Like us!
Follow us!
Connect us!
Watch us!

रुकुमका शिक्षकलाई  एनजीओबाट भत्ता सरकारबाट तलब, कसैलाई छैन मतलब

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १४ : २२ मा प्रकाशित

रुकुमका शिक्षकलाई  एनजीओबाट भत्ता सरकारबाट तलब, कसैलाई छैन मतलब

रुकुम पश्चिमको एक गैरसरकारी संस्थाको पुरै कार्य समिति बहालवाला शिक्षकहरुले संचालन गरेका छन् । जिल्लाकै चलेको एक एनजीओ संचालन गर्दै आएका शिक्षकहरुले विद्यार्थीको पढाइ समेत असर पर्ने गरि एनजीओका गतिविधिहरुमा संलग्न छन् । २०६३ सालमा जिल्ला प्रशासन कार्यालय, रुकुममा दर्ता भएको नेपाल जनजागरण मञ्च (एन प्याफ) नामक गैरसरकारी संस्थाको कार्य समितिमा अधिकाशं सदस्यहरु शिक्षण पेशामा आवद्ध छन् ।

संघ  संस्था दर्ता ऐन २०३४ मा कुनै पनि गैरसरकारी संस्था संचालनमा विभागिय अनुमतिविना सरकारी निकायका कर्मचारि तथा सरकारी शिक्षकहरु अन्य पेशा ब्यावसायमा आवद्ध हुन नपाउने व्यवस्था भएपनि रुकुम जिल्लामा भने विभागिय अनुमति विना नै शिक्षकहरु गैरसरकारी संस्था (एन.जि.ओ) संचालन गदै आएका छन् । यस्ता गतिविधिमा संलग्न शिक्षकहरुलाई कारबाही गर्नुको सट्टा जिल्ला स्थित नियमनकारि निकायका प्रमुखहरु नै प्रमुख अतिथि बनेर उक्त संस्थाका कार्यक्रमहरुमा सहभागी हुन्छन् । 

नेपाल जनजागरण मञ्चको हालै सम्पन्न साधारण सभा तथा अबिधेशनबाट अधिकाशं कार्य समितिमा शिक्षण पेशा अझ विद्यालयको प्रशासनिक ब्यबस्थापनको जिम्मेवारी भएका प्रधानाध्यकहरु नै रहेका छन् । ज्ञानोदय मावि।भलाक्चाका प्रअ खम्वुसिं श्रेष्ठ संस्थाका सचिव हुन भने उनी राजनितिक रुपमा पनि सक्रिय छन् । उनी नेपाली शिक्षक संघ मुसिकोट नगर समितिका संयोजक हुन् । 

सरस्वति मावि सल्लेका प्रअ खम्वु थापा पनि संस्थाको पदाधिकारी हुन्, यस्तै आधारभुत विद्यालय पिपलमा कार्यरत मञ्जु केसी संस्थाको उपाध्यक्षका रुपमा कार्यरत छन् । जन विकास मावि. घारिखोलाका शिक्षक टिकाराम केसी संस्थाको कार्य समिति सदस्यको रुपमा जिम्मेवारि लिएका छन् । 

शिक्षकहरुले नेतृत्व गरेको यस संस्थाले प्रभावकारी रुपमा काम गर्न नसक्ने भन्दै दातृ निकाय तथा स्थानीयहरुले समेत गुनासो आएका छन् भने साधारण सदस्यहरुले सहमतिका नाममा शिक्षकहरुलाई नै पदाधिकारी छनोट गरिएकोमा पुनः विषेश साधारण सभाको माग समेत गरेका छन् । 

नियमन निकायहरुको मौनताले शिक्षकहरुले नेतृत्व गरेको यो संस्थाले नितिगत रुपमा काम गर्न सकेको छैन भने विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरु पनि गैरसरकारी संस्थाको काम गर्ने भन्दै विद्यालयमा समेत अनुपस्थित हुने गरेको अभिभावकहरुले गुनासो गरेका छन् । 

जिल्लाको विकास निर्माणमा साझेदारी गदै आएका यस्ता गैरसरकारी संस्थाहरुको अनुगमन तथा नियमन गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा संस्थाको कार्य क्षेत्र भएका स्थानियतहले समेत यस तर्फ ध्यान दिएका छैनन् ।

शिक्षकहरु पेशागत रुपमा मर्यादित नहुदा जिल्लाको शिक्षा क्षेत्र कमजोर भएको जनगुनासो आइरहदा शिक्षकहरु नै पदिय मर्यादा विपरित विभिन्न क्षेत्रमा आवद्ध भएका छन् । यस वारे सम्बन्धि सरोकारवाला निकायहरुले समयमै ध्यान दिएका छैन । उक्त संस्था निकै ब्यस्त संस्था हो । भत्ताको लोभले शिक्षकहरु संस्थामा आबद्ध भएपछि शिक्षकहरु विद्यालयमा अनुस्पस्थित हुदाँ विद्यार्थीको पढाइमा बारम्बार असर परेको अभिभावकहरुको गुनासो छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको