अर्थ संसार
झापा- झापामा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा करिब रू डेढ अर्बको लागतमा विभिन्न नयाँ उद्योग सञ्चालनमा आएका छन् ।
आर्थिक वर्ष २०७३/०७४ को चैत मसान्तसम्मको अवधिमा कुल पुँजी रू. एक अर्ब ३८ करोड ७ लाख २७ हजारको लागतमा ७०६ वटा उद्योग सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय झापाले जनाएको छ ।
सो अवधिमा उत्पादनमूलक १८७, कृषिजन्य २०१, सेवामूलक २८०, पर्यटन र निर्माण सम्बन्धी १९/१९ उद्योग सञ्चालनमा आएको कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो ।
कुल ७८४ उद्योगीले सञ्चालन गरेका ती उद्योगमा दुई हजार जनाले रोजगारी पाएको कार्यालयको तथ्यांकमा उल्लेख छ । ती उद्योगको उत्पादकत्व वार्षिक रू ८२ करोड २९ लाख ८९ हजार २६२ रहेको छ ।
कार्यालयले ती उद्योग दर्तावापत रू. ७४ लाख ३७ लाख ४२४ राजश्व संकलन गरेको कार्यालयका नायब सुब्बा विष्णुचन्द्र झाले जानकारी दिनुभयो । त्यस्तै, सोही अवधिमा बाणिज्यतर्फ निजी र साझेदारी गरी ७९६ वटा फर्म दार्ता भएका छन् ।
उद्योग दर्ता बढ्दै
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा एक सय १० वटा उद्योग बढी दर्ता भएका छन् । आर्थिक वर्ष २०७२/७३ को चैतसम्ममा पाँच सय ९६ उद्योग दर्ता भएका थिए । तर, चालू आवको चैतसम्ममा ७०६ वटा उद्योग दर्ता भइसकेको छ ।
गत आर्थिक वर्षमा १०७ जना महिला र ६९६ जना पुरुषले विभिन्न ७१६ उद्योग दर्ता गरेका थिए । रू. ९७ करोड २१ लाख ८३ हजारको कुल पुँजीमा सञ्चालन गरिएका ती उद्योगको उत्पादकत्व वार्षिक रू. ७२ करोड १० लाख ९ हजार रहेको छ भने दुई हजार ६० जनाले रोजगारी पाएको कार्यालयको तथ्यांक छ । गत वर्ष कार्यालयले उद्योग दर्तावापत रू. ५८ लाख ४२ हजार एक सय रावश्व संकलन गरेको थियो ।
झापामा उद्योगीका सञ्चालन सहज छ : उद्योगी
यता, उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया पछिल्लो सयम झापामा शान्ति सुरक्षाको अवस्था राम्रो हुँदै गएकाले पनि यहाँ उद्योग खुल्नेक्रम बढ्दै गएको बताउनुहुन्छ ।
‘स्थानीय उद्योगले उत्पादन गरेका वस्तुले राम्रो बजार पाएको छ’, उहाँ भन्नुहुन्छ, ‘उत्पादन गरेको वस्तु आन्तरिक बजारमै सहजै खपत हुनुले पनि उद्योग सञ्चालनमा ऊर्जा थपिएको छ ।’
झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल भारतबाट सहजै रुपमा उद्योगलाई चाहिने कच्चा पदार्थ ल्याउन सकिने भएकाले पनि उद्योग खुल्नेक्रम बढेको बताउनुहुन्छ ।
‘उद्योग खोल्न चाहिने जग्गा अरु ठाउँको तुलनामा सस्तो छ’, उहाँले भन्नुभयो, ‘यहाँ उद्योग खोल्ने वातावरण सहज छ ।’ पहिल्लो समय विदेश गएर फर्किएका युवामा पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचको विकासले पनि उद्योग फस्टाउँदै गएको उहाँको भनाइ छ ।
यता, झापा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज पनेरुको पनि भनाइ उस्तै छ । उहाँका अनुसार राजनीतिक हिसाबले झापा शान्तिपूर्ण छ ।
‘विशेष गरेर पछिल्लो समय मधेश आन्दोलनको कुराले धेरै बन्द हड्ताल भए, तर यहाँ यस्तो अवस्था छैन’, उहाँले कारण खुलाउँदै भन्नुभयो,
‘ऊर्जा उद्योगको मेरुदण्ड हो, पूर्वी नाका काँकरभिट्टाबाट कच्चा पदार्थसँगै इन्धन आपूर्ति सहज छ ।’ झापा मेची अञ्चलकै ट्रान्जिट प्वाइन्टको रुपमा विकास हुँदै गएकाले पनि यहाँ उद्योग–व्यवसाय फस्टाउँदै गएको उहाँको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस