अर्थ संसार
काठमाडौँ– सर्वोच्च अदालतले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवाललाई तत्काल थुनामुक्त गरी आजै अदालतमा हाजिर गराउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज सिलवालले गैरकानुनी रुपमा आफूलाई थुनामा राखेको भनी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइपछि सो आदेश गरेको हो ।
आदेशमा प्रहरी नायब महानिरीक्षक सिलवाललाई अदालतका रजिस्ट्रारको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गरी अदालतमा उपस्थित गराउन भनिएको छ ।
“सर्वोच्च अदालतको नियमावलीअनुसार यस अदालतका रजिस्ट्रारको रोहबरमा विद्वान् अधिवक्ता शम्भु थापाको हाजिर जमानीमा बन्दी बनाइएका सिलवाललाई आजै तत्काल थुनामुक्त गरिदिनू”, आदेशमा भनिएको छ ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, तुलसी भट्ट र अधिवक्ता हरि फुयाँल, मेघराज पोखरेल, टीकाराम भट्टराई र पूर्णप्रसाद राजवंशीले बहस गर्नुभएको थियो ।
प्रहरी नायब महानिरीक्षक सिलवालका तर्फबाट आजै अधिवक्ता पूर्णप्रसाद राजवंशीले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै अदालत निवेदन दायर गर्नुभएको थियो । छानबिनका लागि भन्दै प्रहरीले सिलवालका घरबाट प्रहरी प्रधान कार्यालय नक्साल लगेको थियो । रासस कालिका खड्का
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस