राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड बीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता सोमबार काठमाडौंमा सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ । सम्झौता पछी टाटा कम्पनीका व्यापारिक सवारी साधन खरीद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरुलाई सिप्रदी ट्रेडिङ्गले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ ।
दोश्रोे सम्झौता नीजि तथा व्यापारिक सवारी कर्जा लगानी सम्बन्धी रहेको छ । सम्झौता पछी टाटा कम्पनीका नीजि तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ्ग मार्फत खरीद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्ने छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्नको लागि ठूला व्यापारिक संस्थाहरुसँगको सहकार्य फलदायी हुने बताउनुभयो । सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यस्तो सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताउनुभयो ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौताले दुबै संस्थाको व्यवसाय बृद्धिमा सघाउ पुग्ने बताउनुभयो । बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु विनयरमण पौडेल, पद्यमा लक्ष्मी जिसी, कम्पनी सचिव भोलानाथ पौडेल, सिप्रदी ट्रेडिङ्गका भाइस प्रेसिडेण्ट सौरभ थपलिया, सेल्स प्रमुख सरद न्यौपाने लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस