उदयपुर सिमेन्ट उद्योगले नेपाल सरकारको सावाँ तथा ब्याजका रूपमा रहेको ऋणलाई साधारण सेयरमा परिणत गर्न सरकारलाई अनुरोध गर्ने भएको छ । उद्योगका अध्यक्ष बलराम रिजालद्वारा प्रस्तुत त्यससम्बन्धी विशेष प्रस्ताव अभौतिक रूपमा आइतबार सम्पन्न उद्योगको साधारण सभाबाट पारित भएको छ ।
पारित प्रस्तावमा जनाइएअनुसार उद्योग स्थापनाका लागि जापानद्वारा नेपाल सरकारलाई १८ अर्ब ७७ करोड जापानी येन सहुलियत दरमा ऋण उपलब्ध भएको थियो । हाल उक्त ऋण जापान सरकारले अनुदानमा परिणत गरिसकेको छ तर नेपाल सरकारले भने उद्योगको नाममा ऋण नै कायम गरिरहेको छ ।
उद्योगले नेपाल सरकारलाई भुक्तानी गर्न बाँकी सावाँ तथा सोको ब्याजसमेत तीन अर्ब ३८ करोड रहेको छ । सो ऋणको ब्याजका कारण सिमेन्टको लागतमा प्रतिबारा ५७ रुपियाँ ४३ पैसा महँगो भई बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको उद्योगले जनाएको छ । त्यसै कारण ऋणलाई सेयरमा परिणत गर्दा नेपाल सरकारलाई कुनै थप दायित्व नपर्ने दाबी उद्योगको रहेको छ ।
उक्त विषय अर्थ मन्त्रालयमा सहमति तथा स्वीकृतिका लागि साधारण सभाबाट प्रस्ताव पारित गरी लग्नुपर्ने भएकाले ऋणको सावाँ तथा सोको ब्याजलाई साधारण सेयरमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने पस्ताव पारित गरिएको हो ।
त्यससँगै उद्योगको जारी तथा चुक्ता पुँजी सात अर्ब करोड रुपैयाँ बढ्ने र अधिकृत पुँजी १० अर्ब पुर्याउने प्रस्ताव पनि पारित भएको छ । हाल उद्योगको जारी तथा चुक्ता पुँजी तीन अर्ब ६४ करोड ८० लाख ५१ हजार रुपैयाँ रहेको छ । साधारण सभाले ऋणलाई सेयरमा परिणत गर्ने लगायतका कामको अख्तियारी महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई दिएको छ ।
गोरखापत्र दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस