श्रद्वान्जली मान्छेको भावनासँग गाँसिएको हुन्छ । तर हिजोआज मान्छेहरु श्रद्धान्जली दिन यति हतारिन थाले कि मानौं कहिले मर्ला र हार्दिक श्रद्वान्जलीवाला स्ट्याटस पोष्ट्याऊला भन्ने मनस्थिति मै छन् मान्छे ! जसको कारण श्रद्वान्जली भन्ने शब्द नै लज्जित बनिसक्यो । हद पार गर्नुको पनि हद हुन्छ, हद नै नाघेपछि कसलाई के भन्न सकिन्छ र ?
यति लेख्दै गर्दा तपाईलाई लाग्यो होला कि भन्न खोजेको कुरा के हो ? अब लागे खास कुरातिर । प्रसंग हो नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको मृत्यु भएको भनेर सामाजिक संजालभरी फैलिएको भ्रामक समाचारको । नवीन्द्रराज जोशी यतिबेला मष्तिस्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत छन् । फागुन १४ गते मष्तिस्कघात भइ उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । स्वास्थ्य अवस्था निकै क्रिटिकल रहेको उनको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल उनको भेन्टिलेटरमा उपचार भइरहेको अस्पताल तथा पारिवारिक श्रोतले जनाएको छ । तर मंगलबार राति अनलाईन तथा संचारमाध्यमहरुमा उनको निधन भएको समाचार एकाएक फैलियो । त्यसपछि सामाजिक संजालभरी श्रद्वान्जलिको ओइरो नै लाग्यो । मानौं कि श्रद्वान्जली लेख्नेहरुको प्रतिष्पर्धा नै चलिरहेछ, उनीहरुलाई ठूलै राशिको पुरस्कार आयोजना गरिएको छ । खास कुरा के हो ? यथार्थता के हो ? त्यो बुझ्नलाई टेलिफोन थिच्ने फुर्सद कसैलाई भएन ! एउटाले समाचार लेख्यो त्यहि कपि पेष्ट गर्ने हतारमा हुन्छन् अरु । आहा कति सजिलो ! अन्य विषयमा यो गर्नु सामान्य नै हो तर मृत्यु जस्तो गम्भीर विषयलाई पनि सामान्य र हल्का रुपले लिनु गलत हो ।
माथिको यो घटना पहिलो होइन। यसअघि देश कोरोनाले सिकिस्त थियो । सबैतिर बन्द थिए, मान्छेहरु त्राहीत्राहीको अवस्थामा बाँचेका थिए । मान्छेले कोरोना भाइरसलाई ज्यानमाराको संज्ञा नै दिइरहेका थिए । किनकि त्यसबेला कोरोना लाग्यो नि मर्छ भन्ने भ्रममा थिए आम मान्छे । त्यहि ज्यानमारा भाइरसको शिकार भएका थिए हाँस्य कलाकार मनोज गजुरेल । कलाकार गजुरेललाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपछि होम आइसोलेशन बसेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा रहेका उहाँको निधन भएको खबर बाहिरियो । र सामाजिक संजालमा उसैगरी श्रदान्जलीको ओइरो नै लाग्यो ! नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङ,
राष्ट्रकवि माधव प्रसाद घिमिरे, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, खेलकर्मी लक्ष्मणकुमार श्रेष्ठले पनि जिवितै श्रद्वान्जली पाएका थिए ।
भ्युज बढाउने र समाचार ब्रेक गर्ने हतारका कारण यी र यस्ता घटनाहरु बारम्बार घटिरहेका छन् । कन्टेन्ट बनाउनकै लागि जीवितलाई मृत घोषणा गर्ने प्रचलन नै बनिसक्यो । अब तपाई आफैं भन्नुहोस् त मान्छेहरु श्रद्वान्जली दिन आतूर छैनन् त ?
कसैले ठूलै प्रगति गरोस् यसबारेको खबर खासै फैलिदैन बधाई दिन हिच्किचाउनछन् मान्छे ! अझ भनौं हार्दिक बधाई भन्न अल्छी गर्छन् । मान्छेहरु बधाई दिन भन्दा पनि श्रद्वान्जली दिन आतूर हुन थाले । जीवित मान्छेलाई मरेको भनेर अफवाह फैलाउँदै गर्दा उसको मानसिकतामा कस्तो असर पर्ला ? परिवारमा कस्तो प्रभाव पर्ला ? यसबारे कसले सोच्ने ! योबारे सोच्ने फुर्सद नै हुँदैन मान्छेलाई । जीवितै मान्छेलाई मृत घोषणा गर्न संचारमाध्यमहरु अस्पताल र पारिवारिक स्रोतभन्दा पनि अगाडी देखिन थालिसके । त्यसमा पनि अझ ब्रेकिङ न्यूज भनेर हेडलाइनमा राखिने प्रवित्ति ! खोज, अनुसन्धान र सत्यतामा ध्यान दिन परिपाटी नै हराउँदै गैसक्यो । समाचार ब्रेक गर्न हतार गर्ने प्रवित्तिले गर्दा आफुलाई संचारकर्मी हुँ भन्न पनि लाजमर्दो अवस्था उत्पन्न भइसकेको छ । हल्लाकै भरमा समाचार बनाउने परिपाटी कहिले अन्त्य हुन्छ ?
मान्छे जन्मेपछि मर्नुपर्छ, यसमा दुईमत नै छैन । जन्मेपछि मृत्यु निश्चित छ । किनकि कसैले पनि अमर जुनी लिएर आएका हुँदैनन्, मृत्युलाई टार्न सक्ने तागत कसैको पनि हुँदैन । त्यसैले मानव संवेदना जस्तो कुरालाई भ्रामिक बनाउन हतार नगरौं ! समवेदना देखाउनको लागि होइन मनैदेखि दुख व्यक्त गरि प्रकट गरिन्छ । यसमा प्रतिष्पर्धा गर्नुपर्ने कुनै जरुरी छैन् । तपाई ढिला श्रद्वान्जली दिँदा मृत आत्माले शान्ति नपाउने पनि होइन र छिटो श्रद्वान्जली दिँदा मृतकले जुरुक्क उठेर तपाईलाई धन्यवाद पनि दिने होइन । समवेदनालाई समवेदना जस्तै बनाऔं । समाचारलाई समाचार जस्तै बनाऔं । समाचार ब्रेक गर्ने बहानामा कसैको भावनामा ठेस नपुर्याऊ । मृत्यु जस्तो समाचारमा भ्रम फैलिँदा सम्बन्धित व्यक्तिको परिवार आफन्त र इष्टमित्रमा पर्ने प्रभावबारे हेक्का राखौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस