सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भोलि बिहान काठमाडौं ल्याउने तयारी गरिएको छ।
प्रहरी स्रोतका अनुसार सुर्खेतबाट नियन्त्रणमा लिइएका पौडेललाई हाल नेपालगञ्जतर्फ ल्याइँदै छ। उनलाई आज राति नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखिने व्यवस्था मिलाइएको छ।
स्रोतका अनुसार नेपालगञ्ज विमानस्थलमा रातभर पार्किङ हुने जहाजको उपलब्धता हेरेर भोलि बिहानको पहिलो उडानमार्फत पौडेललाई काठमाडौं पठाउने योजना बनाइएको छ। कुन वायुसेवाको जहाज राति विमानस्थलमा रहने भन्ने टुंगो लागेपछि त्यसैको पहिलो उडान प्रयोग गरिने बताइएको छ।
यसअघि पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले भैसेपाटीस्थित पौडेलको निवासमा खानतलासी गरेको थियो। विभागीय स्रोतका अनुसार विवादित व्यवसायी दीपक भट्टसँगको सम्भावित आर्थिक सम्बन्धबारे अनुसन्धान भइरहेका बेला उक्त छापा मारिएको हो।
दिउँसो करिब १ बजेतिर विभागको टोली पौडेल बस्दै आएको निवासमा पुगेको थियो। जेनजी आन्दोलनका क्रममा भैसेपाटीस्थित निजी निवासमा आगजनी भएपछि पौडेल हाल सोही क्षेत्रमा भाडाको घरमा बस्दै आएका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरी निकायले घटनाबारे औपचारिक विवरण सार्वजनिक गरिसकेका छैनन्। यद्यपि अनुसन्धान प्रक्रिया जारी रहेकाले आगामी दिनमा थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस