Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्प प्रशासनको भिसा शुल्क निर्णयमा नयाँ स्पष्टीकरण

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०८२, १७ : ५४ मा प्रकाशित

ट्रम्प प्रशासनको भिसा शुल्क निर्णयमा नयाँ स्पष्टीकरण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालै लागू गरेको १ लाख डलर (करिब ८८ लाख रुपैयाँ) को नयाँ H-1B भिसा शुल्कबारे उठेका प्रश्नमा अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले औपचारिक स्पष्टता दिएको छ।

सोमबार सार्वजनिक गरिएको दिशानिर्देशमा USCIS ले शुल्क कसले तिर्नुपर्ने र कसलाई छुट दिइने हो भन्नेबारे स्पष्ट विवरण दिएको हो।

ट्रम्पले गत सेप्टेम्बर १९ मा ‘Restriction on Entry of Certain Nonimmigrant Workers’ शीर्षकमा जारी गरेको राष्ट्रपतिको आदेशअनुसार नयाँ H-1B भिसा आवेदकका लागि १ लाख डलर शुल्क तोकिएको थियो। यस निर्णयपछि व्यापक विवाद उठेपछि सरकारले स्पष्टता ल्याएको हो।

USCIS ले यससँगै अनलाइन भुक्तानी पोर्टल पनि सञ्चालनमा ल्याएको छ। अब १ लाख डलर शुल्क भुक्तानी गरेको प्रमाण पेश गर्नसक्ने आवेदकले आफ्नो आवेदन प्रक्रिया अगाडि बढाउन पाउनेछ।

कसलाई शुल्क तिर्नु पर्दैन ?

USCIS का अनुसार सबै H-1B आवेदकले यो शुल्क तिर्नुपर्ने छैन।
पहिले नै मान्य H-1B भिसा लिएका व्यक्तिहरूलाई नयाँ शुल्क लागू हुँदैन।

सेप्टेम्बर २१ को बिहान १२:०१ (ईस्टर्न डेलाइट टाइम) भन्दा अघि H-1B भिसा आवेदन पेस गरेका आवेदक पनि यस शुल्कबाट स्वतः मुक्त हुनेछन्।

त्यस्तै, F-1 विद्यार्थी भिसा वा L-1 प्रोफेशनल भिसा धारण गर्ने व्यक्तिले आफ्नो भिसा स्थिति परिवर्तन गर्दा पनि नयाँ शुल्क तिर्नु नपर्ने स्पष्ट गरिएको छ।

यसका साथै, हाल H-1B भिसा भएका व्यक्तिहरूले अमेरिका भित्र वा बाहिर यात्रा गर्दा पनि सो शुल्क तिर्नु नपर्ने बताइएको छ।

कसले तिर्नुपर्छ ?

USCIS का अनुसार यो शुल्क पहिलो पटक H-1B भिसा आवेदन गर्ने व्यक्तिहरूका लागि मात्र लागू हुनेछ।
यस अवस्थामा आवेदन दिने कम्पनी वा रोजगारदाता (employer) ले नै १ लाख डलर तिर्नुपर्नेछ।

त्यो शुल्क त्यतिबेला पनि लागू हुनेछ, जब कुनै व्यक्ति अमेरिका भित्रै भए पनि status परिवर्तन गर्न अयोग्य ठहरिन्छ वा भिसा विस्तार वा संशोधनको अनुरोध अस्वीकृत हुन्छ।

यदि कुनै आवेदक आवेदनको निर्णय हुनु अघि नै अमेरिका बाहिर निस्किन्छ भने पनि सो शुल्क लागु हुने बताइएको छ।

USCIS ले स्पष्ट पारेको छ — यो नियमले वर्तमान H-1B भिसाधारीहरूलाई प्रभावित गर्दैन। उनीहरूलाई आफ्नो मान्य भिसा प्रयोग गरेर पुनः अमेरिका प्रवेश गर्न अनुमति रहन्छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको