अर्थ संसार
काठमाडौँ– चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन गर्न लागेको हो ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि कम्पनी र सात मर्चेन्ट बैंकरबीच बिहीबार सम्झौता भएको आयोजनाले जनाएको छ ।
कम्पनीले सेयर बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सम्झौता गरेको जनाएको छ ।
कम्पनीको रु एक सय अङ्कित मूल्यको रु दुई अर्ब ९४ करोड बराबरको दुई करोड ९४ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीका अनुसार पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९।५ प्रतिशत अर्थात् रु एक अर्ब १७ करोड बराबरको सेयर दिने भएको छ ।
यस्तै संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि ३।५ प्रतिशत अर्थात् रु २१ करोडको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि रु एक करोड ६० लाख बराबरको सेयर निष्कासन गर्न लागेको हो ।
यसैगरी, दोस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात् रु ६० करोडको ६० लाख कित्ता सेयर तथा तेस्रो चरणमा सर्वसाधारण र कम्पनीका कर्मचारीका लागि पुँजीको १५ प्रतिशत अर्थात् रु ९० करोडको ९० लाख कित्ता सेयर निष्कासन तथा बिक्री प्रबन्धक गर्न सम्झौता भएको कम्पनीले बताएको छ ।
सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र कम्पनीका कर्मचारीका लागि भदौसम्म सेयर निष्कासन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीराम पाण्डेले बताउनुभयो । उहाँकाअनुसार आगामी आर्थिक वर्षभित्र लक्षित सबैका लागि सेयर निष्कासन गरिनेछ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस