Like us!
Follow us!
Connect us!
Watch us!

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०८२, ०८ : ११ मा प्रकाशित

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १ करोड ४४ लाख ३६ हजार राजस्व संकलन गरेको छ । गत भदौ ३१ गते पूर्ण रुपमा व्यापारिक मार्गको रुपमा सञ्चालनमा आएको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले मङ्गलबारसम्म उक्त राजस्व संकलन गरेको जनाएको हो ।

चीनबाट आयातनिर्यात गरिने मालसामान तथा विद्युतीय सवारीको सो भन्सार कार्यालयले सम्बन्धित व्यापारीको भन्सार एजेन्टमार्फत मालसामानको जाँचपास गर्ने गरेको छ। हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए। उनका अनुसार हालसम्म ६५७ चीनबाट कोरलानाका हुँदै आयात गरिएका मालसामान बाहक कन्टेनरको जाँचपास भएको हो । यसैगरी, नेपालतर्फ सात वटा मालसामान कन्टेनर भन्सार जाँचपास भई कोरला नाकाबाट चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले बताए ।

कोरला नाकाबाट चीनबाट पैठारी गरिएका मालसामान दसैँ–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ । नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काको भनाइ छ ।
यसैगरी, हालसम्म कोरला नाका हुँदै चीनबाट पैठारी गरिएका एक हजार ४९८ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले उल्लेख गरे।

त्यहाँको नेपाल–चीन उत्तरी कोरला नाकालाई भन्सार विभागले तातोपानी नाका र रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याएको थियो। यसैबीच, भन्सार विभागले त्यहाँको कोरला नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी मुस्ताङ भन्सार कार्यालयलाई अनलाइन प्रणाली भन्सार आशिकुडा प्रणालीमा जोडेको छ । विभागले नाकालाई पूर्ण रुपमा व्यापारिक आयातनिर्यातलाई सहज तुल्याउन भन्सार प्रतितपत्र (एलसी) खोल्न अनुमति दिएको थियो । नाका पूर्ण रुपमा सञ्चालनमा आए पनि बाह्रै महिना त्यहाँको नाकाबाट आयातनिर्यात गर्न चिसो र उच्च भूगोलका कारण चुनौती हुने भन्सार प्रमुख खड्काले बताए । कोरला नाका ४६१० मिटरको अग्लो उचाइमा रहेकाले ढुवानीका साधन चिसोले इन्धन जमेर स्टार्ड नहुने र धकेलेर तल झार्नुपर्ने बाध्यता रहेको भन्सार प्रमुख खड्काको भनाइ छ ।

कोरला नाकालाई बाह्रै महिना एकैनासले सञ्चालन गर्न सडकका अवस्थामा सुधार र कोरला नाकामा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्सार प्रमुख खड्काले औँल्याए। यसअघि त्यहाँको कोरला नाका विसं २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै घरायसी मालसामान किनमेल गर्न चीन पक्षले बाह्रै महिना खुला गरिएको थियो । त्यसबेला चीनले तामझामका साथ उपल्लो मुस्ताङका नागरिकका लागि नाका बाह्रै महिना खुला भएको सन्देश दिएको थियो । कोरलाबाट नेचुङ–लिजीसम्म जान जिल्ला प्रशासन कार्यालयले दिएको सीमापार पास देखाएर मुस्ताङका नागरिक चीन प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको