Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना कहरले कुँजिएर कति बस्ने ? जिपलाईन गर्न धुलिखेल जाने कि !

अर्थ संसार

बुधबार, २१ माघ २०७७, १९ : ३१ मा प्रकाशित

कोरोना महामारीका बीच नेपालीहरुले घुम्न निस्कन नपाएको धेरै भयो । जता जाउँ कोरोना भाइरस संक्रमण हुने डर ।

अब सरकारले विद्यालयलगायत सबै कुरा खुल्ला गरेकाे छ । लामाे समय कुँजिएर फुक्काफाल भएका बेला घुम्न जाने याेजना बनाउँदै हुनुहाेला । तर कहाँ जाने ? काठमाडाैं उपत्यकामा रहेकाहरूलाई वल्ड वाइड एड्भेन्चरले धुलिखेलकाे थाल्लेडाँडामा संचालनमा ल्याएकाे जिप लाईन उपयुक्त गन्तब्य बन्न सक्छ ।

युवा उद्यमीहरू सिन्धुपाल्चोकका केदार थापा र काठमाडौका भुपेश श्रेष्ठकाे संयुक्त लगानीमा खुलेकाे जिपलाईनले एडभेन्चर खेलप्रेमीहरूका लागि समेत आकर्षित गरिरहेकाे छ । काठमाडौ कोटेश्वरबाट ३३ किलोमीटर दुरीमा रहेकाे जिपलाईन पाँचखाल जाने नियमित बसबाट करिव १ घण्टामै पुग्न सकिन्छ । जिपलाईनकाे टेक अफ थाक्लेडाँडामा छ भने ल्यान्डिङ स्टेसन खावामा छ । याे जिपलाईनले धुलिखेर र पाँचखाल नगरपालिकालाई जाेड्छ ।

थाक्लेडाँडामा रहेकाे जिप लाईनकाे टावरबाट डाेरिमा झुण्डिँदै ११ सय मीटर दुरी समय १ मिनेट २० सेकण्डमा पूरा गर्न सकिन्छ । जिपलाईनमा ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा दगुर्न सकिन्छ । व्यक्तिको तौल, हावाको गति र बहावले यसमा असर गर्ने जिपलाईनका प्रमुख कार्यकारी अधिकृत भुपेश श्रेष्ठ बताउँछन् । भर्टिकल ड्रप दुई सय ४० फीटमा रहेकाे छ । त्यसैले डाेरीमा दगुर्दै गर्दा तल र वरपरका रमणीय दृष्यकाे रसास्वादन गर्न सकिन्छ ।

कम्पनीले जिपलाईन युरोपियन सुरक्षा मापदण्ड प्रयाेग गरेर भारतीय प्राबिधिकद्वारा निर्माण गरिएको जानकारी दिएकाे छ । जिप लाईनमा यात्रा गर्न १६ वर्ष उमेर पुगेको हुनु पर्छ । त्यसभन्दा कम उमेरकाले अभिभावकसँगै यात्रा गर्न सक्छन् । जिपलाईन क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ तरिकाले खेल्न सकिन्छ ।

सुपरम्यान जिपलाईन र टेन्डम (जोडी) जिपलाईन नेपालमै पहिलो भएकाे कम्पनीकाे दावी छ । क्लासिकमा ब्यक्तिले झुण्डिएर यात्रा गर्न सक्छ भने सुपरम्यानमा सुपरम्यानले जस्तै सुतेर यात्रा गर्न सकिन्छ । त्यस्तै टेन्डममा आफ्नाे जाेडीसँगै झुण्डिएर यात्रा गर्न सकिन्छ । दुइ बर्षअघिकाे भ्यालेन्टाइन डे (२०१९ फेब्रुअरी १४ देखि) ब्यवसायिक सन्चालनमा आएकाे जिपलाईनमा अहिलेसम्म ८ हजार जनाभन्दा बढीले यात्रा गरिसकेकाे प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । जिपलाईन संचालक कम्पनीले रमाइलाे गर्न आउने पर्यटकलाई खाने र बस्ने सुविधा उपलब्ध गराउन भर्खै ८ कोठासहित सुबिधा सम्पन्न रिसोर्ट संचालनमा ल्याएकाे छ ।

आगन्तुकले ट्री अप (रुख माथी बस्न मिल्ने) मा बसेर स्थानीय उत्पादकाे परिकार खान पाउने श्रेष्ठले जानकारी दिए । कम्पनीले खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा करीब करिब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेन्चर कोर्ससहितकाे एडभेन्चर पार्कसमेत संचालनमा ल्याएकाे छ । एड्भेन्चर पार्कमाबेबि जिपलाईन, भी सेप ब्रीज, टायर ब्रीज, प्लेइङ ब्रीज, ब्रह्मा ब्रीज, हाइ रोपलगायत साहसिक खेलसमेत उपलब्ध छन् ।

कम्पनीले सम्पूर्ण परियोजना संचालन गर्न ५ करोड रूपैयाँ लगानी भएकाे जनाएकाे छ । जिपलाईनमा यात्रा गर्न क्लासिकमा भए नेपालीलाई २ हजार ५ सय रुपैयाँ तिर्नु पर्छ । उनीहरूले थप ५ सय रूपैयाँ तिरेर साहसिक यात्राकाे फोटो र भिडियोसमेत प्राप्त गर्ने छन् । सार्क देशका नागरिकहरूलाई ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर शुल्क ताेकिएकाे छ । सुपरम्यान जिपलाईन गर्न भने केही बढी शुल्क तिर्नु पर्छ ।

यसमा नेपालीलाई ३ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ४० डलर र अन्य देशका नागरिकलाई ४५ डलर शुल्क ताेकिएकाे छ । जाेडी बनेर जानेहरूलाई भने शुल्क केही सस्ताे छ । नेपाली जाेडीले ४ हजार ५ सय रुपैयाँमा टेन्डम जिपलाईन गर्न सक्ने छन् । टेन्डम गर्न सार्क देशका नागरिकले ५० डलर र अन्य देशका नागरिकले ६० डलर तिर्नु पर्छ । राजधानीबाट नजिकै रहेकाे साहसिक खेल खेल्न पाइँ पनि जाने कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको