भदौ २४ गते सिंहदरबार परिसरमा भएको आगजनी र तोडफोडका कारण नष्ट भएका सम्पूर्ण सामग्रीलाई नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) को पछाडिको भागमा थुपार्ने निर्णय भएको छ।
आज मुख्य सचिव एक नारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो। आगो र तोडफोडका कारण पूर्ण रूपमा प्रयोग अयोग्य भएका सवारीसाधन, उपकरण, विभिन्न यन्त्र र फर्निचरहरूलाई तत्काल सिंहदरबार परिसरबाट हटाइने र अस्थायी रूपमा संसद भवन पछाडि राखिने व्यवस्था मिलाइएको हो।
सचिव बैठकले यस्ता क्षतिग्रस्त सामानलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीअनुसार लिलामी वा नष्ट गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। त्यसका लागि सम्बन्धित निकायलाई आवश्यक जिम्मेवारी दिइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले यी सामग्रीहरू सिंहदरबार परिसरबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म पुर्याउने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस