Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्स कम्पनीको सेयर मूल्यमा उछाल, बिश्लेषक भन्छन् बेलुनमा हावा धेरै भरियो, कुन दिन फुट्छ !

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १९ : ५५ मा प्रकाशित

फाइनान्स कम्पनीको सेयर मूल्यमा उछाल, बिश्लेषक भन्छन् बेलुनमा हावा धेरै भरियो, कुन दिन फुट्छ !

नेपालको पूँजी बजारमा बिगत केहि दिनदेखि फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा निरन्तर बृद्धि भइरहेको छ । 
हरक दिन जसो यो उपसमूहका कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागिरहेको छ । न्यून सेयर मूल्य भएका कम्पनीहरुको पनि अहिले सेयर मूल्य उचालिएको छ । 

कुनै समय ग बर्गका बित्तीय संस्थाहरु फाइनान्स कम्पनीहरुको सेयर मूल्य १ सय रुपैयाँदेखि २ सय रुपैयाँबीचमा हुन्थ्यो । यी कम्पनी कसैको रोजाइमा पर्दैनथे । अहिले समय फेरिएको छ । अहिले लगानीकर्ताको रोजाइमा बाणिज्य बैंकभन्दा फाइनान्स कम्पनी पर्न थालेका छन् ।

यस बीचमा फाइनान्स कम्पनीको सेयर मूल्य अकासिएको छ । नेप्सेको इतिहासमै पहिलो पटक फाइनान्स कम्पनीको उपसूचकले बाणिज्य बैंकहरुको उपसूचकलाई उछिनेको छ । अहिले बजारका कतिपय वाणिज्य बैंकहरुको तुलनामा सबै फाइनान्स कम्पनीहरुको सेयर मूल्य उच्च छ ।

फाइनान्स कम्पनीको कारोबार सीमित हुने भएकाले नाफा पनि सीमित नै हुन्थ्यो । त्यसैले त्यस्ता कम्पनीमा लगानी गर्न लगानीकर्ताहरु इच्छुक हुँदैनथे । अहिले फाइनान्स कम्पनीको सेयर मूल्य दिनहुँ सर्किट लाग्ने गरी बढेको अबस्था छ । 

यो एक महिनामा सबै फाइनान्स कम्पनीको सेयर मूल्य उचालिएको छ । एक महिनामा औसतमा यो उपसमूहका कम्पनीको सेयर मूल्य सत प्रतिशतले बृद्धि भएको छ । एक महिनामा यो उपसमूहको उपसूचकमा उछाल आएको छ । बैशाख २३ गते १२५६.०५ को बिन्दुमा रहेको उपसूचक आजसम्म आइपुग्दा २३२०.१० को बिन्दुमा पुगेको छ । यो अवधिमा मात्र यो समूहको उपसूचक १०६४ अंकले बृद्धि भएको छ । यो बिन्दु नै यो उपसमूहको सबैभन्दा उच्च बिन्दु हो । 

यो एक महिनामा सबैभन्दा बढी गोर्खाज फाइनान्सको सेयर मूल्य बृद्धि भएको छ । एक महिनाअघि बैशाख २३ गते कम्पनीको ४७५ रुपैयाँ प्रतिकित्तामा सेयर कारोबार भएकोमा आज (मंगलबार) को अन्तिम कारोबारसम्ममा कम्पनीको सेयर मूल्य सर्किट लागेर १२७६ रुपैयाँ पुगेको छ । यो एक महिनामा कम्पनीको सेयर मूल्य १६८.६३ प्रतिशतले बृद्धि भएको छ। 

यसरी दिनहुँ फाइनान्स उपसमूहका सबै कम्पनी सेयर मूल्य उचालिनु स्वभाविक नरहेको सेयर बिश्लेषक केशब श्रेष्ठ बताउाँछन्। “मेरो बिचारमा यो सिधा–सिधा कर्नरिङ हो । यसरी सबै कम्पनीहरुको सेयर मूल्य आकासिनु पर्ने कुनै कारण म देख्दिन” श्रेष्ठले भने ।

फाइनान्स कम्पनीहरुको सेयर मूल्य अहिले बेलुनिंग भएको भन्दै उनले यसलाई एकदमै जोखिमपूर्ण रहेको बताए । राम्रा खालका फाइनान्स कम्पनीहरुको सेयर मूल्य निकै हुत्तिएर माथि गएको र नराम्रा कम्पनीहरुको सेयर मूल्यलाई पनि त्यही जोडबलले बढाउन खोजिएको उनको बुझाई छ ।

फाइनान्स कम्पनीहरुको एभरेज इपिएस ८ ९ रुपैयाँ मात्र छ यति थोरै इपिएस भएको उपसमूह यसरी बढ्नु स्वभाविक नभएको बताउँदै उनले अहिले पनि बैंकिङ समूहमा बुलले नछोएको र फाइनान्स कम्पनीहरुको पूँजी न्यून भएका कारण न्यून पूँजी भएका कम्पनीहरुबाट खेल सुरु भएको उनको भनाई छ । 

फाइनान्स कम्पनीको केही समयपछि अवस्य पनि डम्पिङ हुने भन्दै उनले वाणिज्य बैंकहरुको सेयर भने डम्पिङ गर्न नसक्ने र कर्नरिङ गर्न पनि गार्हो हुने भएकाले यस्ता कम्पनीको सेयर मूल्य उचाल्ने प्रयास खेलाडीहरुले गर्ने तर कतै फसिएमा पनि कम्पनीको लाभांशले परिपूर्ती गर्ने हिसाबले यस्ता कम्पनीहरुमा चलखेल गरिरहेको श्रेष्ठ बताउँछन् ।

नेप्सेमा सुचिकृत जम्मा १६ फाइनान्स कम्पनीमध्ये युनाईटेड फाइनान्स कम्पनीलाई नबिल बैंकले प्राप्ति गर्ने भएपछि उक्त कम्पनीको दोस्रो बजार कारोबार रोक्का छ । हामीले तलको तालिकामा बाँकि १५ फाइनान्स कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपालं (पिई रेसियो) र एक महिनामा कुन कम्पनीको सेयर मूल्य कति प्रतिशतले बृद्धि भयो भनि प्रस्तुत गरेका छौ ।

60bf771f5b7f0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको