्रयोग गर्नुहोला ।
१५. लक्ष्मी पुजा गर्नुअघि ५ प्रकारका फलफुल पनि तयार गर्नुहोला ।
१६.पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्।

यदि यी सब तयार गर्न सक्नुहुन्न भने साँचो मनले जप ध्यान गरी निष्ठावान् भएर लक्ष्मीको पुजा गर्न सक्नुहुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको